जाजरकाेट । आकाशे पानीको भरमा खेती गर्ने यहाँका किसान हिउँदे बाली लगाएदेखि वर्षा नहुँदा चिन्तित भएका छन् । जिल्लाको अधिकांश खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था नहुँदा आकाशे वर्षाको भरमा खेती हुँदै आएको छ ।
लामो समयसम्म हिउँदे वर्षा नभएपछि यहाँका किसानहरू यो वर्ष हिउँदे बालीको उत्पादनमा कमी आउने अनुमान गरिरहेका छन् । हिउँदे बाली लगाउने समयदेखि पानी नपर्दा खेतमा लगाइएको बाली सुकिरहेको बारेकोट गाउँपालिका –०१ का रमेश घर्तीले बताए । ‘आकाशे झरी नहुँदा बीउ छरेका खेतमा बाली सप्रेको छैन,’ घर्तीले भने, ‘कात्तिकमा हिउँदे बाली छरेको थिए । अहिलेसम्म बाली फस्टाएको छैन ।’ यहाँका किसानहरू हिउँदे खेतीमा गहुँ, जौ, उवा, केराउ मसुरो लगायतका बाली लगाउने गर्छन ।
कुशे गाउँपालिका–२ का रामबहादुर सिंहका अनुसार मंसिर सुरुमा वर्षा हुनुपर्ने हो । अहिलेसम्म पानी परेको छैन । हिउँदे बालीको बीउ छरेको १५÷२० दिनभित्रमा पानी परेर सुरुदेखि बाली राम्रो देखिन्छ । उनले पौषसम्म पानी नपरे हिउँदे खेती बिग्रने सम्भावना हुने बताए । पुस अन्तिमसम्म पानी परेको छैन । प्राकृतिक वर्षाको भरमा खेती गर्नुपर्ने अवस्था रहेकोले हिउँदे बालीको उब्जनी खासै नहुने उनको भनाइ छ । ‘हाम्रो ठाउँमा पिउने पानीको समस्या हुने भएकाले खेतीलाई सिँचाइको व्यवस्थाको कुरा परको हो,’ उनले भने, ‘समयमा पानी परे हिउँदे खेती ठिकै हुन्छ ।’
हिउँदे बालीको अन्नले यहाँका किसानहरू दुईदेखि ६ महिनासम्म खाद्यान्नको व्यवस्था हुन्छ । पानीका कारण हिउँदे सिजनमा यहाँका किसानहरूले बढीजसो जमिन बाँझो राख्ने गरेका छन् । लामो समयसम्म पानी नपर्दा जिल्लाका विभिन्न ठाउँहरूमा गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ ।
जिल्लामा १० हजार ४४० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकोमा ७ हजार ९ सय २० हेक्टर जमिनमा मात्रै मात्रै सिँचाइको सुविधा रहेको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले जानकारी दिए । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् ।
छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेको किसान हर्कबहादुर बस्नेतले बताए । जिल्लाको अन्य क्षेत्रमा समेत हिउँदे बाली सुक्न थालेको किसानहरूले बताएका छन् । कतिपय ठाउँमा सिँचाइका लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या रहेको किसानहरूको गुनासो छ ।
खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् । वर्षे बालीमा समेत वन्यजन्तुले क्षति गरेका कारण खासै उत्पादन भएको छैन । हिउँदे बाली खडेरीले सुक्न थालेपछि चिन्तित भएका जाजरकोटका किसानले सिँचाइका लागि स्थानीय सरकाले व्यवस्था गर्न नसकेको गुनासो गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय जाजरकोटका अनुसार जिल्लामा गत वर्ष १६ हजार ७ सय ४ मेक्ट्रिक टन गहुँ उत्पादन भएकामा यो वर्ष भने समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान छ । जिल्लाको खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था छैन । पहाडी तथा जंगल नजिकका क्षेत्रमा जंगली जनावरका कारण बाली राम्रोसंँग उत्पादन नहुने जनाईएको छ ।
। २४ पुष २०७९, आईतवार