को हुन्, कम्युनिष्ट कस्तो हुनुपर्छ ?

“कम्युनिष्टको हृदय विशाल हुनुपर्छ, ऊ ईमान्दार र सक्रिय हुनुपर्छ, क्रान्तिका हितहरूलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधिनमा राख्नुपर्छ । पार्टीको सामुहिक जीवनलाई मजबुत तुल्याउन, पार्टी र जनताका सम्बन्धहरूलाई अझ बलियो पार्न उसले संधै र जहाँ पनि सही सिद्धान्तमा अडिरहनुपर्छ र सबै गलत विचार र कामहरूको विरोधमा अथक संघर्ष चलाउनुपर्छ । कुनै व्यक्तिको भन्दा बढी उसले पार्टी र जनताको चिन्ता लिनुपर्छ र आफ्नोभन्दा बढी अरूको चिन्ता गर्नुपर्छ । यसो भए मात्र उसलाई कम्युनिस्ट मान्न सकिन्छ ।” – माओत्सेतुङ , “उदारवादको विरोध गर” (सेप्टेम्वर ७, १९३७)

यस लेखमा कम्युनिष्ट कस्तो हुनुपर्छ ? कस्तो व्यक्तिलाई कम्युनिस्ट भन्ने ? कम्युनिस्ट बन्नलाई उसले के के गर्नुपर्छ ? र के के गर्नुहुँदैन ? साँच्चिकै कम्युनिष्टका असली विशेषताहरू के के हुन् ? भन्ने विषयमा चर्चा गर्ने प्रयास गरिनेछ ।

एउटा सच्चा क्रान्तिकारी कम्युनिष्टका बारेमा माथि कमरेड माओले भन्नुभएका कुराहरू साँच्चिकै मननयोग्य छन् । वास्तविक रूपमा कम्युनिष्टको हृदय विशाल र फराकिलो हुनुपर्छ । उ संकुचित र संकिर्ण विचार र व्यवहारबाट मुक्त भएको हुनुपर्छ । संसारलाई हेर्ने, बुझ्ने भएकोले कुनै पनि कुरालाई माक्र्सवादी द्वन्द्ववादी ढंगले हेर्ने र बुझ्ने गर्नुपर्दछ । उसले धेरै टाढा टाढासम्म हेर्न सक्ने र भविष्यमा भैंआउने कुराको बारेमा पहिले आंकलन गर्न सक्ने अर्थात् दूरदर्शी हुनु आवश्यक हुन्छ । कम्युनिष्ट छोटो विचारको, साँगुरो विचार र दृष्टिकोण भएको हुनुहुँदैन ।

एउटा कम्युनिष्ट ईमानदार हुनुपर्छ । ऊ संधै सक्रिय हुनुपर्छ । ऊ जनताप्रति, देशप्रति, क्रान्तिप्रति, पार्टीप्रति संधै ईमानदार हुनुपर्छ । उसले क्रान्तिका हितहरूलाई आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ । उसले आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधिनमा राख्नुपर्छ । कुनै पनि समय र कुनै पनि अवस्थामा कम्युनिष्टले आफ्नो व्यक्तिगत हितलाई पहिलो स्थान दिनुहुँदैन । उसले आफ्ना हितहरूलाई राष्ट्र र जनताका हितहरूको अधिनमा राख्नुपर्दछ । एउटा कम्युनिष्टले लेनिनवादी संगठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रीयताको सिद्धान्तलाई कडाइका साथ पालना गर्ने हुनुपर्दछ । कम्युनिष्टको कुनै पनि कुरा र काम जाँच्ने सर्वोत्तम कसी उनीहरूसित जनताको अति बहुसंख्याको सबभन्दा बढी हितहरू गाँसिएका छन् छैनन् र समर्थन प्राप्त गर्छन् गर्दैनन् भन्ने कुरो प्रत्येक कम्युनिष्टहरूले बुझेको हुनुपर्छ । जानेको हुनुपर्छ र उसले व्यवहारमा लागु गरेको हुनुपर्छ । तबमात्र ऊ सच्चा कम्युनिष्ट कहलिन सक्छ ।

स्वार्थीपना, शिथिलता, भ्रष्टाचार, आफू प्रकाशमा आउन खोज्ने जस्ता विषयहरू कम्युनिष्टका निम्ति घृणित विषय हुन् । कम्युनिष्ट यी घृणित विषयहरूबाट मुक्त हुनुपर्छ । निस्वार्थता, काममा तत्परता, जनताप्रतिको कर्तव्यपालना, ह्रदयदेखि नै जनताको सेवा गर्ने र साह्रै कठिन परिश्रम गर्ने भावनाले ओतप्रेत भएको व्यक्तिले मात्र कम्युनिष्टको सम्मान पाउँछ । कम्युनिष्ट सधैँ सत्यको पक्षमा डट्न तयार हुनुपर्छ । किनभने सत्य जनताको हितअनुकूल हुन्छ । असत्य बोल्ने, ढाँट्ने , छलकपट गर्ने, जाली, झेली, सिल्ली र षड्यन्त्रकारी चरित्र र व्यवहार भएको मानिस कम्युनिष्ट हुन लायक हुँदैन ।

