१५ माग राख्दै प्रधानमन्त्री देउवालाई १५ किलोको माला!

बिहीबार धनगढीमा महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ वटा माग राख्दै कैलाली उद्योग वाणिज्य संघले १५ किलोको माला लगाइदियो।

२०६३ सालमा महोत्सव सुरू हुँदै गर्दा देउवालाई नै सुदूरपश्चिमका सवालमा २१ वटा माग राखेर २१ किलोकै माला लगाइएको थियो।

यो १६ वर्षको अवधिमा जम्मा ६ वटामात्रै माग पूरा भएको कैलाली उद्योग वाणिज्य संघको भनाइ छ।

१६ वर्षअघि धनगढी विमानस्थल कालोपत्रे गर्ने मुख्य लक्ष्य लिएर कैलाली महोत्सव-२०६३ को आयोजना गरिएको थियो। त्यसबेला प्रति टिकटको एक रुपैयाँ यसका लागि छुट्याइएको थियो।

सरकारले विमानस्थल कालोपत्रे गर्‍यो तर अहिलेसम्म यसको क्षेत्रीय रूपमा स्तरोन्नतिको विषय उठ्दै आए पनि काम भइसकेको छैन।

धनगढी विमानस्थल मात्र नभई संघले प्रदेशमा क्षेत्रीय पर्यटन केन्द्रको स्थापना गर्नुपर्ने माग पूरा हुन सकेको छैन।

२१ वटा माग पूरा गरिदिन भन्दै सुदूरपश्चिम महोत्सवकै मञ्चमा तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओली, बाबुराम भट्टराईलाई माला लगाइएको थियो।

यसै ठाउँबाट निर्वाचित लेखराज भट्ट, भीम रावल, नारदमुनि राना लगायतका नेताहरूलाई पनि मागहरूबारे घच्घच्याउँदै १७ देखि २१ किलोसम्मका माला लगाइएको हो।

सुदूरपश्चिम विश्व विद्यालय, दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि क्याम्पस, क्षेत्रीय पर्यटन केन्द्रको स्थापना, खप्तड–शुक्लाफाँटा–घोडाघाडीजस्ता पर्यटकीय क्षेत्रको संवर्द्धन, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज, जडीबुटी प्रशोधन केन्द्रसम्बन्धी माग राखेका थिए।

यस्तै, शित गृह, दुग्ध प्रशोधन, चिनी मिल, विश्वविद्यालय, सेती हाइड्रोपावर, गेटा विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग, सबै जिल्लाको पक्की सडक, सूचना प्रविधि, बहृमदेव सडक खण्ड, चिसापानीदेखि गड्डाचौकीसम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, मेडिकल कलेज, प्रदर्शनी स्थलसम्बन्धी माग राखेका थिए।

यस्तै, नेपाल टेलिभिजनको प्रसारण केन्द्र, सुदूरपश्चिम सांस्कृतिक संग्रहालय र क्षेत्रीय सभा/सम्मेलन गृह सञ्चालन लगायतका मागमध्ये केही मात्र पूरा भएका छन्।

वर्षौंदेखिका माग पुरा भए यस प्रदेशको आर्थिक स्तर वृद्धि र संमृद्धिको सुरूआत हुने संघका अध्यक्ष पुष्पराज कुँवरको भनाइ छ।

विश्वविद्यालय, क्षेत्रीय पर्यटन केन्द्र स्थापना, खप्तड शुक्लाफाँटा घोडाघाडीजस्ता पर्यटकीय क्षेत्रको संवर्द्धन, सबै जिल्लाको पक्की सडक, मेडिकल कलेज, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज लगायतका योजनामा काम भने अघि बढेका छन्।

तपाईको प्रतिक्रिया