जाजरकोट । जुनीचाँदे गाउँपालिकामा कार्यरत केही कर्मचारीहरु कार्यालयमा नआएर तलब भत्ता बुझने गरेको खुलासा भएको छ । अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वासथ्यकर्मी नेपालगन्ज ,सुर्खेत बसेर गाउँपालिकाबाट तलब भत्ता बुझने गरेको पाइएको हो । जुनीचाँदे गाउँपालिकाको आधारभूत स्वास्थ्य इकाइ दह करुवामा कार्यरत अहेव सुवास शाही गएको मंसिर २९ गतेदेखि कार्यालयमा छैनन् ।
उनी अध्ययनका लागि दुई महिनादेखि काठमाडौँमा छन् । काठमाडौँ बसेपनि नियमित रुपमा उनले गाउँपालिकाबाट तलब भत्ता खाँदै आएका छन् । गएको साउन महिनादेखि अहिलेसम्म कार्यालयमा नियमित छैनन् । पछिल्लो पटक मंसिर महिनामा स्वास्थ्य कार्यालय आएको उनी हाजिर गरेर गएको स्वास्थ्यकर्मीहरू नै बताउँछन् ।
मंसिरपछि उनी कार्यालयमा फर्किएका छैनन् । हाजिरी रजिष्टरमा २०७९ साल मंसिर २९ गतेसम्म हाजिर गरेका छन्
तर पालिकाले शाहीलाई पुस महिनासम्मको तलब भत्ता बुझाएको छ । कार्यालयले हाजिर प्रमाणित भएर तलब निकासा दिने गरेको छ । स्थानीयहरूका अनुसार शाहीको आधा तलब कार्यालयका पावरवाला व्यक्तिले लिन्छन् । कार्यालयकै मिलेमतोमा शाहीले काठमाडौँमा बसेको र गाउँपालिकाबाट सेवा सुविधा लिदै आएको जनप्रतिनिधिहरू बताउँछन् ।
जुनीचाँदे गाउँपालिकाको सामुदायिक इकाइ स्यालागाउँमा कार्यरत जीवनसागर शाही र कृष्ण शाही पनि लामो समयदेखि सुर्खेतमा छन् । दुबै जना अध्ययनका लागि सुर्खेत झरेका हुन् ।
उनीहरूलाई पनि स्वास्थ्य शाखाले सुटुक्क अध्ययनका लागि सुर्खेत पठाएको हो । उनीहरूले गएको साउनदेखि कार्यालयमा हाजिर गरेका छैनन् । हाजिर नगरेपनि नियमित रुपमा सेवा सुविधा लिँदै आएका छन् । सोही गाउँपालिका डाँडाकोट स्वास्थ्य शाखाका डाक्टर हरिबहादुर शाही पनि सुर्खेत पुगेका छन् । उनलाई पनि स्वास्थ्य शाखाले नै अध्ययनका लागि बाहिर पठाएको हो । सुर्खेत बसेर पढेपनि स्वास्थ्यकर्मी शाहीले गाउँपालिकाबाट नियमित रुपमा तलव भत्ता खाँदै आएको गाउँपालिकाको उच्च स्रोतले जनाएको छ ।
उल्लेखित घटना केही प्रतिनिधि पात्र मात्रै हुन् । जुनीचाँदेका पावरवाला अधिकांश कर्मचारीहरू सुर्खेत, काठमाडौँ लगाएका सहरमा छन् । अध्ययनका लागि सहर पसेका कर्मचारीहरूले भने गाउँपालिकाबाट नियमित तलब भत्ता लिँदै आएको गाउँपालिकाको स्रोतले बताएको छ । जनप्रतिनिधि र सम्बन्धित शाखा प्रमुखसँग राम्रो सम्बन्ध भएका करार कर्मचारीहरू अध्ययनका लागि सुर्खेत, काठमाडौँ पुगेका हुन् । पावरवाला कर्मचारीहरू वर्षको दुइदेखि चारपटक मात्र स्वास्थ्य संस्थामा पुग्ने गरेको गुनासो जनप्रतिनिधिहरू पोख्छन् ।
