विद्यार्थी संगठन मिल्न नसक्दा प्रचण्डलाई टाउको दुखाई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी दुई गुटमा विभाजित हुँदा स्ववियू चुनावमा असर पर्ने देखिएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विद्यार्थी सङ्गठनका दुई गुटका नेताहरूलाई बोलाएर नियमित छलफल गर्दै आएका छन् । तर, अखिल क्रान्तिकारीका पन्चा सिंह र पवन कार्की समूह मिल्न नसक्दा स्ववियू चुनावमा असर देखिएको हो ।

प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार र शनिबार बिहान सिंह र कार्कीपक्षका नेताहरूलाई बोलाएर चुनावमा सङ्गठन एक बनाउन पहल गरेको अखिल क्रान्तिकारीका समानन्तर कमिटी चलाएका संयोजक पवन कार्कीले बताए । स्ववियू चुनाव दुबै पक्ष मिलेर जाने र चुनावपछि अधिवेशन गर्ने प्रचण्डले बताउँदै आएको कार्कीले बताए । तर उत्तर र दक्षिणतिर फर्किएका विद्यार्थी नेताहरू एक नहुँदा स्ववियू निर्वाचन प्रधानमन्त्री प्रचण्डको समेत टाउको दुखाइको विषय बनेको छ ।

‘प्रधानमन्त्री ज्यूले स्ववियूमा मिलेर जानुस् । मिलेरै उम्मेदवार उठाएर जिताउनुस् । स्ववियू चुनावपछि अधिवेशन गरेर विवाद मिलाउँला भन्नु भएको छ’ कार्कीले भने, ‘प्रधानमन्त्री ज्यूले मिलेर जान सुझाव दिएपछि पन्चा जीसंग आज भेटेर छलफल भयो । दुई सङ्गठन एक भएर जाने विषयमा छलफल भए पनि कुरा मिलेको छैन ।’

तर, अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले दुवै सङ्गठन मिलेर जाने विषयमा छलफल भइरहेको बताए । दुबैपक्षबाट उठाएका उम्मेदवारलाई एउटा समझदारी बनाएर सहमति गरिने पुनले बताए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर सहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते हुने चुनाव हुने भएको छ ।

तपाईको प्रतिक्रिया