पुरानो घाउ कोट्याएर देशलाई द्वन्द्वतिर फर्काउन चलखेल भइरहेको छ : भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुरानो घाउ कोट्याएर देशलाई फेरि द्वन्द्वतिर फर्काउन केही शक्तिले चलखेल गरिरहेको बताएका छन् ।

बुधबार गृहजिल्ला गोरखा आएका भट्टराईले पत्रकारसँग कुरकानी गर्दै द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण, मेलमिलाप र बेपत्ता आयोगबाट टुंग्याउनुपर्ने बताए । ‘प्रचण्ड र मलाई मुद्दा हालियो भनिएको छ, यो त एक प्रकारको पुरानो घाउलाई कोट्याइराखेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल छ, त्यसमा यस्ता केही पात्रलाई उभ्याइएको मात्र हो,’ उनले भने, ‘यसलाई गम्भीरतापूर्वक लिन किन चाहन्न भने बृहत् शाक्ति सम्झौताले त्यसलाई सम्बोधन गरिसकेको छ । सत्य निरुपण, मेलमिलाप, वेपत्ता व्यक्ति छानबिन आयोगको काम छिटो सम्पन्न गरेर त्यसअन्तर्गत हल गर्ने कुरो हो ।’ सबै कुरा कोट्याएर प्रत्येकलाई मुद्दा मामिलातर्फ लाने हो भने त्यसको अर्थ देशलाई द्वन्द्वमा लाने कुरा हुने र त्यो गैरजिम्मेवारपूर्ण हुने भट्टराईको भनाइ छ । ‘त्यो अन्त्यन्त गैरजिम्मेवार कुरा हुन्छ, के विश्वास छ भने हाम्रा जिम्मेवार निकायले यो कुरा बुझ्छन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया