काठमाडौं : पछिल्लो समय विभिन्न विषयको प्रश्नपत्र बनाउँदा गम्भीर त्रुटि भएको पाइएको छ। त्रुटि भएको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाले कक्षा-७ को नेपाली विषयको परीक्षा नै रद्द गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले प्रश्नपत्रमा त्रुटि भएको खबर पाएपछि नगरपालिकाको शिक्षा शाखाका उपसचिव देवेन्द्रबहादुर मल्ललाई यसबारे बुझ्न भनेको बताए।
‘म अहिले बाहिर छु, प्रश्नपत्र निर्माणमा त्रुटी भयो भन्ने जानकारी पाएपछि के हो भनेर बुझ्न मैले उहाँलाई भनेको थिएँ। त्यहाँ गएपछि किन यस्ताे भयाे भन्नेबारे बुझ्छु,’ उनले भने। नगरपालिकाले प्रश्नपत्र निर्माणमा संवेदनशील हुन शिक्षकहरूलाई आग्रह गरेको छ।
‘शैक्षिक सत्र २०७९ सालको अर्धवार्षिक परीक्षा पुस १२ गते भएको कक्षा-७ को नेपाली विषयको प्रश्नपत्र निर्माण गर्दा गम्भीर त्रुटी भएको पाइएको हुनाले उक्त विषयको परीक्षा रद्द गरिएको र सबै सामुदायिक तथा धार्मिक विद्यालयहरूले विशिष्टीकरण तालिकाअनुसार प्रश्न निर्माण गरी अनुकूल समयमा परीक्षा सञ्चालन गर्न जानकारी गराइन्छ,’ बुधबार जारी सूचनामा भनिएको छ।
त्यस्तै, रूकुम पूर्वको आधारभूत विद्यालय सिमचौरमा पनि कक्षा-५ को सामाजिक विषयको परीक्षाको प्रश्नपत्रमा त्रुटी भएको पाइएको छ। प्रश्नमा खाली ठाउँ भर्नुहाेस् भनिएकोमा खाली ठाउँ नदिई सगरमाथा आरोहण गर्ने प्रथम महिला को हुन् भनेर प्रश्नवाचक चिह्न दिएको छ।
। १३ पुष २०७९, बुधबार