पाँचकटिया सडक कालोपत्रे

blog
जाजरकोट । जाजरकोटको खलङ्गा–पाँचकटिया सडक ट्र्याक खुलेको १६ वर्षपछि करिब सात किलोमिटर सडक कालोपत्रे गरिएको छ। खलङ्गा पाँचकटिया, व्याउली ढुङ्गा हुँदै जुम्ला जोड्ने सडक सदरमुकाम खलङ्गादेखि भेरी नगरपालिका–२ दारखोलासम्मको ६.५ किलोमिटर सडक कालोपत्रे गरिएको हो। जाजरकोटमा प्रदेश सरकारको क्षेत्राधिकारभित्रको खलङ्गा–पाँचकटिया–जुम्ला जोड्ने सडक शान्तिचौतारादेखि गैरीखालीसम्म एक किलोमिटर बानियाँ महत वली जेबीले दुई करोड बजेटमा निर्माणको जिम्मा लिएको हो। गैरीखाली, दारखोलासम्मको साढे पाँच किलोमिटर सडक ब्रज ग्रुप/बीएन्डबी जेबी काठमाडौँले सात करोड ३२ लाख बजेटमा कालोपत्रेको जिम्मा लिएको छ।

सडक डिभिजन कार्यालय चौरजहारीसँग २०७८ वैशाखमा बानियाँ महत वली जेबीले दुई करोड रुपियाँ र ब्रज ग्रुप/बीएन्डबी जेबी काठमाडौँले २०७८ असोजमा सात करोड ३२ लाख रुपियाँमा सम्झौता गरेको कम्पनीका प्रतिनिधि रामकुमार थापाले जानकारी दिनुभयो। गत वर्ष काम सम्पन्न गर्ने जिम्मा लिएका निर्माण व्यवसायीले समयमा काम नगरेपछि सडक डिभिजन कार्यालय चौरजहारीसँग म्याद थप गर्न अनुमति लिएका थिए। सडक डिभिजन कार्यालय चौरजहारीले २०८० असारमा काम सम्पन्न गर्न म्याद थप गरेको सडक डिभिजन कार्यालय चौरजहारीका कार्यालय प्रमुख आशुतोष कर्णले जानकारी दिनुभयो। खलङ्गा, पाँचकटिया व्याउली ढुङ्गा हँुदै जुम्ला सिमानासम्म ५९ किलोमिटर छ। ३० किलोमिटर स्तरोन्नति भइरहेको छ। बाँकी ३९ किलोमिटर प्रक्रियमा रहेको छ। उक्त सडक निर्वाचन क्षेत्रअन्तर्गतका सडक विभागबाट सञ्चालन हुने भएकाले ३० किलोमिटरमा सिंह एन्ड ब्रदर्श बानी जेबीलगायत छवटा निर्माण व्यवसायीले सम्झौता गरी स्तरोन्नति गर्न थालेको प्रमुख कर्णले बताउनुभयो।

सडक गुणस्तर बनाउन सडक डिभिजन कार्यालयका इन्जिनियर प्रज्वल सुनार, सबइन्जिनियर तुलसी भट्टराईको टोली फिल्डमै खटिएको छ। ६.५ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएका निर्माण व्यवसायी रामकुमार थापाले गत वर्षदेखि निरन्तर काम गर्न थाले पनि सम्झौताभन्दा बढी समय लाग्ने भएपछि थप गरेको म्यादभित्र काम सम्पन्न गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने निर्माण व्यवसायी थापाले बताउनुभयो। बानियाँ महत वली जेबीका निर्माण व्यवसायी भद्र वलीले जेठ महिनाभित्र सडक कालोपत्रेको काम सम्पन्न गरी सडक डिभिजन कार्यालय चौरजहारीलाई हस्तान्तरण गर्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया