सल्यान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको कालिमाटी सव डिभिजन वन कार्यालयका फरेस्टर जयपृथ्वीराज बुढाथोकी सहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बुढाथोकी लगायत ६ जनाले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले मंगलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मुद्दा दायर हुनेमा बुढाथोकीसहित, कालिमाटी सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनोज शर्मा लम्साल, सामुदायिक वन उपभोक्ता समूह कालिमाटी ३, सल्यानका अध्यक्ष भीमबहादुर कुँवर, कोषाध्यक्ष जुद्धकुमारी वली र सचिव पुष्पा वली खासु मगर र दुर्गा ट्रेडर्स एण्ड सप्लायर्स, बबई गाउँपालिका ४, दाङका सञ्चालक दुर्गाप्रसाद वली रहेका छन्।
तुलसीपुर पुरन्धारा बोटेचौर सडक खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालिमाटी–३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूख कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको अख्तियारको दाबी छ।
अख्तियारले उनीहरूमाथि १ लाख ८७ हजार ८७७ रुपैयाँदेखि २ लाख ६८ हजार ५६१ रुपैयाँसम्म दण्ड जरिवाना माग गरेको छ।
लम्सालले वनक्षेत्रबाट संकलन भएका काठ दाउराको घाटगद्दी एवं ग्रेडिङ चेकजाँच तथा प्लटको अन्तिम जाँच गर्ने सिलसिलामा कालिमाटी सब डिभिजन कार्यालय, कालिमाटी सल्यानले बदनियतका साथ तयार गरेको गलत लगतलाई नै समर्थन गर्ने गरी प्रतिवेदन पेश गरेको देखिएकाले काठ कटानमुछान एवं घाटगद्दी गर्ने ठेकेदार तथा लगत तयार गर्ने कर्मचारीको मिलेमतोमा उक्त गलत प्रतिवेदन पेश गर्नुका साथै कटान मुछान गर्ने ठेकेदारसँग मिलेमतो गरी रु. एक लाख घुस लिई गलत प्रतिवेदन पेश गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।
। २४ माघ २०७९, मंगलवार