‘रुकुमको’ प्रशोधित पानी बजारमा

blog
रुकुम पश्चिम । रुकुमपश्चिमको कर्णाली बेभरेज इन्डस्ट्रिज प्रालिले ‘रुकुमको’ नामक प्रशोधित शुद्ध पिउने पानी बजारमा ल्याएको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१२, झिनचौरमा रहेको कर्णाली बेभरेजले प्रशोधित शुद्ध पानी बजारमा पठाउन थालेको हो ।

बेभरेज प्रालिका अध्यक्ष दलबहादुर शाहका अनुसार वडा नम्बर १० झारमारे लेकको मुहानबाट ल्याएको पानी प्रशोधन गरेर शुद्ध पिउने पानी ‘रुकुमको’ नामबाट बजारमा पठाउन थालिएको हो ।

उहाँका अनुसार स्थानीय बजारका साथै जिल्लाबाहिर समेत पानी बिक्री हुन थालेको छ ।

सुरुमा स्थानीय बजारमा र अहिले ‘रुकुमको’ ब्रान्ड जाजरकोटको रिम्ना, सल्यानको सल्लीबजार, दाङ, सुर्खेत, नेपालगन्जसम्म जाने गरेको अध्यक्ष शाहले बताउनुभयो ।

प्रालिमा आठ घण्टामा १५ हजार लिटर पानी प्रशोधन गर्ने क्षमता छ तर अहिले कम्पनीले दैनिक १० हजार लिटर पानी प्रशोधन गरिरहेको छ । पानी प्रशोधनका लागि अहिले प्रत्यक्ष रूपमा २० जना स्थानीयले रोजगारी पाएको अध्यक्ष शाहले जानकारी दिनुभयो ।

२०७५ सालमा स्थापना भएको बेभरेजले यसअघि नै फलफूलबाट वाइन बनाएर बिक्री गर्दै आएको छ । यो वर्षबाट भने पानी प्रशोधन गरेर बजारमा पठाउन थालेको हो । पानी प्रशोधन गरेर बिक्री गर्ने अनुमति २०७९ सालमा लिएको र एक वर्षपछि बजारमा ल्याउन सफल भएको अध्यक्ष शाहको भनाइ छ । पानी बजारमा पठाउनका लागि बेभरेजको आफ्नै गाडी रहेको छ ।

हालसम्म पानी प्रशोधन उद्योगका लागि दुई करोडभन्दा बढी रकम खर्च भइसकेको बेभरेजले जनाएको छ । पानी प्रशोधन गर्ने मेसिन खरिद गर्दा एक करोड, भवन निर्माण गर्दा ५० लाख र अन्य खर्चतर्फ ३० लाख गरेर दुई करोडभन्दा बढी रकम खर्च भएको अध्यक्ष शाहको भनाइ छ । बेभरेजले किसानले उत्पादन गरेका फलफूल एकमुष्ट रूपमा खरिद गर्दै आएको छ । कोल्ड स्टोरको व्यवस्था भएमा किसानले उत्पादन गरेका सुन्तला, किवीलगायतका अन्य फलफूल भण्डारण गर्न सहज हुने प्रालिले जनाएको छ ।

तपाईको प्रतिक्रिया