घट्दै छ  बालबिवाह

blog

कालीकोट । पछिल्लो समय कालीकोटमा बालविवाहका घटनामा कमी आउन थालेको छ । लगातारको सेचतीकरण कार्यक्रमले तीन वर्षयताको तथ्याङ्कले कालीकोटमा बालविवाहको दर ओरालो लागेको पाइएको हो ।अङ्ग्रेजी वर्षअनुसार (सन् २०२०) २०७६ मा जिल्लाभरि ६७ प्रतिशत रहेको बालविवाह तीन वर्ष यता सन् २०२२ अर्थात् २०७८ पुसमा आउँदा घटेर ५० प्रतिशतमा झरेको छ । समाजमा जरा गाडेर रहेको बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्था मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालले तीन वर्षको छुट्टाछुट्टै गरेको सर्वेक्षणमा बालविवाह घटेको पाइएको हो ।हुरेन्डेक नेपालको नेतृत्व र निर्णय कार्यक्रमका अधिकृत डम्बर बोहोराले स्थानीय तह र आफूले आफ्नो कार्यक्षेत्र रहेका जिल्लाका तीन वटा स्थानीय तहमा गरेको अध्ययनअनुसार बालविवाहको दर घटेको बताउनुभयो ।

तीन वर्षको अवधिमा जिल्लाको रास्कोट नगरपालिकाको ६७ प्रतिशत बालविवाह घटेर ५१ प्रतिशतमा झरेको छ । नरहरीनाथ गाउँपालिकाको ७४ प्रतिशतबाट घटेर ५२ प्रतिशतमा झरेको छ । यस्तै, सान्नीत्रिवेणी गाउँपालिकामा भने केही उतार–चढाव आएको छ । २०७६ मा ५८ प्रतिशत रहेको बालविवाह एक वर्षपछि २०७७ मा घट्नुको सट्टा बढेर ७० प्रतिशतमा पुगेको र फेरि २०७८ को पुससम्मको तथ्याङ्कमा घटेर ४८ प्रतिशतमा झरेको देखिएको छ ।बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका विषयमा छलफल गर्न आयोजना गरिएको कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको थियो । प्लानले काम गरिरहेको यी तीन वटा पालिकामा तीन वर्षमा १५ वटा बालविवाह प्रत्यक्ष रूपमा रोकिएका छन् ।

हुँदैगरेका विवाहलाई गैरसरकारी संस्थाले स्थानीय सरकार, प्रहरीको सहयोगमा रोकेको हुन् । यहाँ हुरेन्डेक नेपालसँगै सादा नेपाल र किर्डाक नेपालले बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेका छन् ।उता जिल्लाको तिलागुफा नगरपालिका र शुभकालीका गाउँपालिकाले भने उल्लेख्य रूपमा बालविवाह घटेको पाइएको छ । किर्डाक नेपाल कालीकोटका संयोजक तुलाराम पाण्डेले पछिल्लो तथ्याङ्कअनुसार तिलागुफा नगरपालिकामा बालविवाहको दर दश प्रतिशतमा झरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया