कालीकोटमा २१ परीक्षा केन्द्र निर्धारण

blog

कालीकोट । कालीकोट जिल्लामा यस पालिकाको एसइई परीक्षाका लागि २१ केन्द्र निर्धारण गरिएको छ । एउटा मात्र परीक्षा केन्द्र रहेको शुभकालीका गाउँपालिकामा यसपालि एक परीक्षा केन्द्र थपेर २१ केन्द्र बनाइएको हो ।

जिल्लामा यसपालि ग्रेट वृद्धि र प्राविधिक तर्फका विद्यार्थीलाईसमेत सँगै राखेर परीक्षा सञ्चालन गरिने भएको छ । यसपालि जिल्लाभर तीन हजार सात सय ६६ जनाले परीक्षा दिने भएका छन् । जसमध्ये नियमिततर्फ तीन हजार सात सय २१ र ग्रेट वृद्धिका लागि ४५ जना गरी जम्मा तीन हजार सात सय ६६ जना सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्राविधिक सहायक सुनिता रोकायाले छात्रातर्फ एक हजार आठ सय ६३ र छात्रतर्फ एक हजार नौ सय तीन जना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार छात्र भन्दा छात्रा ४० जना कम छन् ।

पछिल्लो समय दुर्गममा पनि छोरीलाई विद्यालय पढाउनु पर्छ भन्ने अभिभावकमा चेतना जागेको रोकायाको भनाइ छ । यसपालि सबैभन्दा धेरै परीक्षार्थी सरस्वती माध्यमिक विद्यालय धौलागोहमा रहेका छन् । त्यहाँ दुई सय ४१ जनाले परीक्षा दिने छन् भने सबैभन्दा कम पञ्चदेवल माध्यमिक विद्यालय मेहेलमुडीमा ११८ जनाले परीक्षा दिनेछन् ।

विद्यार्थी सङ्ख्या धेरै भएको दोस्रो मोतीराम माध्यमिक विद्यालय रास्कोट २ मा दुई सय ३३ जनाले परीक्षा दिने भएका छन् । दुई सय विद्यार्थी सङ्ख्या रहेका जिल्ला भरका ६ विद्यालय छन् भने अरू जम्मै परीक्षा केन्द्रमा दुई सय भन्दा कम छन् ।

एसइई परीक्षाको व्यवस्थापन र अनुगमन शिक्षा विकास तथा समन्वय इकाईले गर्नेछ ।

तपाईको प्रतिक्रिया