माओवादी घटकलाई चार प्रश्न


माओवादी जनयुद्धको पुर्व सदस्य हुनुको नाताले त्यस भित्रका सकारात्मक –नकारात्मक पक्षहरुको नैतिक जिम्मेवारी लिदै अहिले माओवादी घटकका नेताहरूले उठाएका बिषयमाथि ऐक्यबद्धता जनाउन मन छ । तर त्यसको लागि माओवादी घटकका नेताहरूले यी महत्त्वपूर्ण सवालको मलाई चित्तबुझ्दो जवाफ दिन सक्नुहुन्छ कि नाईं ?

१– क्रान्तिको राप–तापबाट शान्ति प्रकृयामा आई सरकारको नेतृत्व गर्दै गर्दा एकढिक्का भएर जनसरोकारको सवालमा काम गर्ने भन्दापनि नेतृत्वको बीच हुने जुँगाको लडाइँले माओवादी पार्टी विभाजन गर्नु र अहिले संकट पर्न थालेपछि एकताको राप अलाप्नुमा यो जनहितमा केन्द्रित छ या तपाईंहरुको स्वार्थमा केन्द्रित छ ?

२– जनयुद्धमा पार्टीका तेस्रो, चौथो र भुइँ तहका नेता–कार्यकर्ताहरु लडाइँमा सहिद, बेपत्ता, घाइते–अपांग, जेल–हिरासतमा कष्टकर जीवन बिताउँदै गर्दा शिर्ष नेताहरु भारत सरकारको सुरक्षा घेराभित्रबाट जनयुद्धको नेतृत्व गर्नु, दिल्लीमा नै सात दल र माओवादी नेताहरूले १२ बुँदे सम्झौता गर्नु र अहिले जनयुद्धका परस्पर वर्ग दुस्मन भन्ने पार्टीका शिर्ष नेताहरुको बीचमा रहस्यमय अप्राकृतिक गठबन्धन गर्दै आउनुले जनयुद्धको नेतृत्व गर्ने केही शिर्ष नेताहरु भारतको ग्राइनडिजाइनबाट नै सञ्चालित थिए भन्ने आरोपलाई ब्यवहारबाट खण्डन गर्न सकेको खै ?

३– क्रान्तिको औचित्य सावित गर्न नसके भारतका चर्चित डाँकु बिरप्पनको दाँजोमा राखिंदा पनि अन्यथा हुदैन । बिरप्पनले पनि शोषक– सामन्तबाट लुटेको रुपैयाँ केही प्रतिशत रकम गरिब जनतालाई बाँडिदिने गर्थें । पार्टीको सिद्धान्त र नीतिलाई जनताको जीवनस्तरसंग नजोडि केही नेता–कार्यकर्ताको लागि मात्र भयो भने तपाईंहरुको स्वार्थसिद्ध गर्नका लागि आम कार्यकर्ताहरुले मात्र किन दोषको भारी बोक्ने ?

४– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक भाषणमा ५ हजार मारिएको जिम्मा लिन उचित थियो त ? जिम्मा लिएपछि कानुनी सजायको पनि त भागिदार हुनुपर्छ । अब बाँकी १३ हजार मध्य ८ हजार तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा र ५ हजार तत्कालिन राजा ज्ञानेन्द्रले पनि लिनुपर्ने हुन्छ र कानुनी सजाय भोग्न जेल गएर राजनीतिक विश्राम लिनुपर्दछ ।

राजतन्त्र फर्काउने अभियान सफल भयो भने दुर्गा प्रसाईं राजा बन्लान, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा पास भयो भने बाबुराम भट्टराई राष्ट्रपति बन्लान, नयाँ युवा प्रधानमन्त्री चाहिए नेत्रबिक्रम चन्द, गगन थापा, जनार्दन शर्माहरु छँदैछन् नि ! किन यी राजनीतिक अस्थिरताका पात्रहरुलाई काँध थापेर आफैलाई बोझ थुपार्नुपर्यो ?

तपाईको प्रतिक्रिया