
शिवालय । शिवालय गाउँपालिकाको केन्द्रमा निर्माणाधीन १० शैयाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
सङ्घीय शासन प्रणाली लागू भएपछि गाउँपालिकामा १० शैया नगरपालिकामा १५ शैयाको अस्पताल हुनुपर्ने अवधारणा ल्याएपछि अस्पताल भवन निर्माण कार्यको सुरु गरिएको हो ।
प्रदेश सरकारबाट आर्थिक वर्ष २०७८÷०७९ मा स्वीकृत नौ करोड ९२ लाख बजेटमा अस्पताल भवन निर्माण कार्य सुरु भएको हो । चालु आर्थिक वर्षको असार मसान्तभित्र काम सम्पन्न गर्न खड्का निर्माण सेवाले जिम्मा लिएको थियो ।
खडका निर्माण व्यवसायी टेकबहादुर खड्काले निर्धारित समयभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने बताए । शिवालय गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरे पनि मन्त्रालयले पठाउने बजेट समयमा नआउँदा भुक्तानी गर्न समस्या हुने बताए ।
काम सम्पन्न भएपछि तत्काल सेवा सुरु गर्ने शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले बताउनुभयो। सुविधा सम्पन्न अस्पताल पालिकामा नहुँदा जटिल तथा दीर्घरोगका बिरामीलाई नेपालगञ्ज, सुर्खेत काठमाडौँका महँगा अस्पताल लैजानुपर्ने बाध्यता छ ।
शिवालयमा सुविधासम्पन्न स्वास्थ्य सेवा नहुँदा बिरामीलाई गाडी रिजर्भ गरी नेपालगञ्ज, सुर्खेत लैजानुपर्ने अवस्था छ। पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएपछि बिरामीलाई अस्पतातसम्म पु–याउने केही सहज भएको शिवालय–३ का पशुपति जैसीले बताए ।
















































हाम्रो पहुँच संवाददाता । २९ चैत्र २०७९, बुधबार