काठमाण्डाैं । नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले नेपाली कांग्रेस संसदको ठूलो दल भएको कुरा नबिर्सन नेकपा एमालेलाई सुझाव दिएका छन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने क्रममा सदनमा भएको छलफलमा पौडेलले उक्त कुरा बताएका हुन् ।
‘नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ, यो सदनमा नेपाली कांग्रेस भन्ने पार्टी पनि यो सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईंहरूले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ ?’ पौडेलले भने ।
दोस्रो दललाई सहमति चाहिँदा पहिलो दललाई पनि सहमत गराएर अघि बढ्न खोज्ने प्रधानमन्त्रीको प्रयास गलत नभएको पौडेलको भनाइ छ । उनले विगतका कुराको पुनरावृत्ति गरेर सहमति कायम हुन नसक्ने बताए ।
‘विगतमा दुई/दुई पटकसम्म यो सम्मानित सदन विघटन भयो । कसका कारणले विघटन भयो ? कहाँ लेखिएको छ ? कुन धारामा लेखिएको छ ? जवाफ दिन सक्नुहुन्छ ?’ पौडेलले एमालेलाई लक्षित गर्दै भने, ‘अनि साथीहरू माननीयज्यूहरू यहाँ आएर बोल्नुहुन्छ मैले त बहादुरी गरेँ । मैले राम्रो गरेँ । त्यसको निम्ति लाहाछाप लाउनलाई, पछि बनेको निर्वाचनबाट आएको सदनले त्यही कुरालाई सदर गर्नको निम्ति यो प्रतिनिधिसभा पछि निर्वाचनबाट आएको हो र ?
उनले यही कारणले परिस्थिति फरक भएको पौडेलको टिप्पणी थियो । अहिलेको जनमत सबै दल मिलेर जानुपर्ने रहेको बताउँदै पौडेलले उक्त जनमतको कदर गर्नुपर्नेमा जोड दिए ।
हाम्रो पहुँच संवाददाता । ६ चैत्र २०७९, सोमबार