नलगाडलाई पाँचताराले दियो ३ लाख ५१ हजार बराबरको विपद् व्यवस्थापन सामग्री


जाजरकोट । पाँचतारा युवा संरक्षक मञ्चले नलगाड नगरपालिकालाई बिपद व्यवस्थापनका सामाग्री हस्तान्तरण गरेको छ । वल्र्ड भिजन ईन्टरनेशनलको सहयोगमा पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटले नलगाड नगरपालिकालाई बिपद व्यवस्थापन सम्बन्धिका सामाग्री हस्तान्तरण गरेको हो ।

विपद व्यवस्थापन गर्न नलगाड नगरपालिकालाई विभिन्न सामाग्री हस्तान्तरण गरिएको जानकारी दिदै पाँच तारा युवा संरक्षक मन्च, जाजरकोटका अध्यक्ष छवी पन्तले वल्र्ड भिजन ईन्टरनेशनलको सहयोगमा ल्यापटप, प्रिन्टर मेशिन, टेवुल, घुम्ने कुर्सी, कपबोर्ड, प्राथमिक उपचार बक्स, आगो निभाउने, त्रिपाल, लाईफ जकेट, सेभ हेल्मेट, पञ्जा, बुट, पिक म्याटक हेन्डिल, सोभेल र डोरी गरी १५ प्रकारका सामाग्रीहरु नलगाड नगरपालिकालाई हस्तान्तरण गरेको जानकारी दिए । उक्त सामाग्रीहरुको जम्मा जम्मी मुल्य ३ लाख ५१ हजार ८५० रहेको अध्यक्ष पन्तले बताएका छन् ।

सामाग्री हस्तान्तरणको लागि मंगलबार नलगाड नगरपालिकाको दल्लीमा आयोजित कार्यक्रममा बोल्दै पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष पन्तले नागरिकको धन, जनको सुरक्षाको ग्यारेन्टी होस भन्ने मान्यता राखेर नगरपालिकालाई सामाग्री हस्तान्तरण गरिएको भनाई राखेका थिए । सुरुवातको चरणमा थोरै भएपनि सामाग्री हस्तान्तरण गरिएको बताउदै अध्यक्ष पन्तले आगामी दिनमा विपद व्यवस्थापनको पूर्व तयारी गर्ने सन्दर्भमा, विपद पश्चात उद्धार कार्यमा र रणनीतिक योजना निर्माण तथा योजना कार्यान्वनमा नगरपालिका संगसंगै पाँचतारा युवा संरक्षक मञ्च र वल्र्ड भिजन ईन्टरनेशनल साँझेदारी गर्न तयार रहेको भनाई राखेका थिए ।

भौतिक पूर्वाधारलाई मात्र विकास देख्ने दृष्टिकोणलाई बदल्नुपर्ने नलगाड नगरपालिकाका पूर्वमेयर टेक बहादुर रावलले भनाई राखेका थिए । विपद व्यवस्थापनमा उल्लेखिय काम हुन नसकेको बताउदै पूर्वमेयर रावलले अबदेखि स्थानीय तहले विपद व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । स्थानीय तहका सरकारसंगै रहेर विपद व्यवस्थापन जस्तो महत्वपूर्ण काममो जिम्मेवारी पुरा गरेको बताउदै जिल्ला समन्वय प्रमुख खत्रीले पाँचतारा र वल्र्ड भिजन ईन्टरनेशनललाई हार्दिक धन्यवाद दिएका थिए ।

बिपद व्यवस्थापनको बिषय सबैको साँझा भएको बताउदै निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले नगरपालिकालाई विपद व्यवस्थापनका सामाग्रीहरु हस्तान्तरण गरेर पाँचतारा युवा संरक्षक मञ्च र वल्र्ड भिजन ईन्टरनेशनलले साह्रै राम्राे काम गरेको भनाई राखेका थिए । डिइओसीले गर्नुपर्ने काम पाँचतारा युवा संरक्षक मञ्च र वल्र्ड भिजन ईन्टरनेशनलले गरेकोमा निमित्त प्रजिअ शर्माले आभार ब्यक्त गर्दै बिपद अहिलेको साँझा दुश्मन भएको भनाई राखेका थिए । विपदसंग सबै मिलेर लड्नुपर्ने बताउदै निमित्त प्रजिअ शर्माले जिल्लाका अन्य पालिकामा पनि सहयोग गरेको भए सजिलो हुने बताएका थिए ।

पूर्वसुचना दिएर वा बाजा बजाएर विपद नआउने बताउदै जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले पाँचतारा र वल्र्ड भिजन ईनटरनेशनले नगरपालिकालाई सामाग्री हस्तान्तरण गरेर विपद व्यवस्थानको पूर्वतयारी जुट्न जिल्लाबासीलाई सन्देश प्रवाह गरेको भनाई राखेका थिए ।

हस्तान्तरण गरिएका बिपद ब्यबस्थापनका सामग्रीहरुको उच्चतम रुपमा नगरपालिकाले प्रयोग गर्ने नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहले भनाई राखेकी थिईन । स्थानीय आपतकालिन कार्य सञ्चालन केन्दलाई प्रभाबकारी बनाउन पाँचतारा युवा संरक्षक मञ्च र वल्र्ड भिजन ईन्टरनेशनले नगरपालिकालाई अति आबश्यक क्षेत्रमा सहयोग गरेको बताउदै उपप्रमुख सिंहले पाँचतारा युवा संरक्षक मञ्च र वल्र्ड भिजन ईन्टरनेशनलाई धन्यवाद दिएकी थिईन् ।

तपाईको प्रतिक्रिया