जाजरकोट । कर्णाली प्रदेशको दुर्गम र विकट जिल्लाका रुपमा रहेको जाजरकोट जिल्लाको शैक्षिक अवस्था खस्कँदै गएको छ । गुणस्तरीय शिक्षा आजको आवश्यकता भनिएता पनि शैक्षिक क्षेत्रमा आवश्यक सुधार हुन नसक्दा यहाँको शैक्षिक अवस्था खस्कँदै गएको पाईन्छ । विज्ञान प्रविधिको युगमा जाजरकोट जिल्लाका सामुदायिक विद्यालयहरुमा पाठ्यक्रम अनुसार परम्परागत शैलीमा नै पठनपाठन हुन सकेको छैन् ।
खस्कँदै गरेको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि पहल गर्नु पर्नेमा सरोकारवाला निकायहरु मुखदर्शी बनेर रमिता हेरिरहेका छन् । विद्यालयमा शिक्षक छन्, छैनन् ? पठनपाठन् हुन्छ,हुँदैन् ? विद्यार्थी नियमित उपस्थित हुन्छन्,हुँदैनन् ? यी र यस्ता विषयहरुमा सरोकारवाला निकायहरुले रमिता हेर्नु वाहेकको केही गरेको देखिदैन् । शिक्षक नहुनु र नियमित पठनपाठन नुहुनुका कारण नियमित उपस्थित हुुने विद्यार्थी संख्या दिन प्रतिदिन कम हुँदै गएको छ ।
जनशक्ति अभाव,प्रशासनको लाप्रवाही जस्ता विविध कारणले गर्दा विद्यालयमा भएका सामाग्रीहरु प्रयोग विहिन अवस्थामा छन् । प्रयोगविहिन हुँदा कतिपय विद्यालयका सामाग्रीहरु विग्रिसकेका छन्,भने अन्य विद्यालयका सामाग्रीहरु विग्रिने तरखरमा छन् । केही विद्यालयका शिक्षकहरुले त विद्यालयको प्रयोगका लागि उपलब्ध गराईएका कम्प्यूटर आफ्नो व्यक्तिगत कार्यका लागि प्रयोग गरिरहेको समेत पाईन्छ । प्रयोगविहिन भएर सामाग्रीहरु विग्रिनु, विद्यालयको सामाग्री शिक्षकले व्यक्तिगत रुपमा प्रयोग गर्नु जस्ता विषयहरुलाई देखेर पनि सरोकारवाला निकायहरु नदेखे झैं गरिरहेका छन् ।
यहाँका प्रायः विद्यालयहरूमा प्रशस्त विद्यार्थी संख्या छ । तर पठनपाठनका लागि पर्याप्त मात्रामा शिक्षक छैनन् । कतिपय विद्यालयहरु त दरबन्दीविहिन छन् । विद्यार्थीहरुले पठनपाठनका लागि चरम अभाव खेपिरहेको देख्दा देख्दै पनि आवश्यक शिक्षकहरुको व्यवस्थापनमा सरोकावाला निकायहरुले खासै चासो देखिदैन् ।
अध्ययनका लागि विद्यालयको पुस्तकालयमा विभिन्न शैक्षिक सामाग्रीहरु छन् । पुस्तकालय व्यवस्थापन नहुँदा ती शैक्षिक सामाग्रीहरुको सदुपयोग हुन सकेको छैन् । पुस्तकालय विद्यार्थीलाई अध्ययनका लागि नभई विद्यालयमा आगन्तुक पाउनुहरुलाई देखाउनका लागि मात्रै भएको बारेकोटमा रहेको वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयमा अध्ययनरत एक छात्रले बताए । उनले भने ‘पाठ्यक्रम अनुसार नियमित पठनपाठन हुने किताबहरु हामीसंग छन् तर पाठ्यक्रम बाहेक विविध अध्ययनका लागि निकै समस्या छ । यसको समाधानका लागि नत विद्यालय प्रशासनलाई चासो छ । नत सरोकारवाला निकायहरुलाई नै चासो छ ।’
विद्यालयमा पुस्तकालय र विज्ञान प्रयोगशालाका लागि आवश्यक सामाग्रीहरु ल्याएको बर्षौं वितिसक्दा पनि विद्यार्थीहरुले त्यसको प्रयोग गर्न पाएका छैनन् । आवश्यक भवन र जनशक्ति नहुँदा विद्यालयमा भएको पुस्तकालय,विज्ञान प्रयोगशाला अहिलेसम्म प्रयोग विहिन भएको छेडागाडको बागेश्वरी माद्यामिक विद्यालयकी एक छात्राले बताईन् । उनले भनिन् ‘विद्यालयमा आएर किताबी ज्ञान वाहेक अन्य कुनै नयाँ कुरा सिक्न सककेका छैनांै ।’ यी विद्यालयहरु उदाहरण मात्र हुन् । समग्र जाजरकोटका सबै विद्यालयहरुको अवस्था यस्तै छ ।
