कोरियाले पछिल्लो समय रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दोस्रो चरणमा कृषि तथा पशुपालनको क्षेत्रमा ७ हजार जना नेपाली श्रमिक छनोट गर्ने भएको छ । यसैगरी पानीजहाज निर्माण कम्पनीमा समेत नेपालबाट पहिलो पटक १२ सय श्रमिक जान पाउने भएका छन् ।
कोरियाको एचआरडी सेवाले दोस्रो चरणको भाषा परीक्षामा पास भएका ८ हजार ३८० मध्येबाट ७ हजार ७०० नेपाली युवालाई कोरिया लैजान रोष्टर तयार गर्ने भएको हो । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले कृषि तथा पशुपालन क्षेत्रतर्पmको दोस्रो चरणको कोरियन भाषा परीक्षा ईपीएस टपिक यूबिटीको नतिजा सार्वजनिक गरी सीप परीक्षणको सूचनासमेत निकालेको छ । सीप परीक्षणमा पास भएका युवाले रोजगार आवेदन, स्वास्थ्य परीक्षणलगायत काम सकेपछि कोरिया पठाइने छ ।
कोरियाले यो वर्ष नेपालबाट कृषि तथा पशुपालनको क्षेत्रमा १० हजार युवा लैजाने तयारीसहित भाषा परीक्षा र सीप परीक्षण गरेको हो । यसमध्ये पहिलो चरणमा ३ हजार २ सय छनोट भइसकेका छन् । नेपाल र कोरिया सरकारबीच सम्पन्न समझदारी (एमओयू) अनुसार ईपीएसअन्तर्गत नेपाली श्रमिक पठाउने एचआरडी कोरियाले फागुनदेखि वैशाखसम्म कृषि तथा पशुपालन क्षेत्रतर्पmको परीक्षा सञ्चालन गरेको थियो । शाखाका निर्देशक पुष्पराज कटुवालले सीप परीक्षणपछि पास भएका ७ हजार ७०० युवा छनोट गरेर रोष्टर तयार गरी कोरिया पठाइने बताए ।
कोरियन भाषा यूबिटी परीक्षामा कुल २६ हजार ८७६ जना परीक्षार्थी रहेकोमा कृषि तथा पशुपालन क्षेत्रतर्फ २४ हजार ३२६ जना सहभागी भएका थिए । यसमध्ये ८ हजार ३८० जना परीक्षार्थी उत्तीर्ण भई सीप परीक्षण आवेदन माग गरिएको छ । सीप परीक्षण वैशाख २५ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिने ईपीएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए । यसअघि पहिलो चरणमा छनोट भएका ३ हजार २३४ जनामध्ये कतिपय युवा रोष्टरमा रहेका र कतिपय गइसकेको शाखाले जनाएको छ ।
एचआरडी कोरियाले हाल उत्पादनमूलक क्षेत्रतर्फ उत्तीर्ण भई रोजगार आवेदन फाराम भरेर रोष्टरमा नाम समावेश भएका ५ हजार ३ सयमध्ये १ हजार २१० जनालाई जहाज निर्माणमा लैजाने तयारी गरेको छ । यसका लागि शाखाले इच्छुक युवासँग यही वैशाख २५ सम्म आवेदन माग गरेको छ । पछिल्लो समय कोरियाको पानीजहाज निर्माण कम्पनीमा श्रमिक अभाव हुन थालेपछि नेपालबाट पनि लैजान लागिएको हो ।
यसअन्तर्गत स्कारफोल्ड, इन्सुलेसन, ग्रेण्डर, वेल्डिङ, पाइप मेसिनरी र इलेक्ट्रिक क्याबलिङ गरी ५ क्षेत्रमा श्रमिक लैजाने गरी तयारी गरिएको छ । कम्पनीअनुसार पानीजहाज निर्माण क्षेत्रका लागि एक महिने तालिम उपलब्ध गराइने छ । तालिमको समयमा समेत तलब उपलब्ध हुनेछ । यसमा काम गर्ने नेपाली श्रमिकले श्रम करारबमोजिम काम गर्नुपर्ने हुन्छ । साथै कार्यस्थल परिवर्तन गर्न चाहेमा अर्को जहाज निर्माण कम्पनीमा मात्र परिवर्तन गर्न पाउनेछन् । पानीजहाज निर्माण क्षेत्रको रोष्टरको म्याद पनि उत्पादनमूलक क्षेत्रको बराबर हुनेछ ।
सीप परीक्षणमा नक्कली परीक्षार्थी
सीप परीक्षणमा सहभागी हुने युवाले कलर भिजन हटाउने लेन्स प्रयोग गरी सहभागी भएका कारण यो पटक परीक्षणमा कडाइ गरिने भएको छ । यसअघिको सीप परीक्षणमा सहभागी हुने कलर भिजनमा समस्या भएका १०० युवाले यस्तो समस्या हटाउने लेन्स प्रयोग गरेका कारण कारवाहीमा परेका थिए ।
सीप परीक्षणमा लेन्स प्रयोग गरेर आएमा भाग लिन नपाउने तथा कोरिया र नेपालको कानुनअनुसार कारवाही हुने ईपीएस शाखाले जनाएको छ । शाखाले विगतमा सीप परीक्षण गर्न आउँदा आँखामा कलर करेक्सन लेन्स लगाई आएका कारण त्यस्ता उम्मेदवार पहिचान भई सीप परीक्षणमा सहभागी हुन नपाएको जनाउँदै लेन्स प्रयोग नगर्न अनुरोध गरेको छ ।
हाम्रो पहुँच संवाददाता । २४ बैशाख २०८०, आईतवार