स्वकीयमा आफन्तै रोज्छन् नेता

blog
कालीकोट । कालीकोटबाट कर्णाली प्रदेश सभामा नेतृत्व गर्ने प्रदेश सभा सदस्यहरूले आफ्ना छोरा तथा आफन्तलाई स्वकीय सहयोगीमा राखेका छन्। चुनावका बेला आम कार्यकर्ताको जिम्मा लिने भाषण गरेका राजनीतिक दलका नेताले विजयी भएसँगै आफ्नैलाई रोजगारी दिएका हुन्।

कर्णाली प्रदेश सभाका ४० प्रदेश सभा सदस्यमध्ये हालसम्म ३६ जनाले स्वकीय सचिव नियुक्त गरिसकेका छन्। प्रदेश सभा सचिवालयका अनुसार यामलाल कँडेल, राजीवविक्रम शाह, विनोदकुमार शाह र टेकराज पछाईले मात्र स्वकीय सचिव नियुक्त गर्न बाँकी छ।

गत मङ्सिर ४ गतेको निर्वाचनबाट निर्वाचित हुनुभएका प्रदेश सभा सदस्यमध्ये ३६ जना प्रदेश सभा सदस्यले नियमानुसार पाउने सुविधाअन्तर्गत स्वकीय सचिव नियुक्त गरेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएको विवरण हेर्दा उहाँहरूका छोरा र आफन्त मात्र छन्। कालीकोट प्रदेश सभा ‘ख’बाट विजयी नेपाली कांग्रेसका नेता हिक्मतबहादुर विष्टले छोरा उपेन्द्र विष्ट, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट समानुपातिक प्रदेश सभा सदस्य बन्नुभएकी दक्षिणा शाहीले छोरा भुवन शाही, प्रदेश सभा ‘क’बाट विजयी माओवादी नेता दुर्गबहादुर रावतले पनि छोरा जीवन रावतलाई नायब सुब्बा वा सोसरहको स्वकीय सचिव पदमा नियुक्त गर्नुभएको छ।

प्रदेश सभा सदस्य रावत यसअघि प्रतिनिधि सभा सदस्य हुँदा पनि छोरा जीवन रावतलाई नै स्वकीय सचिव राख्नुभएको थियो। उहाँले आफ्नो छोरा मात्र नभई जनयुद्धको कार्यकर्ता पनि रहेको र छ वर्षको उमेरदेखि क्रान्तिमा लगानी भएकाले नियुक्त गरेको जवाफ दिनुभयो। प्रदेश सभा सदस्य हिक्मतबहादुर विष्टले आफू कोरोना, डेङगु, निमोनियाबाट भर्खर तङ्ग्रिँदै गरेकाले मोटरसाइकल चलाउन सक्ने तथा कम्प्युटरसमेत जानेको खोज्दै जाँदा छोरा नै उपयुक्त लागेका कारण छोरालाई राखेको बताउनुभयो।

हुम्लाका प्रदेश सभा सदस्य कलबहादुर हमालले आफ्नै ज्वाइँ सन्तोष शाही, प्रदेश सभा सदस्य गमता विकले ज्वाइँ दानबहादुर विक, इन्द्राकुमारी शाहीले दीपेन्द्र शाही, घनश्याम भण्डारीले भाइ कलम भण्डारी (ठूलो बुवाको छोरा), पूर्णबहादुर खत्रीले भतिजा (दाइको छोरा) राजन केसीलाई स्वकीय सचिव नियुक्त गर्नुभएको छ। डोल्पाबाट प्रतिनिधित्व गर्ने वीरबहादुर शाहीले सालो नाता पर्ने जित बम ठकुरीलाई नियुक्त गर्नुभएको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्लले रोशन शाहीलाई नियुक्त गर्नुभएको छ। उहाँ नातामा मल्लको नाति रहेको बताइएको छ।

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विकले भतिजा रवीन्द्र विश्वकर्मा (जेठाजुका छोरा)लाई नियुक्त गर्नुभएको छ भने स्वतन्त्र प्रदेश सभा सदस्य जुम्लाका देवेन्द्रबहादुर शाहीले सहोदर भाइ विनोद शाहीलाई स्वकीय सचिव नियुक्त गर्नुभएको छ। प्रदेश सभा सदस्य खड्क पोखरेलले भतिजा सञ्जय पोखरेल र प्रदेश सभा सदस्य महेन्द्र केसीले हीरालाल केसीलाई नियुक्त गर्नुभएको छ। प्रदेश सभा सदस्य वेदराज सिंहले स्वकीय सचिवमा भाइ (आफ्नै ठूलो बुवाको छोरा) रणबहादुर सिंहलाई नियुक्त गर्नुभएको छ।

अधिकांश सांसदले पारिवारिक नातेदारलाई स्वकीय सचिव नियुक्त गरिरहेका बेला केही सांसद भने अपवाद बन्नुभएको छ। उहाँहरूले आफन्तको सट्टा कार्यकर्ता नियुक्त गर्नुभएको छ। सभामुख नन्दा गुरुङले गङ्गाराम तिमिल्सेना, विपक्षी दलका नेता जीवनबहादुर शाहीले राज रोकाया र उपसभामुख यशोदा न्यौपानेले तारा न्यौपानेलाई स्वकीय सचिव नियुक्त गर्नुभएको छ। न्यौपाने थर मिले पनि उहाँहरूबीच नाता छैन।

कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार सभामुख, उपसभामुख र विपक्षी दलको नेताले राजपत्राङ्कित तृतीय श्रेणी वा सोसरहको कर्मचारीलाई स्वकीय सचिव नियुक्त गर्न पाउने व्यवस्था छ। त्यसबाहेक प्रदेश सभाका पदाधिकारी र सदस्यहरूले राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बा वा सोसरहको स्वकीय सचिव नियुक्त गर्न पाउने व्यवस्था छ।

तपाईको प्रतिक्रिया