जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष निरौलाको सुरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालमा सरुवा भएको हो ।
जाजरकोटमा एक बर्षको अवधिमा निरौलाले काम गरे । शान्ति, सुरक्षा, अमन चयन कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गरे । यसैविचमा हाम्रो पहुँच डकटमले डिएसपी निरौलाको कार्यकालमा भएका महत्वपूर्ण गतिविधी र उपलब्धीहरुलाई लिएर संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ संक्षिप्त कुराकानीको अंश..
१. स्वागत छ ?
— धन्यवाद ।
२. तपाईले कसरी प्रहरी सेवामा प्रवेश गर्नुभयो ?
— म नेपाल प्रहरीमा २०६७ साल भदौ २४ गते प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धा बाट नियुक्ति भएको हुँ । प्रहरी सेवामा प्रवेश गर्नु अगाडी म विभिन्न स्कुल , कलेज तथा Institute हरुमा शिक्षण पेशा गर्ने गर्दथे ।
३. शान्ति सुरक्षा कायम गर्न यहाँ के चुनौती छ ?
— शान्ति सुरक्षा कायम गर्न मुख्य रुपमा भौगोलिक विकटता नै हो । प्रहरीको प्रयाप्त जनशक्ती नहुनु, प्रहरी परिचालनको लागी सवारी साधनहरु नहुनु र द्वन्दबाट प्रभावित स्थान भएको हुँदा राज्यले कानुन / न्याय संगत तरिकाले कार्य सम्पादन गर्दछ भन्ने कुरामा जनता विश्वस्त बन्न नसक्नु मुख्य चुनौती हुन् भन्ने लाग्द छ ।
४. तपाईको नजरमा जाजरकोट कस्तो लाग्छ, यहाँ के हुन जरुरी छ ?
— जाजरकोट एउटा अपार संभावना भएको जिल्ला हो । योजना बनाएर कार्यान्वयन प्रकृयालाई प्रभावकारी ढङगले अगाडी बढाउन सके केही बर्षमा यो जिल्लाले विकासमा फड्को मारी जनताको जिवनस्तर उठ्न केही समय लाग्ने छैन भन्ने लाग्दछ ।
५. जाजरकोट प्रहरी कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हाले देखि हाल सम्मका मुख्य उपलब्धीहरु के के हुन् ?
— विशेष त हाम्रो नेतृत्वमा रहेको प्रहरीले अन्य सुरक्षा निकाय संगको समन्वय र सहयोगमा स्थानीय तह र प्रतिनिधि तथा प्रदेश सभा संसदको चुनाव कुनै पनि अप्रिय घटना नघटि, पुन: निर्वाचन गर्नुपर्ने अवस्था सृजना नभईकन शान्ति पुर्ण रुपमा निर्वाचन सफल गराउनु हो ।
— यसका अलावा हाम्रो नेतृत्वमा रहेको प्रहरीले फैसला कार्यन्वयनमा मिति २०७८।१२।१६ गते देखी २०७९।१०।१५ गते सम्म वारदात स्थल देखी फरार रहेका १२ जना र फैसला कार्यान्वयनको सिलसिलामा १९ जना गरी ३१ जना फरार प्रतिवादी पक्राउ गरी निजहरु बाट ३३ बर्ष ८ महिना ४ दिन कैद र २२ लाख ८१ हजार ५ सय २० रुपैया जरिवाना असुल उपर गर्न सफल भयो ।
— ५ वर्ष पुरानो मिति २०७४।०९।३० गते जिल्ला जाजरकोट भेरी न.पा.-०६ बस्ने काले कामीलाई निजकै श्रीमती भद्रकला लुहार(कामी) ले हत्या गरी प्लाष्टिकको डोरी कम्मरमा बाँधी माथील्लो तलाबाट घिसार्दै घरदेखी १० मिटर उत्तरतर्फ रहेको ट्वाइलेटको सेफ्टी ट्याङकी खोली सोही ट्याङकी भित्र उक्त लाश खसाली माईलो छोरा तिलक वि.क., साईलो छोरा गोविन्द वि.क. र कान्छो छोरा तुल्सीराम वि.