कालीकोट। कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्मगाड खोलाको पक्की पुल संचालनमा नआउँदै चर्किएपछि भत्काइएको छ । कर्णाली राजमार्गको कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको तिला गाउँपालिका जोड्ने नाग्मस्थित पक्की पुल निर्माण सुरु भएको ६ वर्षपछि गत असारमा सकिने बेला चर्किएपछि पुन: निर्माण गर्न भत्काइएको हो । ‘प्रिटेस्ट गर्ने क्रममा बन्दाबन्दैको पुल चर्कियो । पक्की पुलबाट गाडी गुडाउने सपना अधुरै छ,’ स्थानीय नवराज कटुवालले भने । पुलमा कमसल खालको निर्माण सामग्री र कमजोर जनशक्ति खटाइएकोले पुल चर्किएको भन्दै भत्काइएको उनले बताए । ०७५ चैत्रमा सम्पन्न गर्ने गरी ०७४ कात्तिक ३० गते सुर्खेतस्थित सूर्य कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भए पनि म्याद थप गर्दै ६ वर्ष लम्ब्याइएको थियो । पुल सम्पन्न गरेर बुझाउने बेलामा चर्किएपछि सडक विभागले तीन सदस्यीय समिति गठन गरेर स्थलगत अनुगमन गरेको थियो । ठेकेदारकै कमजोरी देखिएकाले पुन: निर्माण गर्न पुलको पूरै संरचना भत्काइएको छ । कर्णालीमा बन्ने भौतिक संरचनामा करौडों रकम खर्च भए पनि गुणस्तरीय नबन्ने समस्या रहेकाले आफ्नो पहलमा चर्किएको पुल पूरै भत्काएर पुन: नयाँ निर्माण गर्न सहजीकरण गरिएको जुम्लाका प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बताए ।
दुई जिल्ला जोड्ने पुल कसैको लापरबाहीको शिकार बन्नु हुँदैन । उनले भने, ‘ठेकेदारले पुन: निर्माण गर्नुपर्छ ।’ उनले कर्णालीमा ठूला योजना नआउने र आएका पनि गतिलो काम नभएर अलपत्रपत्र अवस्थामा छाड्ने गरिएको उनले बताए । यसैबीच, जुम्लाको सिँजा उपत्यका हुँदै बग्ने हिमा खोलामा सडक निर्माणको क्रममा ०६२ मा नेपाली सेनाले बनाएको फलामे बेलिब्रिज पनि जीर्ण भइसकेको छ । बेलिब्रिज निर्माण भएको झण्डै २० वर्ष पुगिसकेकाले जतिखेर पनि भाचिनसक्ने अवस्था रहेको स्थानीय मायालाल महताराले बताए । खियाले डण्डी खाएको र नटबोल्ट पनि खुस्किएकाले सवारीहरूको जोखिमपूर्ण यात्रा भइरहेको स्थानीयहरू बताउँछन् । नाग्मगाड पुल र छिडेना खोला पुल सडक डिभिजन कार्यालय सुर्खेतले ६ वर्षअघि टेण्डर गरेर सूर्य कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको थियो ।
चार पटक म्याद थप गरेर उक्त निर्माण कार्य ०७९ असार ३० गते सम्पन्न गर्नुपर्ने थियो । तर पुलमा प्राविधिकि समस्या आएकाले भत्काउन लगाइएको बताइएको छ । साइडका पिलर पुरानै कायम हुने गरी पूरै ढलान नयाँ गरेपछि पूरै भुक्तानी दिने गरी ग्यारेन्टी वापतको ७९ लाख रकम सडक डिभिजन कार्यालयको खातामा छ ।सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलका अनुसार भ्याटसहित कूल ठेक्का रकम रु ११ करोड ३१ लाख १ हजार ५२ मध्ये ठेकेदारलाई सव स्टक्चरसम्को रु ६ करोड ९९ लाख ६३ हजार भुक्तानी भइसकेको छ । हाल ठेकेदारले आफ्नै खर्चमा पुन ढलान गर्ने गरी काम भइरहेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
१२ वर्षपछि टाकुल्ला पुल निर्माण सुरु
कर्णाली राजमार्गको तिलागुफा ७ टाकुल्ला खोला पुल निर्माण सुरु भएको १२ वर्षसम्म अलपत्र परेर पुन: टेण्डरबाट निर्माण थालिएको छ । निर्माणको जिम्ला लिएको ठेकेदार पेस्की रकम लिएर केही काम गरेर भागेपछि अलपत्र परेको पुल पुन: ठेक्काबाट निर्माण थालिएको हो । पुरानो ठेक्का तोडेर पुरानै पिलर कायम हुने गरी राकमबाट फलामे बेलिब्रिज हाल्ने र दायाँबायाँ सडक बनाउने गरी नयाँ ठेक्का भएर काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपक विष्टले बताए ।टाकुल्लाको ठाडो खोलामा वर्षा याममा पानी परेको बेला गाडी तर्न नसकेर यात्रु अलपत्र पर्ने गरेका थिए । हाल सडक विभागले एक वर्षभित्र निर्माण सक्ने गरी पुल बनाउन सम्झौता गरिएको उनले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । १४ जेष्ठ २०८०, आईतवार