जाजरकोट । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा जाजरकोटका जिल्ला इन्चार्ज सहित तीनलाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबार भेरी नगरपालिका ११ मा एन.आईसी लद्युवित्तका कर्मचारी माथि दुव्र्यवहार भएको, केही आर्थिक लुटपात गरेको आरोपमा जिल्ला ईन्चार्ज पौरख मल्ल, सेक्रेटरी विराजन शाही, सचिवालय सदस्य कर्णबहादुर बस्याललाई प्रहरीले गिरफ्तार गरेको हो ।
मंगलबार राती ११ बजे सदरमुकाम खलंगा बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डिएसपी) सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार कर्मचारी माथि दुव्र्यवहार, केही पैसा लुटपात भएको भन्दै कार्यालयमा जानकारी आएपछि अनुसन्धानका लागि प्रक्राउ गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको डिएसपी रोकाले जानकारी दिए ।
मंगलबार भेरी ११ कटीगाउँका स्थानीयले लघुवित्तका कर्मचारीलाई जनकारवाही गरेको भन्दै नेकपाले एक्यवद्धता व्यक्त गरेको थियो । एक विज्ञप्ती जारी गर्दै जनकारवाहीको सर्मथन जनाएको थियो । प्रहरीले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको आवाज बोलेकै भरमा गिरफ्तार गर्नु प्रहरीको दमन भएको नेकपा निकट यूवा संगठनका केन्द्रीय सदस्य गोविन्द चन्दले बताए । नेकपाका नेता तथा कार्यकर्ताले तत्काल रिहाईको माग गरेका छन् ।
हाम्रो पहुँच संवाददाता । १७ फाल्गुन २०७९, बुधबार