तीन वर्षदेखि निर्माण अवरुद्ध सडक

blogहुम्ला । कर्णाली कोरिडोरको स्याम्नेदेखि सिमकोट खण्डको सडक निर्माण कार्य तीन वर्षदेखि ठप्प छ। सिमकोट गाउँपालिका–५ का स्थानीयले क्षतिपूर्तिको माग गर्दै निर्माण कार्य अघि बढ्न नदिएपछि सडक निर्माण कार्य ठप्प भएको हो।

स्थानीयको विरोधपछि २०७७ साल चैत महिनाबाट उक्त खण्डको निर्माणको काम रोकिएको हो। स्थानीय चाना रोकायाले खेतीयोग्य जग्गाको क्षतिपूर्ति माग गरेपछि सडक निर्माण अवरुद्ध भएको हो। हिल्सा–सिमकोट सडक आयोजनाले क्षतिपूर्तिको व्यवस्था नगरेपछि सडक निर्माणको काम रोक्नु परेको रोकायाले बताउनुभयो।सिमकोटदेखि स्याम्ने खण्डकै सडक निर्माण गर्न स्थानीयले मेलगुडी, मैनागाडा, थलाहाल्न, ओलढुङ्गा, मेलबिसौना, बचुनधाराडाँडा, स्यागस्यागहुँदै ठ्यालेचौरसम्मको आठ किलोमिटर निर्माणका लागि बिनामुआब्जा जग्गा दिएका थिए। आयोजनाले सो सडकको ठाउँमा अन्यत्र स्थानबाट सडक लैजान खोजेपछि काम रोक्नु परेको रोकायाले बताउनुभयो।उक्त सडकबाट सिमकोट खार्पु खण्डमा यातायातका साधन सञ्चालन हुँदै आएका छन्। सो सडकमा परेको जग्गा नेपाल सरकारको नाममा गइसकेको छ। एकातिर स्थानीयले सोही सडकका नाममा जग्गा दिइसकेको र अर्कोतर्फ पुनः जग्गा दिँदा क्षति धेरै हुने तर कुनै क्षतिपूर्ति एवं मुआब्जा नपाउने भएपछि सडक निर्माणको काम रोक्नुको विकल्प नभएको उहाँको दाबी छ।

आयोजनाले विस्तृत परियोजना प्रतिवेदन बनाई टेन्डर आह्वान गरेर निर्माण कम्पनी छनोट गरेको दाबी गरे पनि स्थानीयले गुगल म्यापको प्रयोग गरी प्रतिवेदन बनाएको आरोप लगाउँदै आएका छन्। नयाँ रेखाङ्कन भएको सडक ठालेचौर, गनढुस्का, कालढुङ्गा, हुमानेखोला, पिप्लेडी हुँदै आवासीय विद्यालयसम्म रहेको छ। यसका लागि स्थानीय प्रशासनको रोहवरमा क्षतिपूर्तिका लागि पहल गर्ने निर्णय भए पनि आयोजनाबाट त्यसलाई अघि बढाइएको छैन।आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले तीन वर्षदेखि कर्णाली कोरिडोरको स्याम्नेबाट आवासीय विद्यालय क्षेत्रसम्मको सडकको काम ठप्प भएको बताउनुभयो। सडक निर्माणको काम अघि बढाउने प्रयास गरिएको भए पनि स्थानीयको साथ नपाएको बताउनुभयो। उहाँले आयोजनाले क्षतिपूर्ति दिन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो।

सडक बन्यो, चलेन यातायात

खार्पुनाथ गाउँपालिका–४ को वडा कार्यालय जोड्ने कच्ची सडक निर्माण भए पनि यातायातका साधन सञ्चालनमा आउन सकेको छैन। सडक निर्माण भए पनि कर्णाली नदीमा पुल निर्माण नभएका कारण यातायातका साधन सञ्चालनमा आउन नसकेका हुन्।गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले पालिकाका सबै वडामा सडक सञ्जाल जोड्ने प्रतिबद्धताअनुसार तुम्लिङदेखि नल्नको विद्यालयसम्म सडक निर्माण पूरा भएको बताउनुभयो तर हालसम्म यातायातका साधन सञ्चालनमा ल्याउन नसकिएको उहाँले बताउनुभयो। उहाँले गाउँपालिका केन्द्र याङ्चुबजार जोड्ने तुम्लिङमा पूर्वाधार विकास कार्यालयबाट पक्की पुल निर्माणका लागि टेन्डर आह्वान गरेको तर हालसम्म सो पुल निर्माणको कामले गति लिन सकेको छैन।सडकमा यातायातका साधन सञ्चालन हुन नसक्नुमा मुख्य गरी पूर्वाधार विकास कार्यालय दोषी रहेको आरोप उहाँले लगाउनुभयो। पुल निर्माणका लागि भएको टेन्डरबाट छनोट भएको कम्पनीसँग सम्झौता गर्न ताकेता गर्दा कुनै सुनुवाइ हुन नसकेको उहाँको भनाइ छ। सो सडकले वडाका चारवटा बस्तीलाई छोएको छ। यसबाट १० किलोमिटर सडक निर्माण भएर यातायातका साधन सञ्चालन हुन सक्नेछन्।

उहाँले पुल निर्माणमा भएको ढिलाइले निर्मित पुल प्रयोगमा नआई भत्कन सक्ने चिन्ता व्यक्त गर्नुभयो। सडक छ महिनाअगाडि निर्माण पूरा भएको थियो। अध्यक्ष रावलले पुल निर्माणमा ढिलाइ हुँदै गए अब कर्णाली नदीमा डोजरबाट गाडी तारेर भए पनि सडक सञ्चालनमा ल्याउने योजनामा गाउँपालिका रहेको बताउनुभयो।पूर्वाधार विकास कार्यालयले भने टेन्डर प्रक्रियामा तीन पटक सूचना जारी गर्नु परेका कारण काममा ढिलाइ भएको जनाएको छ। हाल टेन्डरबाट निर्माण कम्पनी छनोट भइसकेको र अब चाँडै सम्झौता गरेर निर्माणको काम अगाडि बढाउने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया