प्रतिस्पर्धाका नाममा दलहरूले ५० वर्षमै वृद्धभत्ता दिन बेर छैन : थापा


काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दलहरुबीच वृद्धभत्ता दिन प्रतिस्पर्धा भइरहेको बताएका छन्।

सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्धभत्तालाई छिटो छिटो दिने निर्णय गरिहरेको भन्दै उनले दलहरुले अबका दिनमा ५० वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गर्नसक्ने बताए।

बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै महामन्त्री थापाले नयाँ प्रधानमन्त्रीले आगामी एक वर्षमा कसरी देशको अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ भन्ने बारेमा सोचेर मात्रै नेतृत्व लिनुपर्ने बताए।

उनले पछिल्लो समय स्थानीय तहमा समेत कसले धेरै पैसा बाँड्ने भन्ने प्रतिष्पर्धा भइरहेको बताए।

‘मलाई त अब प्रतिष्पर्धाको नाममा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् की जस्तो लागेको छ। प्रतिष्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ, म जस्तो नयाँ आउने प्रधानमन्त्रीले नेपालमा १ वर्ष भित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु?कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो।

थापाले भने, ‘भाष्य नै हामीले गलत बनाएका छौँ। माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ। स्थानीय सरकारमा पनि प्रतिष्पर्धा छ। कसले कति बाँड्ने भन्ने प्रतिष्पर्धा छ। हामीले इनोभेटिभ हुने ठाउँलाई बन्द गरिदियौँ।’

अर्को प्रसङ्गमा उनले निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको बताए।

दिगो आर्थिक विकासको लागि आर्थिक एजेण्डामा निजी क्षेत्रसँग सरकारको नाता नदीको दुई किनारा जस्तो भएको थापाले बताए। उनले अब बन्ने सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्रीले आँट गरेर नै निजी क्षेत्र र सरकारसँगको म्बन्धलाई सुदृढीकरण गर्न आवश्यक रहेका बताएका छन्।

महामन्त्री थापाले निजी क्षेत्र र सरकारबीच कसरी सहकार्य गर्ने भन्नेबारेमा खुला छलफल हुनु जरुरी रहेको बताए।

तपाईको प्रतिक्रिया