जाजरकोटमा मह उत्पादन घट्यो,किसान चिन्तित


जाजरकोट । जाजरकोटमा ८५ प्रतिशतले मह उत्पादन घटेको छ । बेमौसमी बर्षाका कारण यसबर्ष मह उत्पादनमा ८५ प्रतिशत भन्दा बढि घटेको कृषि विकास कार्यालय, जाजरकोटले जनाएको छ ।

कृषि विकास कार्यालयका सुचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारी अनुसार प्रतिबर्ष ३५ मेट्रीटन मह उत्पादन हुदै आएको जाजरकोटमा यस बर्ष ५ मेट्रीटन तथा ५० क्वीन्टल मात्र मह उत्पादन भएको छ । गत बर्षको तुलनामा ८५.७२ प्रतिशत उत्पादन घटेको सुचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

मह उत्पादनबाट बार्षिक १० लाख भन्दा बढि आम्दानी गर्दै आएका नलगाड नगरपालिकाको पाली, कल्पत, भेरी नगरपालिकाको मैदे, पिपेका किसानहरुले यस बर्ष मह उत्पादनबाट आम्दानी गर्न सकेनन् ।

नलगाड नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५, भेरी नगरपालिकाको वडा नं. १ र २, कुशे गाउँपालिकाको वडा नं. ५ मा आब २०७६÷०७७ बाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मौरी जोन संचालनमा रहेको छ । परियोजनाले मौरी पालन व्यवसायलाई बिशिष्टीकरण गरेर मौरी जोन संचालनमा ल्याएको थियो । परम्परागत मौरी पालन व्यवसायलाई आधुनिकिकरण गर्नुको साथै मौरी पालन व्यवसायमा रहेका साना तथा मझौला किसानहरुलाई प्रविधिमैत्री बनाउने परियोजनाको मुख्य उदेश्य रहेको थियो । साना बितरणमुखी अनुदान दिएर मौरी जोनबाट प्रतिफल निकाल्न नसकिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, जाजरकोट निमित्त प्रमुख दिपेन्द्र पोखरेलले स्वीकार गरे ।

मौरी पालन व्यवसाय प्रवद्र्धन गर्न प्रधानमन्त्री कृषि आधनिकीकरण परियोजनाबाट मात्र नभएर कृषि विकास कार्यालयबाट थुप्रै अनुदानहरु वितरण गरिएको छ । नलगाड नगरपालिका–२ छेप्कामा रहेको ज्वाला साना किसान सहकारी लिमिटेडले कृषि विकास कार्यालयको ५० लाखको अनुदानमा मह प्रशोधन मेशिन जडान गरेको छ तर, मेशिन संचालनमा आउन सकेको छैन । उक्त सहकारीले मेशिन जडान गरेको ४ बर्षभन्दा बढि भईसकेको छ ।

थ्री फेस विद्युत प्रसाण लाईन नभएकोले उक्त मेशिन संचालनमा आउन नसकेको सहकारी संचालक समितिले जनाएको छ । त्यसैगरी २०७६ सालमा मौरी स्रोत केन्द्र स्थापना गर्न कृषि विकास कार्यालयबाट ३५ लाख अनुदान लिएको बारेकोट गाउँपालिका–५ स्थित प्रकृति फलफुल कृषक समुहले हालसम्म अपेक्षाकृत प्रतिफल देखाउन नसकेको कार्यालयले जनाएको छ ।

नलगाड नगरपालिका–५ स्थित पञ्चासे बहुँउदेश्य सहकारी संस्था लिमिटेडले पनि मौरी स्रोत केन्द्र स्थापना गर्न कृषि विकास कार्यालयबाट ३५ लाख अनुदान लिएको कार्यालयले जनाएको छ । उक्त बजेट कार्यान्वयनकै चरणमा रहेको हुनाले प्रतिफलका बिषयमा यस सहाकारीलाई अहिले नै टिप्पनी गरिहाल्नु पर्ने अबस्था नरहेको सुचना अधिकारी विश्वकर्माले बताए ।

कृषि विकास कार्यालयले यस बर्ष निकालेको तथ्याङ्क अनुसार जिल्लामा परम्परागत ४ हजार २२७ मुढेघार, २ हजार २१ आधुनिक र १ हजार ८४ खोपेगरी जम्मा ७ हजार ३३२ घार मौरी रहेका छन् । सबै मौरी सेरेना जातको रहेको छ । कार्यालयले निकालेको तीन बर्षको तथ्याङ्कलाई हेर्दा आब २०७७÷०७८ मा ३४ मेट्रीटन मह उत्पादन भएको थियो भने, आब २०७८/०७९ मा ३५ मेट्रीटन मह उत्पादन भएको थियो । यस बर्ष जिल्लाभरी ५० क्वीन्टल मात्र मह उत्पादन भएको कार्यालयले जनाएको छ ।

मौरीपालक किसानहरु चिउरीको चरणमा मात्र निर्भर हुनु, चिउरी फुल्ने समयमा बेमौषमी बर्षा हुनुले मह उत्पादनमा ह्रास आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई प्रमुख पोखरेलले बताए । किसानहरुले मौरी गोला तथा घारको समयमै रेखदेख, उचित दाना तथा चारोको व्यवस्था नगर्नु, चिउरीको चरणको विकल्पमा तोरी लगाएतका पुष्प रस भएको बाली प्रवद्र्धनक नगर्नुले पनि मह उत्पादन घटेको प्रमुख पोखरेलको भनाई रहेको छ । परियोजनाले आगामी कार्ययोजनामा चिउरीको विकल्पमा पैयु रोपन गर्ने, तोरी खेती लगाएतको चरण क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताएको छ ।

विगत बर्षहरुमा प्रतिकिलो ६०० मा विक्री गर्दै आएका किसानहरुको घरमा यस बर्ष प्रतिकिलो १ हजार ४०० मुल्य हाल्दा पनि मह पाउन सकिने अबस्था नरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया