हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय सिमकोटले बिक्री गर्दैआएको रासन कार्डका उल्लेख गरिएको परिवार सङ्ख्या यकिन गर्न समिति गठन गरेको छ ।सिमकोट गाउँपालिका– ५ र ६ को बजार क्षेत्रमा पर्ने रासन कार्डमा जथाभाबी परिवार सङ्ख्या राखेको पाइएपछि यकिन विवरण लिन समिति गठन गरिएको हो । बजारवासीका लागि बढी रासन कार्ड वितरण गरेको पाइनु र त्यसमाथि परिवार सङ्ख्या पनि बढी उल्लेख गरिएको देखिएपछि छानबिन गर्न समिति गठन गरिएको हो ।
लिमिटेडको शाखा कार्यालयका निमित्त प्रमुख नवीन आचार्यले बजारमा धेरै नै रासन कार्ड वितरण गर्ने कार्य भएको देखिएपछि खाद्य व्यवस्था समितिले निर्णय गरी एउटा यथार्थ विवरण लिन समिति गठन गरिएको बताउनुभयो ।हाल सिमकोट बजारमा मात्र ८४६ रासन कार्ड वितरण गरिएको छ । उहाँले बजारमा बस्ने परिवारले एउटै रासन कार्डमा आठदेखि दश जनासम्म परिवार सङ्ख्या उल्लेखगरी खाद्यान्न लिने गरेको पाइएपछि यथार्थ छानबिन गर्न लागिएको बताउनुभयो । लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न एउटा रासन कार्डको एक जना सदस्यले पाँच केजी खाद्यान्न पाउने गरेका छन् । रासन कार्डमा सदस्य सङ्ख्या बढी राखेका कारण अनुमान गरिएभन्दा खाद्यान्न बढी जाने गरेको उहाँको भनाइ छ ।
त्यसमा शङ्का भएपछि नयाँ विवरण सङ्कलन गर्न सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले तत्काल रासन कार्डमाथि अध्ययन गर्ने र यकिन विवरण लिएर प्रतिवेदन पेस गर्नेछ ।सो प्रतिवेदन जिल्ला खाद्य व्यवस्था समितिले अन्तिम रूप दिएर कार्यान्वयनमा ल्याउने जनाएको छ । समितिका सदस्यमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घको प्रतिनिधि सदस्य रहने छन् । लिमिटेडको शाखा कार्यालयलाई सदस्यसचिव तोकिएको छ ।
हाम्रो पहुँच संवाददाता । ४ चैत्र २०७९, शनिबार