आरन पेसाबाट परिवार पाल्नै धौधौ

मुगु । परम्परागत रूपमा फलामका सामान बनाउँदै आएका दलित समुदायलाई जीविकोपार्जन गर्न समस्या हुने गरेको छ । मुगुको एक नगरपालिका र तीन गाउँपालिकामा बसोबास गर्ने आरन पेसा गर्दै आएका दलित समुदायको बसोबास रहेको छ ।यहाँका दलित समुदायले पुर्ख्यौली पेसाका रूपमा फलामका कुटो, कोदालो, बन्चरो, हँसियालगायतका सामग्री बनाउँदै आएका छन् । जसबापत उनीहरूले समुदायबाट जेठ र कात्तिक महिनामा अन्नपात लिने गरेका छन् ।छायानाथ रारा नगरपालिका– वडा नं ६ का लालभक्त कामीका अनुसार स्थानीयको फलामको काम गरेबापत जेठमा तीस किलो गहुँ र कात्तिकमा त्यही परिमाणको कोदो पाउने गर्दछन् । तर, त्यसले घरपरिवार पाल्न गाह्रो भएको उहाँको भनाइ छ ।

परम्परागत रूपमा फलामको व्यवसाय सञ्चालन गर्दै आएको त्यहाँका कामी समुदायको व्यवसायलाई आधुनिकीकरण गर्न स्थानीय तथा प्रदेश सरकारले सहयोग गर्नुपर्ने लालभक्तको माग छ ।स्थानीय पृथ्वीबहादुर कामीले भन्नुभयो, परम्परागत पेशाले काम गर्दा जङ्गलमा सल्लाका रुख पनि दिनप्रतिदिन मासिँदै गएका छन् । हाम्रो कामी समुदायको पेसालाई दिगो विकास गर्नलाई स्थानीय र प्रदेश सरकारले आधुनिक प्रविधिको औजारमा अनुदान गरिदिएको खण्डमा जङ्गलका रुख संरक्षण हुने उहाँको भनाइ छ ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख कृष्णबहादुर बोहराले भन्नुभयो, परम्परागत रूपमा फलामको व्यवसाय गर्नेका लागि प्रदेश सरकारबाट कुनै पनि अनुदान नआएको बताउनुभयो ।

यता छायाँनथ रारा नगरपालिका ६ नं– वडाका वडा अध्यक्ष खेम बहादुर रावलले कामी समुदायको परम्परागत पेसाको आधुनिक प्रविधिको सामग्री औजार र तालिमका लागि आगामी आउँदो आर्थिक वर्षका लागि छायानाथ रारा नगरपालिकामा उक्त कार्यक्रम कामी समुदायलाई रोजगारीमा लाभान्वित हुने उद्देश्यले महल गर्ने तयारीमा रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया