५४ जातका रैथाने बालीहरु जीन बैकमा संरक्षण


जाजरकाेट । जिल्लाका ५४ जातका रैथाने बालीहरु राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) मा संरक्षण गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले जाजरकोट जिल्लाबाट संकलन गरेका १५४ जातका रैथाने बालीहरु मध्ये ५४ जातका रैथाने बालीलाई राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) मा संरक्षण गरिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषदले शिवालय, कुशे र बारेकोट गाउँपालिकामा २०७८ सालको फागुन महिनामा १४४ जातका रैथाने बालीहरु संकलन गरेको थियो । संकलन गरिएका १४४ रैथाने जातका बालीहरु राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रको प्रयोगशालामा परीक्षण गरी बीउको मात्रा पुगेका, उमारशक्तिको मापदण्ड पुगेका ५४ रैथाने जातका बालीहरु केन्द्रमा संरक्षण गरिएको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र खुमलटारले जनाएको छ । जाजरकोट जिल्लाबाट संकलन गरिएका अन्य बाँकी ९० जातका रैथाने बालीलाई दर्ता गरेर संरक्षण गरिने राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र खुमलटारले बताएको छ ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रमा संरक्षण गरिएका ५४ जातका रैथाने बालीहरु मध्ये ११ जातको धान, ५ जातको गहुँ, ३ जातको जौं, ५ जातको भट्टमास, १ जातको कला, ४ जातको सिमी, ५ जातको गेडाजन्य दाल, १ जातको फर्सी, २ जातको काँक्रा, ५ जातको कोदो, ४ जातको तोरी, १ जातको भाजी, १ जातको तिल, १ जातको तिर्कुलो, २ जातको माटे, १ जातको कागुनो र २ जातको बदम रहेका छन् ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रमा संरक्षण गरिएका ५४ जातका रैथाने बालीहरुलाई सुचीकृत गराउन कृषि विकास कार्यालयले पहल गरिरहेको कृषि विकास कार्यालयका प्रमुख रविन धितालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया