नेपाल टी-२० लिग : लुम्बिनीको लगातार तेस्रो जित‚ पोखरा ३ विकेटले पराजित

काठमाडौं : राजधानीमा भइरहेको नेपाल टी-२० क्रिकेट लिगमा आज भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो।

पोखराले दिएको १३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीको जितमा कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। साडले भान स्काल्कविकले अविजित ३१ रन बनाए। उन्मुक्त चन्दले २२, अनिल शाहले १९ तथा गुल्शन झाले १० रन जोडे।

बलिङतर्फ पोखराका विपीन खत्री र कुशल मल्लले २/२ विकेट लिए भने प्रतिश जिसी, अभिमन्यु मिथुन र जाहिर खानले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो।

पोखराका लागि कुशल मल्लले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ३१ बल खेलेर ५ छक्का र ५ चौका हान्दै ६१ रन बनाए। उपुल थरङ्गाले ४२ रन हाने भने विपीन खत्रीले ९ र आशिफ शेखले ६ रन जोडे।

बलिङतर्फ लुम्बिनीका साडले भान स्काल्कविकले ३ विकेट लिए भने किशोर महतो र गुल्सन झाले २/२ विकेट लिए। हरमित सिंह र सागर ढकालले १/१ विकेट लिए।

आजको जितसँगै लुम्बिनीको प्रतियोगितामा तेस्रो जित हो। लुम्बिनीले ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्षमा उक्लिएको छ।

३ खेल नै खेलेको पोखरा सबै खेलमा पराजय भोग्दै अंक तालिकाको पुछारमा छ। लिगमा ६ टोली सहभागी छन्।

लिग विजेताले ५५ लाख रूपैयाँ नगद र उपविजेताले ३० लाख रूपैयाँ नगद पुरस्कार पाउनेछन्। तेस्रो हुनेले १० लाख र चौथोले ५ लाख नगद पाउनेछन्।

तपाईको प्रतिक्रिया