प्रतिनिधि सभामा निर्वाचित सदस्यको विवरण प्रधानमन्त्रीसमक्ष पेश


काठमाडौं,। निर्वाचन आयोगले प्रतिनिधि सभाका निर्वाचित सदस्यहरूको विवरण प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेस गरेको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री देउवासमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रमुख आयुक्त थपलियाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गर्नुभयो ।

यसअघि, प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसमक्ष सो विवरण पेस गर्नुभएको थियो ।

बिहीबार बिहान राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले राष्ट्रपति समक्ष सो प्रतिवेदन पेस गर्नुभएको थियो । यसैगरी, देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिबार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेस गर्ने आयोगको कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया