बिदा मनाउन घर हिँडेका चिकित्सक दम्पतीको विमान दुर्घटनामा मृत्यु

 

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकले ज्यान गुमाएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको मृत्यु भएको हो ।

उनीहरुका १० महिनाको छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए ।

उनीहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए । ‘ट्रमा सेन्टरले मात्रै चिकित्सक गुमाएन । नेपाल सरकारको कन्सल्टेन्ट सर्जन गुमाउँदा राज्यलाई समेत ठूलो घाटा भएको छ’, सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले अनलाइनखबरसँग भने, ‘हामीले देशकै एक कुशल र अर्थोपेडिक तथा स्पाइन सर्जन गुमाएका छौं ।’

डा. मरासिनीले थपे, ‘उहाँ एक अनुशासित र इमान्दार चिकित्सक हुनुहुन्थ्यो । उहाँ जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि धैर्यपूर्वक काम गर्ने चिकित्सक हुनुहुथ्यो ।’

सहकर्मी डा. खुल्दिप मंगल जोशीका अनुसार डा. श्रेष्ठ मिलनसार थिए । उनी एमबीबीएस पढ्दादेखि नै पढाइमा अब्बल थिए ।

‘उहाँ झर्केको, रिसाएको या कसैसँग नराम्रो व्यवहार गरेको मैले कहिले थाहा पाइन । सबैलाई सहयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो । पढाइमा अब्बल हुँदा पनि उहाँमा कहिले घमण्ड आएन’, डा. जोशीले सुनाए ।

शनिबार किष्ट मेडिकल कलेजमा भएको स्पाइनको कार्यक्रममा पनि डा. जोशी डा. श्रेष्ठसँगै सहभागी थिए । ‘हिजो बेलुका मात्रै हामी सँगै थियौं । म एक दुई दिन बिदामा पोखरा घरमा जान्छु भन्नुभएको थियो’, डा. जोशीले भने, ‘तर, बिहान यस्तो घटना भएको सुनियो । राज्यले एक अब्बल चिकित्सक गुमाएसँगै मैले प्रिय सहकर्मी गुमाए ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गरेका थिए । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।

उनी साथीहरुसँग पोखरामै फर्किएर स्पाइन सर्जरी सेवा दिने सोच रहेको बताउने गरेको डा.जोशी बताउँछन् । स्पाइन सर्जरी सम्बन्धी फेलोसिपमा उनी सिंगापुर जाने तयारीमा थिए ।

डा. सुशीलकी पत्नी डा. दिवारक भने बच्चा जन्मिएपछि काम छाडेर बसेकी थिइन् । उनले चितवन मेडिकल कलेजबाट एमबीबीएस पास गरेकी थिइन् । उनी विशेषज्ञ चिकित्सकका लागि तयारी गरिरहेकी सुशीलका साथी डा. जोशीले जनाकारी दिए ।

डा. सोनाले त्यसका लागि चिकित्सा शिक्षा आयोगले हालै लिएको एमडी/एमएसको एकीकृत प्रवेश परीक्षा दिएकी थिइन् । जुन परीक्षा उनले पास गरिसकेकी थिइन् र कलेज छान्न मात्रै बाँकी रहेको थियो । तर, दुर्घटनामा निधन भएसँगै विशेषज्ञता हासिल गर्ने डा. सोनाको सपना पनि अधुरै भएको छ ।

तपाईको प्रतिक्रिया