पालिकाका विभिन्न २२ वटा स्वास्थ्य संस्थाहरूमा करार स्वास्थ्यकर्मी ६६ जना कर्मचारीहरू कार्यरत छन् । ती कर्मचारीमध्ये दर्जनाँै कर्मचारीहरूले काम नै नगरी गाउँपालिकाबाट तलब र भत्ता बुझ्ने गरेका हुन् ।
गाउँमै भएका केही कर्मचारी कार्यालय नियमित जाँदैनन्, केही कर्मचारी भने सुर्खेत, काठमाडौँमा बसेर अध्ययन गर्दै आएका छन् । नियमित कार्यालयमा नजाने कार्मचारीहरूलाई भने गाउँपालिकाले नियमित रुपमा सेवा सुविधा दिने गरेका जनप्रतिनिधिहरूनै स्वीकार गर्छन् ।
यता स्वास्थ्य संस्थाहरूलाई चुस्तदुस्त बनाउनुपर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले भने कुनैपनि कर्मचारीले विदामा वा अध्ययनमा नगएको दाबी गरेका छन् । केही कर्मचारीहरू काजमा अन्यत्र गएपनि अध्ययन र विदामा कुनै कर्मचारी नगएको बताउँछन् । उनी आफै गाउँपालिकाको कामको लागि भन्दै काठमाडौंमा छन् ।
स्वास्थ्य संस्थाको समग्र नेतृत्व स्वास्थ्य शाखा सह–संयोजक योज्ञेश्वर बस्नेतले हेर्दै आएका छन् । बस्नेत आफैँले सबै स्वास्थ्य संस्थामा पुगेर कर्मचारीको अवस्था अध्ययन, अनुगमन गरेका थिए । उनी अनुगमनमा जाँदा अध्ययनका लागि पालिका बाहिर रहेका कर्मचारीहरू कार्यालयमा फर्किएका थिए । सोही समयमा कर्मचारीहरूले एकैपटक महिनादिनको हाजिर गरेर फर्किएको जनप्रतिनिधिहरू बताउँछन् । कर्मचारीहरू उपस्थित भए÷नभएको बारेमा जानकारी लिन खोज्दा कर्मचारीहरूले आफूलाई नटेर्ने जनप्रतिधिहरू बताउँछन् ।
जुनीचाँदे गाउँपालिका ५ का वडाध्यक्ष जयबहादुर बस्नेत , वडा ३ का वडाध्यक्ष जयबहादुर खड्काले कर्मचारीले आफूहरुलाई नटेरेको बताए । जानकारी नदिएर आफूखुसी कर्मचारीहरु जहाँ मन लागे त्यही जाने गरेको उनीहरुको गुनासो छ ।
बिरामी बोक्ने एम्बुलेन्स नै बिरामी
गाउँपालिकाले सञ्चालन गर्दै आएको बा १४ च ८९७२ नम्बरको एम्बुलेन्स सात महिना देखि बन्द भएके छ । एम्बुलेन्समा समस्या आएपछि सात महिना देखि काम नगर्ने भएको हो ।
सरकारी नम्बर प्लेटसमेत राखिएको उक्त एम्बुलन्स बिग्रिएको सात महिना सम्म सरोकारवाला निकाय मौन रहेको बताएको छ । गाउँपालिका अध्यक्ष वेद बहादुर शाहीले भने पुरानो एम्बुलेन्स खरिद गरेका कारण पटक–पटक बिग्रने गरेको बताए ।
एम्बुलेन्स खरिदमै घोटाला भएकोले तत्काल छानबिन गर्न पहल गर्ने उनले बताए । एम्बुलेन्स निकै पुरानो भएका कारण अब कवाडमा बिक्री गर्ने तयारी गरेको छ । यस्तै ४ वर्ष पहिला जिल्ला समन्वय समितिबाट गाउँपालिकाले ल्याएको गाडी पनि बिग्रेर थन्काइएको छ । सो गाडी सुर्खेतमा थन्काएको हो । Sourec : Nepalpostkhabar
। १२ माघ २०७९, बिहीबार