विद्यालय सार्टिफिकेट बाँढ्ने वितरण केन्द्र हैन् । विद्यालय ज्ञान आर्जन गर्ने थलो हो । जहाँ किताबी ज्ञान मात्रा नभइ व्यावहारिक ज्ञान सिक्नु र सिकाउनु पर्छ । विद्यालयमा भएका सामाग्रीहरु विद्यार्थीले प्रयोग गर्न पाउनुपर्छ त्यसको व्यवस्थापनका लागि सम्बन्धित विद्यालयले सरोकारवाला निकायहरुसंग पहल गर्नुपर्ने भेरी ज्ञानोदय बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख चन्द्र बहादुर बुढाले बताए ।
रोग,भोक र शोकले बेलाबेला चिन्तित भईरहेका जाजकोटवासी यतिबेला खस्कँदै गरेको जाजरकोटको शैक्षिक अवस्थालाई देखेर चिन्तित बनेका छन् । यदि यहि अवस्था कायमै रह्यो भने वर्तमान भन्दा भविष्य निकै चिन्ताजन बन्न सक्छ । यसलाई रोक्नका लागि सरोकारवाला निकाय र जाजरकोटवासीले समयमा नै सोच्नु पर्नेवेला आएको जानकारहरु बताउँछन् ।
दिनप्रतिदिन खस्कँदै गरेको शैक्षिक अवस्थालाई नजिकबाट निहाल्ने हो भने,विद्यालय प्रशासन,विद्यालय व्यवस्थापन समिति,स्थानीय सरकार र अभिभावक लगायतको थुप्रै कमजोरी देखिन्छ ।
कमजोर बन्दै विद्यालय प्रशासन
विद्यालयलाई कसरी संञ्चालन गर्ने र विद्यार्थीको भविष्यलाई कसरी निर्धारित गर्ने भन्ने कुरा प्रमुख त विद्यालय प्रशासनको नै हो । विद्यालय संञ्चालन र विद्यार्थीको भविष्य निर्धारणमा प्रशासन सक्रिय हुन नसक्दा सो विद्यालयको शैक्षिक अवस्था खस्कँदै जान्छ । जाजरकोटका विद्यालयहरुको तुलनामा पनि यहि हुँदै आएको छ ।
विद्यालयमा आवश्यक सामाग्रीहरुको व्यवस्थापन गर्न सक्नु,भएका सामाग्रीहरुलाई प्रयोगमा ल्याउन नसक्नु,पठनपाठन के,कति,कसरी भएको छ भनी मुल्याङ्कन नगर्नु र विद्यालयका प्रशासनको पहिलो हो ।
काम कर्तव्य निर्वाहविहीन विद्यालय व्यवस्थापन समिति
विद्यालय सञ्चालनको लागि प्राप्त साधन र स्रोतको परिचालन गर्ने,चल अचल सम्पत्तिको लगत राख्ने राख्न लगाउने र सुरक्षा गर्ने,विद्यालयको शैक्षिक,भौतिक तथा आर्थिक तथ्याड्ढ र विवरण अद्यावधिक गराई राख्ने,वार्षिक बजेट स्वीकृत गर्ने र त्यसको जानकारी गाउँ शिक्षा समिति र जिल्ल शिक्षा कार्यालयलाई दिने,विद्यालयमा स्वच्छ शैक्षिक वातावरण कायम राख्न राजनैतिक,धार्मिक वा साम्प्रदायिक भावनाको आधारमा विद्यालयको वातावरण धमिल्याउन नदिने,जिल्ला शिक्षा कार्यालयबाट खटिएको शिक्षकलाई हाजिर गराई काममा लगाउने,जिल्ला शिक्षा कार्यालयले तोकेको लेखापरीक्षकबाट विद्यालयको वार्षिक लेखापरीक्षण गराउने,लेखापरीक्षकको प्रतिवेदन अनुसार तत्काल आवश्यक कारबाही गर्ने र त्यसको प्रतिवेदन जिल्ला शिक्षा कार्यालयमा पेश गर्ने,जिल्ला शिक्षा समिति र जिल्ला शिक्षा कार्यालयले दिएको आदेश तथा निर्देशनहरुको पालना गर्ने,आफैले नियुक्त वा बढुवा गरेका शिक्षकको लागि तोकिए बमोजिमको पारिश्रमिक तथा सुविधाको व्यवस्था गर्ने,शिक्षाको गुणस्तर कायम गर्ने सम्बन्धमा शिक्षक अभिभावक संघ गठन गर्ने लगायतके काम कर्तव्यबाट जाजरकोटका विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) आफ्नो काम कर्तव्य निर्वाहविहिन बन्दै गएका छन् । विद्यालयहरुमा रजनीतिक चहखेल दिनप्रतिदिन बढ्दै गएको छ,शैक्षिक अवस्था खस्कँदै गएको छ तर जाजरकोट जिल्ला भित्रका अधिकांश सामुदायिक विद्यालय व्यवस्थापन समिति कानमा तेल हालेर बसीरहेका छन् ।
जिल्लाका सातैवटै स्थानीय तहहरुले शिक्षा क्षेत्रमा खासै प्रभावकारी काम गर्न सकेका छैनन् ।
। २७ माघ २०७९, शुक्रबार