जाजरकोट। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेश सरकारको आगामी बजेट तथा कार्यक्रम युवालक्षित हुने बताउनुभएको छ ।
जाजरकोटको नलगाड नगरपालिका-३ कैनामा रहेको सूर्योदय माध्यामिक विद्यालयको ३६औं स्थापना दिवस तथा रजत जयन्तीलाई सम्बोधन गर्दै मन्त्री सिंहले युवाहरूलाई रोजगार र स्वरोजगार नबनाई समृद्धि हासिल गर्न नसकिने समेत बताउनुभयो । उहाँले शैक्षिक बेरोजगारीलाई अन्त्य गर्ने अहिलेको प्रमुख चुनौती रहेको र त्यसतर्फ प्रदेश सरकारले ध्यान दिने बताउनुभयो ।
समाज परिवर्तनका लागि मानिसमा रहेको नकारात्मक भावनाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि विद्यालयसहितका शैक्षिक संस्थाको भूमिका महत्त्वपूर्ण हुने मन्त्री सिंहको भनाइ छ । देशमा देखिएको आर्थिक समस्याका कारण प्रदेश सरकारको बजेट अघिल्लो वर्षको तुलनामा कम आउने जानकारी दिँदै मन्त्री सिंहले तर जनताको अनुभूति गर्नेखालको आउने विश्वास दिलाउनुभयो ।
आर्थिक संकटलाई समाधान गर्न पहिलो प्राथमिकता उत्पादनलाई दिनुपर्ने उहाँको भनाइ छ । ‘भोलि आइपर्ने संकटलाई ध्यान दिएर अब उत्पादनमा जोड दिनुपर्छ । हामी कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्यौं भने संकटसँग जुध्न सक्छौं’, मन्त्री सिंहले भन्नुभयो । उहाँले विद्यालय शिक्षालाई पनि गुणस्तरीय, प्रभावकारी र उत्पादनमुखि बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
अहिलेकै राजनीतिक व्यवस्थाबाट जनताको समृद्धि सम्भव बनाउन सकिने मन्त्री सिंहले बताउनुभयो । ‘हिजोको भन्दा उन्नत राजनीतिक व्यवस्थामा छौं । राणाकालको अवस्था सम्झिनुहोस् । तपाईं – हामीले भोगेको पञ्चायतकाललाई सम्झिऔं । र, पञ्चायतपछिको बहुदल र अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सम्झिऔं’, मन्त्री सिंहले भन्नुभयो, ‘जति पनि स्वतन्त्र र उपलब्धी हासिल भएका छन्, ती सबै पछिल्ला राजनीतिक परिवर्तनपछि भएका छन् । यही व्यवस्थामा भएका छन् । त्यसकारण समृद्धि पनि यही व्यवस्थाभित्रबाट खोज्ने हो । र, त्यो सम्भव छ।’
युवा लक्षित बजेट र कार्यक्रम ल्याउनेछौं- मन्त्री सिंह
तपाईको प्रतिक्रिया
हाम्रो पहुँच संवाददाता । २८ बैशाख २०८०, बिहीबार