कविता : भ्रष्टाचार गर्नुपर्छ

दिपेन्द्र बस्नेत

समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार गर्नुपर्छ
सक्यो भने त भ्रष्टाचारको सुचीमा पनि टपटेनमा पर्नुपर्छ
मेरो तर्फबाट भारीका भारी शुभकामना
तपाईंहरुको यो यात्रा अनवरत रूपमा अगाडि बढनुपर्छ ।।

सरकारले पनि ठुला भ्रष्टाचारीलाई ढाक्नुपर्छ
मेरो सरकारलाई सुझाव छ , अब सरकारले
कक्षा ६ देखि १२ सम्म अनिवार्य भ्रष्टाचार विषय राख्नुपर्छ
गणित , अंग्रेजी , विज्ञान विषय नकटाएनी केही हुदैन
भ्रष्टाचार विषय अनिवार्य कटाउनुपर्छ
भ्रष्टाचार विषय कटाएपछि मात्र विद्यार्थीलाई
सर्टिफिकेट दिएर पठाउनुपर्छ ।।

काग कराउदै गर्छ , पिना सुक्दै गर्छ भनेझै
जसले जे भनेनी भ्रष्टाचार गर्ने जस्तो पवित्र कार्य छोडनु हुदैन
भ्रष्टाचार संग लागेको गहिरो पिरतीलाई सजिलै तोडनु हुदैन
रकेटको गतिमा लम्केका पाई बीच बाटोमै मोडनु हुँदैन ।।

भ्रष्टाचार नगर्नेहरु यो देश र समाजका अपराधी हुन
भ्रष्टाचार नगर्नेहरु न त आफू भ्रष्टाचार गर्न सक्छन
न त अरुले भ्रष्टाचार गरेको देख्न सक्छन्
पत्रकारले त झन सियो हरायो भनेनी
खोजीखोजी समाचार लेख्न मात्र सक्छन्
त्यसैले
हामी जनताले भ्रष्टाचारीलाई माला लगाउनुपर्छ
बाजा बजाएर स्वागत गर्नुपर्छ
बिगुल फुक्नुपर्छ
अबिर लगाउनु पर्छ
तर
माला लगाउदा जुताको माला लगाउ
अबिर होईन कालो मोसो दलौ
बाजा बजाउँदा मृत्युको बाजा बजाउ
बिगुल होईन शंख फुकौ
समृद्ध नेपाल निर्माणका सचेत नेपाली एकजुट बनौ ।

तपाईको प्रतिक्रिया