कम्युनिष्टहरू संधै आफ्ना गल्तीहरू सच्याउन तयार हुनैपर्छ, किनभने गल्तीहरू जन – हितको विरुद्धमा हुन्छन् । कम्युनिष्टले आफूलाई गल्तीहरूबाट जोगाउनुपर्छ । कदापी गल्ती गर्नु हुँदैन । गल्तीहरूबाट जोगिन र गल्तीहरूलाई सच्याउने एक मात्र माक्र्सवादी पद्धति छ । त्यो हो आत्मालोचना – स्वआलोचना गर्न सक्ने र आफूले गरेका गल्तीहरूलाई आफै चिन्ने र ती गल्तीहरूलाई सच्याउन तयार हुने व्यक्ति मात्र कम्युनिष्ट हुनसक्छ । विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले भन्नुभएको छ, “गल्ती नगर्ने मानिस नै हुँदैन र गल्ती नसच्याउने पनि मानिस हुँदैन । महान् लेनिनको यो भनाई ज्यादै मननयोग्य छ । कम्युनिष्ट पहिलो कुरा गल्ती गर्नभएन , यद्यपि गल्ती नै भइहाल्यो भने समयमै सच्याउन जो तयार हुन्छ ऊ मात्रै कम्युनिष्ट हुनसक्छ ।

कुनै पनि काम गर्दाखेरी कम्युनिस्टले पहिले नै विचार पुर्याउनु पर्दछ । कम्युनिस्टहरूले संधै कुनै कुरामा पनि किन, केको निम्ति भनी खोतल्नु पर्छ, आफ्नो वुद्धी खियाउनुपर्छ र त्यो कुरा वास्तविकतामा मेल खान्छ खाँदैन साँच्चि नै तर्कयुक्त हो होइन भनी होसियारपूर्वक विचार गर्नुपर्छ । कुनै पनि किसिमबाट कम्युनिष्टहरूले आँखा चिम्लेर पछि लाग्नु हुँदैन र कुनै पनि प्रकारको दासत्वलाई हौसला दिनुहुँदैन । किनभने यी विषयहरू जनहितका विरुद्ध, देशहितका विरुद्ध रहेका हुन्छन् । कम्युनिष्ट अब्बल दर्जाको सचेत प्राणी हो । कम्युनिष्टहरूले व्यवहारिक तथा दूरदर्शी हुनुमा दृष्टान्त प्रस्तुत गर्नैपर्छ । किनभने व्यवहारिक भए मात्र उनीहरू दिइएको कामलाई पुरा गर्न सक्छन् र दूरदर्शिताले मात्र अघि लम्कने दिशाभुल्नुबाट आफूलाई जोगाउन सक्छन् । कम्युनिष्टहरू संधै सचेत अवस्थामा उसले जनदिशालाई प्रमुख काम बनाउनुपर्छ ।

कम्युनिष्टहरूले अध्ययनमा दृष्टान्त प्रस्तुत गर्नैपर्छ । उसले मालेमावादका आधारभूत सिद्धान्तका बारेमा ज्ञान हासिल गरेकै हुनुपर्छ । उसले आफूलाई विश्वदृष्टिकोणबाट रूपान्तरण गराउन संधै तत्लीन हुनुपर्छ । संधैभरि कम्युनिष्टहरूले जनताका शिष्य तथा शिक्षक बन्न सक्नुपर्छ । ऊ किताबी अध्ययन मात्र व्यवहारिक अध्ययनमा पनि निपुण हुनुपर्छ । जनताका सुख दुःखलाई पहिल्याउन र खुट्याउन चनाखो बन्ने र अग्रपंक्तिमा उभिएर जनताका ती समस्याहरू समाधान गर्न दृढ हुनुपर्छ । वैज्ञानिक अध्ययन विना , मालेमावादको व्यवहारिक अध्ययनविना न संसारलाई चिन्न सकिन्छ न त संसारलाई बदल्न नै सकिन्छ । जनआन्दोलन , जनसंघर्षमा सरिक भएको बेला होस् वा भीषण वर्गसंघर्षमा होमिएको बेला होस प्रत्येक कम्युनिस्ट जनताको साथी बनेको हुनुपर्छ, जनताको मालिक बन्ने होइन, अथक गुरु बन्नुपर्ने हुन्छ र नोकरशाही राजनीतिज्ञ कहिल्यै बन्नु हुँदैन । कम्युनिष्टहरू जनसमुदायको बहुसंख्याबाट कहिल्यै अलगिनु हुँदैन् । जनताकै बीचमा हुनु अनिवार्य हुन्छ ।