क. को सहायताले बारीबाट माटो, ढुङगा राखी पुरेको भन्ने गोप्य सुचना मिति २०७९।१०।१७ गते प्राप्त भए पश्चात यस कार्यालयबाट अनुसन्धान अधिकृत सहितको अनुसन्धान टोली खटिगई शौचालयको खाडल खनी उत्खनन् गर्दा पुरै दाँत सहितको खप्पर (टाउँको) को भाग,प्लाष्टीकको डोरी, पछाडी SPORT लेखेको कालो रंगको ज्याकेट,निलो रंगको पाईन्ट भेटीएको,सोहि ज्याकेट र पाइन्ट भित्र मानव कङ्काल हड्डीहरु फेलापरेको हुँदा उक्त घटनामा संलग्न भद्रकला लुहार(कामी) र तुल्सीराम बि.क.लाई रितपुर्वक पक्राउ गरी कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी कानुनी कारवाही गरिएको ।
— अघिल्लो आ.ब.को तुलनामा यस आ.ब.मा जिल्ला प्रहरी कार्यालय जाजरकोटको अपराध पुस्तिकाको रेकर्ड अनुसार अपराधमा २१ % ले कमी हुन आएको हुँदा यसलाई पनि ठुलो उपलब्धिको रुपमा लिएको छु ।
१) मेरो नेतृत्वमा रहेको प्रहरीले जिल्ला भरिनै हात हतियार बरामद गर्ने अभियान संचालनमा ल्याईयो जस अन्तर्गत :-
१) अवैध हातहतियार हरु वेवारिसे भरुवा वन्दुक – २० नाल
२) Type 54 पेस्तोल – १ नाल ऐ. को गोली – ५ वटा
३) पलाष्टिक हैण्ड ग्रिनेट वम -१ थान२) शान्ती सुरक्षालाई प्रविधि मैत्री बनाउने अभियान संचालनमा ल्याईयो जस अन्तर्गत :-
जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वय र सहकार्यमा जाजरकोट जिल्लामा अत्याधिक मात्रामा सवारी दुर्घटना हुने भएको हुँदा सडक दुर्घटना न्युनीकरण तथा सचेतनाको लागी Time Card लागु गरिएको साथै अत्याधिक मात्रामा मानिसहरुको आवतजावत हुने विभिन्न १२ स्थानहरुमा सवारी दुर्घटना न्यूनीकरण तथा सचेतनाका लागी जेब्रा क्रसिंङ बनाई संचालनमा ल्याईएको ।
बर्षौ देखी वेचालु अवस्थामा रेहेका CCTV Camera लाई भेरी नगरपालिकाको सहयोग र सहकार्यमा पुन: मर्मत र नयाँ थप गरी १७ वटा CCTV Camera हरु संचालनमा ल्याएर अपराध अनुसन्धान कार्यलाई प्रभावकारी वनाईयो, साथै नलगाड नगरपालिका संग समन्वय गरी मुख्य बजार, छेप्काबजार, कालिमाटी बेली ब्रिज, खानटाकुरा तथा बारेकोट जाने सडक खण्डमा ६ वटा CCTV Camera थप जडान गरियो ।३) अवैध मदिराको उत्पादन तथा बिक्री वितरणलाई निरुत्साहन गर्ने अभियान संचालनमा ल्याईयो जस अन्तर्गत :-
तयारी घरेलु मदिरा नष्ट: १०,४८२ लिटर
कच्चा पदार्थ नष्ट:३७,२७७ लिटर
प्रयोग गरिने औषधी नष्ट: ३१८ किलो
भाँडा सेट नियन्त्रण: १५४ थान४) लागु औषध दुर्व्यसनी न्यूनीकरण अभियान संचालनमा ल्याईयो जस अन्तर्गत :-
गाँजा फडानी : अ.९५५ रोपनी
अफिम फडानी : अ.९२ रोपनी५) प्रहरी ईकाईहरुलाई सुविधा सम्पन्न गराउने अभियान संचालनमा ल्याईयो जस अन्तर्गत :-
सातै पालिकाको सहयोग र समन्वयमा मातहत सवै प्रहरी कार्यालयहरुको Incharge हरुले बोक्ने फोन नम्वरहरु स्थायीकरण गर्ने काम भएको ।
सातै पालिकाको सहयोगमा प्रत्येक प्रहरी चौकीको लागी करिव १७ लाख बरावरको विपद व्यबस्थापनको लागी उद्धार सामाग्री हरु प्राप्त भएको ।
स्थानीय पालिकाहरु संग समन्वय गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोट, ईलाका प्रहरी कार्यालय गर्खाकोट, ईलाका प्रहरी कार्यालय नायकवाडा , प्रहरी चौकी लिम्सा र प्रहरी चौकी छेडागाड मनघाटलाई मोटरसाईकल उपलव्ध गराउन सफल भएको ।६) जग्गा प्राप्ती गर्ने अभियान संचालनमा ल्याईयो जस अन्तर्गत :-
प्रहरीको आफ्नो जग्गा नुहँदा भवन वनाउन कठिनाई रहेको हुँदा स्थानीय संग समन्वय गरी प्रहरी युनिट हरुलाई जग्गा उपलव्ध गराउने अभियान नै संचालन गरी ईलाका प्रहरी कार्यालय वडावनको लागी १ रोपनी ३ आना १ पैसा १ दाम, ईलाका प्रहरी कार्यालय दशेराको लागी ४ रोपनी , प्रहरी चौकी छेडाको लागी ३ रोपनी १४ आना ३ पैसा र अस्थाई प्रहरी पोष्ट मैदे जाजरकोटको लागी १ रोपनी ८ आना गरी जम्मा १० रोपनी १० आना ० पैसा १ दाम गरी जम्मा १० रोपनी ६ आना ३ पैसा प्राप्त भएको । (जसको मुल्य १७ लाख ४० हजार बराबरको जग्गा प्राप्त भएको ।)७) चेतनामूलक कार्यक्रम(प्रहरी साझेदारी कार्यक्रम) संचालन गर्ने अभियान संचालनमा ल्याईयो जस अन्तर्गत :-
जाजरकोट जिल्लामा रहेको घरेलु हिंसा न्युनीकरणको लागि जाजरकोट जिल्लाका सम्पुर्ण ३४,९४६ घरधुरी संख्यामा स्थानीय पालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले तयार पारेको हाते पुस्तिका प्रत्येक घर घरमा प्रहरी पुगी चेतना फैलाई घर धनी लगायत परिवारका सदस्यहरुको व्यक्तिगत विरण संकलन गरी हाते पुस्तिका वितरण गरी लगत राखिएको ।
जातीय छुवाछुत तथा भेदभाव विरुद्धको अभियान अन्तर्गत यस कार्यालय तथा मातहत समेतबाट कार्यक्रम संचालन गरिएको ।
तालुक जिल्ला प्रशासन कार्यालय तथा यस कार्यालयको संयुक्त आयोजनामा विद्यालय स्तरमा लैगिक हिसा,बालअधिकार,साईबर अपराध,सडक सुरक्षा तथा लागुऔषध सम्बन्धि विद्यालय स्तरमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम संचालन गरिएको ।८) छिटो छरितो प्रहरी सेवा उपलब्ध गराउने अभियान संचालनमा ल्याईयो जस अन्तर्गत :-
स्वीकृत भएका तर लामो समयदेखि स्थापना नभएका प्रहरी चौकी जुनीचाँदे र प्रहरी चौकी छेडागाड मनघाटको स्थापना गरी संचालनमा ल्याईएको ।
सवारी दुर्घटना तथा शान्ती सुरक्षा मजवुत वनाउनको लागी जाजरकोट डोल्पा यातायात व्यवसायीहरु र स्थानीयहरुको सहयोग र सहकार्यमा भेरी नगरपालिका वडा नं. ४ वोहरा मोड जिरोपोईन्ट, जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं.११ स्थित कुदु –जगतीपुर जाने पुष्पलाल मध्यपहाडी लोकमार्गमा र छेडागाड नगरपालिकाको मनघाटमा प्रहरी विट स्थापना गरि २४ घण्टा प्रहरी राखी जनतालाई सेवा प्रदान गर्न थालिएको ।
सेवा ग्राहीको सहजताको लागी प्रहरी कार्यालयमा जाहेरी दरखास्त बाहेकका अन्य सम्पुर्ण निवेदनहरु यस कार्यालय तथा मातहतका सम्पुर्ण प्रहरी कार्यालयहरुमै उपलब्ध हुने र सेवाग्राहीले प्रहरी कार्यालयमा पुग्दा पाउने सेवाको लागी निवेदन नै नलेख्नु पर्ने व्यवस्था मिलाईएको ।
६. कस्ता खालका उजूरीहरु प्रहरी कार्यालयमा धेरै आउँछन् ?
