नगरको गाडी ६ महिनादेखि बाटैमा बेवारिसे

कालीकोट। जिल्लाको रास्कोट नगरपालिकाले आफ्नो सवारी साधन ६ महिनादेखि बेवारिसे छाडेको छ । नगरपालिकाको बा १ झ ६४२२ नम्बरको सरकारी प्लेटको गाडी खाँडाचक्र नगरपालिका २ को झाम्ला मोडमा अलपत्र छाडिएको छ । नगरपालिकाले आफ्नो सम्पत्तिको सुरक्षा नगर्दा गाडीका सिसासहित सामग्री हराएका छन् ।

सुर्खेत जुम्ला सडक खण्डको सेरीघाटको एक मोडमा ६ महिनादेखि गाडी अलपत्र छोडेपछि गाडीका अन्य पार्टपुर्जा खिया लागेर काम नलाग्ने भएका छन् । गत वैशाख ३० को स्थानीय निर्वाचनपछि आएको नयाँ सरकारका प्रमुखले सो गाडी प्रयोगमा ल्याउनुभएको थियो ।

जेठको पहिलो साता सुर्खेतबाट आउँदैगर्दा गाडी झाम्ला मोडमा बिग्रेपछि आजसम्म त्यही थन्काइएको छ । यसभन्दा अगाडि पनि गोरखापत्रले रास्कोट नगरपालिका लगायत स्थानीय तहले खरिद गरेका गाडी, मोटरसाइकल र एम्बुलेन्स अलपत्र पारेको समाचार प्रकाशन भएको थियो ।

समाचारलगतै नगरपालिकाले गाडी मर्मत गरेर प्रयोगमा ल्याउने जनाए पनि ६ महिना पूरा भएर सात महिना लाग्दा समेत सो गाडी मर्मत नभएर सोही ठाउँमा छाडिएको छ । सरकारी गाडी अलपत्र त्यो पनि सडक किनारमा हुँदा गाडीका ऐना, बस्ने सिट, गाडीका पट्टा सबै हराइसकेका छन् ।

नगरपालिका प्रमुख चढ्ने अर्को गाडी भएकाले उक्त गाडीका बारेमा कुनै चासो नदिएको स्थानीयको भनाइ छ ।
नगरपालिका प्रमुख चढ्ने अर्को गाडी भएकाले उक्त गाडीका बारेमा कुनै चासो नदिएको स्थानीयको भनाइ छ । रास्कोट नगरपालिकाका एक स्थानीयले सो गाडी सुर्खेतबाट आउँदा नगरपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीले एक्लै ल्याएको र बिचैमा बिग्रेकाले अहिलेसम्म खोजी नभएको बताउनुभयो ।

गाडी मर्मत गर्ने विषयमा रास्कोट नगरका जिन्सी शाखा प्रमुख अरुण रोकाले गाडीको आयु दश वर्षभन्दा बढी भइसकेको, नवीकरण समेत नभएको र पुरानो गाडी भएकाले नबनाइएको बताउनुभयो ।

सो गाडी पशु चिकित्सा विभागले नगरपालिकालाई सञ्चालन गर्न हस्तान्तरण गरेको थियो । केही महिना गाडी सञ्चालनमा आयो । गत जेठमा पनि मर्मत गरेर सुर्खेतबाट कालीकोटसम्म आउजाउ गरिरहेको थियो ।

तपाईको प्रतिक्रिया