कम्युनिष्टहरू बीउ झै र जनता माटो झै हुनुपर्छ । कम्युनिस्टहरू जहाँ पुग्छन् , त्यहाँ जनताशीत एकाकार हुनुपर्छ , जनता मै जरा हाल्नु पर्छ र जनता मै फुल्नुपर्छ , जनता कै बीचमा फल्न सक्नुपर्छ । तबमात्र ऊ कम्युनिष्ट हुनसक्छ । उसले जनतालाई हेप्ने, गाली गर्ने गर्नु हुँदैन । जनतालाई माया र सम्मान दुवै गर्नुपर्दछ ।
कम्युनिष्टहरू नैतिकवान हुनुपर्छ । कम्युनिष्टहरू चरित्रवान हुनुपर्छ । आर्थिक रूपमा भ्रष्ट, यौन – प्रेम मामिलामा पतनशील व्यक्ति कम्युनिष्ट हुन सक्तैन । आर्थिक मामिलामा लामो हात गर्ने, परस्त्रीसित आँखा लगाउने व्यक्ति कम्युनिष्ट हुन सक्तैन । कम्युनिष्ट सदस्य बनेर पनि आर्थिक – साँस्कृतिक मामिलाबाट पार्टीले कार्वाही गरि सदस्यबाट हटाएको, अनैतिक यौन – प्रेससम्बन्ध अर्थात् यौन साँस्कृतिक मामिला र परस्त्री पति भएर साँस्कृतिक विचलन मुद्दामा कम्युनिष्ट पार्टीले अनुशासनात्मक कार्वाही गरेको वा परेको व्यक्ति पनि कम्युनिष्ट हुन सक्तैन । किनभने ऊ जनसमुदायका बीचबाट विस्थापित भइसकेको हुन्छ । त्यसैले कम्युनिष्टहरूले कम्युनिष्ट नैतिकता, कम्युनिष्ट आदर्श, सर्वहारा वर्गीय व्यवहार र कम्युनिष्ट चिन्तन अर्थात् माक्र्सवादी चिन्तन र व्यवहारलाई बचाई राख्नुपर्छ ।

एउटा सच्चा कम्युनिष्टले जनतालाई, कुनै पनि व्यक्तिलाई ठग्नु हुँदैन र अर्काको सम्पत्तिलाई हानि नोक्सानी पु¥याउनु हुँदैन । त्यसैले कमरेड माओले “जनताको एक टुक्रा धागो र सियो समेत नलेऊ, सापटी लिएको चिजको पैँचो फिर्ता गर” भन्नुभएको छ । सम्पत्तिप्रति मोह भएको, निजी स्वार्थमा लिप्त भएको व्यक्ति कम्युनिस्ट बन्न सक्तैन । यो कुरा माथि पनि भनिएको छ । नेपालका कम्युनिष्ट भनाउदाहरूको कुरा गरौं । नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) लगायतका नामधारी कम्युनिस्टहरू कम्युनिस्ट नै होइनन् ।

उनीहरूको व्यवहारले नै पुष्टि गरिसकेको छ कि उनीहरू संसदीय कम्युनिष्ट हुन् । कम्युनिष्ट पार्टीको नाम राख्दैमा , कम्युनिष्ट पार्टीको झण्डा हल्लाउँदैमा कोही पनि कम्युनिष्ट हुँदैन । माथि पनि प्रष्टै भनिएको छ , कम्युनिष्ट हुनलाई त कम्युनिष्ट दर्शन, कम्युनिष्ट विचार – सिद्धान्त र व्यवहार सर्वहारा वर्गीय हुनुपर्छ । आज उनीहरूले यी सबै कुरा परित्याग गरिसकेका छन् । माक्र्सवाद – लेनिनवाद – माओवादीप्रति गद्दारी गरिसकेका छन् । महान् नेपाली क्रान्तिप्रति गद्दारी गरी सकेका छन् । महान् नेपाली जनताप्रति गद्दारी गरेर धोका दिँदै आएका छन् । र , आज उनीहरू दक्षिणपन्थी संशोधनवादी हुँदै , नवसंशोधनवादी हुँदै प्रतिक्रियावादमा पतन भएर नेपालको प्रतिक्रियावादी सत्ताको नेतृत्व समेत गर्दै आएका छन् । आज उनीहरू दलाल तथा नोकरशाही पुँजीपति वर्गमा परिणत भइसकेका छन् । तर पनि उनीहरूले आफूलाई कम्युनिष्ट भएको प्रचार गरेर नेपाली जनता र विश्व जनताका बीचमा भ्रमको खेती गर्दै आएका छन् ।

यो नेपालको मात्र मामिला होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्रकै समस्या हो । संशोधनवादीहरूले जहाँ कही पनि आफूलाई कम्युनिष्ट भएको बताएर जनतालाई खुलेआम ठगिरहेका छन् । यसबाट सबै सचेत हुन जरुरी छ । को–को कम्युनिष्ट हुन्, को –को कम्युनिस्ट होइनन् भन्ने विषयमा माथि नै व्यापक रूपमा चर्चा गरिएको छ । यो सानो लेखमा सबै कुरा अटाउन सम्भव पनि छैन ।

लेखक वली नेकपा बहुमत जाजरकोट ÷ डोल्पाका ईन्चार्ज र केन्द्रीय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया