कर्णाली प्रदेश सरकारको सत्ता समीकरणमा सकस

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारको सत्ता समीकरणमा सकस भएको छ । कर्णालीमा माओवादी र एमाले मिलेर सरकारमा सहभागी थिए । अहिले कर्णालीमा एमाले ३ मन्त्रीसहित सरकारमा छ । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्ल सरकारमा छन् ।

यसअघि सरकार गठन हुँदा एमाले र माओवादीबीच अढाई/अढाई वर्ष सरकारको नेतृत्व आलोपालो गर्ने सहमती भएको थियो । तर केन्द्रमा सत्ता समिकरण परिवर्तन भएपछि कर्णालीमा सत्ता समीकरणको विषय पेचिलो भएको हो । मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक लिएको विश्वासको मत एमालेले दिएको छ । शर्मालाई कांग्रेसले पनि विश्वासको मत दियो । १ जना राप्रपाकी सांसद सन्तोषी शाहीले मात्र मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर प्रतिपक्षमा बसिन् । पहिलो पटक मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको कांग्रेसले दोस्रो पटक विश्वासको मत दिएको हो । राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिनुपरेको थियो  शुक्रबार विश्वासको मत लिनुभन्दा अगाडि बसेको माओवादी केन्द्रको बैठकमा एमालेसँग विश्वासको मत माग्ने तर सहकार्य गरेर अगाडि बढ्न नसकिने छलफल भएको थियो । अहिले मुख्मन्त्री शर्मालेनै सरकारलाई निकास दिनुपर्ने जिम्मेवारी आएको छ । अहिलेसम्म एमालेका मन्त्रीहरूलाई सरकार छोड्न मुख्यमन्त्री शर्माले भनेका छैनन् । ३ दलको सरकार बनाएर एकजुट भएर अघि बढ्ने मनशायमा पनि माओवादी छ । यसमा एमाले पनि लचक देखिन्छ । तर कांग्रेस भने मान्ने पक्षमा देखिँदैन । सरकारको विषयमा एमाले र कांग्रेस दुवै दल माओवादीमा निर्भर देखिएका छन् । मुख्यमन्त्री शर्माले अहिलेसम्म प्रस्ट निर्णय भने गर्न सकेका छैनन् ।

कांग्रेस पनि सरकारमा जाने कि नजाने भन्ने विषयमा अलमलमै छ । अहिलेसम्म कांग्रेस एमाले सरकारबाट बाहिरिएपछि मात्र माओवादीमा सहकार्य गर्ने मनशायमा देखिन्छ । माथिको सत्ता समीकरणअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसका सांसद धनश्याम भण्डारीले बताए । उनले भने, ‘अहिलेसम्म एमाले सरकारमै छ । हामीले गठबन्धनअनुसार विश्वासको मत दियौं । सरकारमा के गर्ने भन्ने माओवादीको हातमा छ ।

अहिलेसम्म सरकारमा जाने नजाने कुरा खासै भएको छैन । माओवादीले अब एमालेलाई सँगै राख्छ कि कांग्रेसलाई भन्ने कुरा हो ।’एमाले सरकारबाट आफैं बाहिरिने पक्षमा छैन । सरकारबाट बाहिरिनेबारे केही छलफलै नभएको एमालेबाट सरकारमा रहेका सामाजिक विकासमन्त्री टेकराज पछाईले बताए । बाहिरिने भनेको भने हामी विश्वकासको मतै दिँदैन थियौं । उनले भने, ‘मुख्यमन्त्रीज्यूले सरकारमै रहेर सँगै काम गर्ने , सबै दल मिलेर सरकार चलाउनुपर्छ भन्नुभएको छ । त्यसैले बाहिरने भन्ने कुरा छैन ।’ मुख्यमन्त्री राजकुमार शर्माले सरकारबारे छलफलमै रहेको बताए । ‘अहिलेसम्म एमाले सरकारमा छ । आवश्यकताको हिसाबले मिलेर जानुपर्ने देखिन्छ’ उनले भने ।

तपाईको प्रतिक्रिया