— जाजरकोट जिल्लामा घरायसी वादविवाद, झै-झगडा,कुटपिट तथा जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट लेनदेनका उजुरीहरु बढी मात्रामा आउने गरेका छन ।
७. जाजरकोटमा शान्ति सुरक्षा कायम गर्न तपाईको के योजना छ ?
— म जाजरकोट जिल्लामा हाजिर भएकै मिति बाट यँहा कृयाशिल राजनैतिक दलहरुसंग सहयोग र समन्वय गरी एउटा योजना बनाएर काम गर्ने अठोटका साथ आएको थिए । करिब ११ महिनाको बसाईमा हाम्रो टिमले त्यही योजना अनुरुप कार्य गर्यो र जिल्लामा शान्ति सुरक्षा अमन-चयन कायम गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो । विशेष त नागरिकमुखि प्रहरी सेवा बनाउने हाम्रो अठोट अनुरुप काम गरे भन्ने लाग्दछ ।
८. जाजरकोटको मुख्य समस्या केहो, समाधान गर्न के गर्नुपर्ला तपाई विचारमा ?
— भौगोलिक विकटताका कारण समयमा नै प्रहरी परिचालन गर्न सकिदैन जसको समाधानको लागी प्रहरीलाई स्रोत साधन सम्पन्न गर्न सक्नु पर्दछ ।
९.यहाँ प्रहरीहरुले बढी के समस्या भोग्ने गरेका छन् ? ( पूर्वाधार अभाव, टेलिफोन )
भवनहरु जिर्ण अवस्थामा रहेका
खानेपानी तथा टेलिफोनको समस्या
सवारी साधन प्रहरी कार्यालयमा नहुँदा नागरिकको सुरक्षामा असर
औषधी उपचारमा समस्या
तालिम/गोष्ठी/सेमिनार/विदा जाँदा-आउँदा समेत पर्याप्त मात्रामा सवारी साधन नहुँदा कठिनाई
१० अन्त्यमा के भन्नुहुन्छ ?
— समयको लागि धन्यवाद । विशेष गरी जिल्ला भरीको शान्ति सुरक्षा र अमन चयन कायम गर्नका लागी सधै मार्गनिर्देशन गर्ने हाम्रो संगठन प्रमुख, प्रदेश प्रहरी प्रमुख ज्यूहरु, प्रमुख जिल्ला अधिकारी ज्यूहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारी ज्यूहरु, राजनैतिक दलका प्रतिनिधि ज्यूहरु, जनप्रतिनिधि ज्यूहरु, स्थानीय निकायका प्रमुख, उप-प्रमुख, वडाका वडा अध्यक्ष, सदस्यहरु त्यसै गरी नगर / गाउँ कार्यपालिकाका सदस्यहरु,जिल्ला स्थित सरकारी कार्यालयहरु,जिल्ला जाजरकोट पत्रकार महासंघ र पत्रकार,उद्योग वाणिज्य संघ,जाजरकोट जिल्लामा रहेका विभिन्न संघ संस्था र निकायहरु,समाजसेवी,बुद्धिजिवी,विद्यार्थी,सम्पुर्ण जाजरकोट बासी आमा बुबा,दाजुभाई तथा दिदिबहिनिहरु जसले नेपाल प्रहरीलाई अघाद माया र प्रेम गर्नु भयो जसको कारणले जि.प्र.का.जाजरकोट र मातहत प्रहरीले यो जिल्लाको शान्ति सुरक्षा र अमन चयन कायम गर्न सहयोग पुर्याउनु हुने सबैलाई हृदय देखि धन्यवाद दिन चाहान्छु । सधै नेपाल प्रहरी प्रति माया आशा, सद्भाव, स्नेह प्राप्त भईरहेनछ भन्ने अपेक्षा राख्दै भविष्यमा पुन सेवा गर्ने अवसर प्राप्त होस भन्दै बिदा हुन चाहान्छु ।
— धन्यबाद जय नेपाल ।
। २३ माघ २०७९, सोमबार