
काठमाडौं सुनसान सडक, कडा सुरक्षा व्यवस्था। देश निर्वाचनमय बनिरहेको छ।
सरकारले जारी गरेका परिचयपत्र बाहेकका सवारी साधनहरु सञ्चालन हुन नदिन ठाउँठाउँमा सुरक्षामर्कीहरु सडकमा बसेका छन्। उनीहरु सरकारले दिएको जिम्मेवारी पूरा गरिरहेका थिए भने मतदाताहरु आफूलाई मन परेको जनप्रतिनिधि चयन गर्न आतुर देखिन्थे।
बिहानको सात बज्दा नबज्दै मतदाताहरु आफ्नो केन्द्रमा मतदान गर्न तम्तयार भएर बसेका थिए।
बिहान ७ बजे पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा पुग्दा गेटमा सुरक्षाकर्मी तैनाथ थिए। उनीहरुले भोट खसाल्न आउने मतदाताहरुलाई चेकजाँच गरेर भित्र बस्न दिइरहेका देखिन्थे। मतदता आफूले चाहेको प्रतिनिधि छान्न आतुर थिए। देशको राजधानी रहेको काठमाडौंका युवा मतदाताहरु क्सलाई भोट हाल्ने, कसरी भोट हाल्ने विषयमा अलमलमा परेका रहेछन्।
पद्य कन्या क्याम्पसमा भेटिएका विनितमान तुलाधरले लौरोमा भोट हाले। १८ वर्ष पुगेका तुलाधरले आफूले पहिलोपटक मत खसालेको बताए। उनले भोट हाल्ने विषयमा खासै जानकारी नभएको बताए। बालेन शाहको कामले प्रभावित रहेका उनी दलमा खासै रुचि राख्दैनन्। तुलाधर बालेनले जस्तो काम गर्ने प्रतिनिधि चाहान्छन्। त्यही भएर उनले यसपटक लौरो चुनाव चिह्नमा भोट हाले।
‘पहिलोपटक भोट हालेको रमाइलो लाग्यो। मत खसाल्ने विषयमा मलाई जानकारी थिएन। मैले लौरोमा भोट हालें। बालेन जस्तो काम गर्ने व्यक्ति आवोस् भन्ने छ,’ उनी भन्छन्।
पद्य कन्या क्याम्पसमा भेटिएकी ८० वर्ष नाघेकी राजदेवी मानन्धरले अहिलेसम्म चारपटक भोट हालिन। हालसम्म आफूले भोट हालेका प्रतिनिधिले चुनाव नहारेको दाबी गर्ने राजदेवीले यसपटक विकास गर्ने प्रतिनिधि रोजिन्।
‘अहिलेसम्म चारपटक भोट हालें। मैले भोट हालेको व्यक्ति हारेको छैन,’ उनले भनिन्।
अनुप तुलाधरले आफ्नो क्षेत्रको विकास रोज्ने प्रतिनिधि रोजेँ। उनी भन्छन्, ‘विकास गर्ने उम्मेदवार रोजेको छु। उनले जित्नेमा ढुक्क छु।’
पद्यकन्या क्याम्पस मतदान केन्द्रमा भोट हाल्न पुगेकी ४९ वर्षीया मन्दिरा मानन्धर यसपटक युवालाई रोजेको बताउँछिन्।
‘मैले चारपटक भोट हालें। देशलाई विकास गरोस् भन्ने व्यक्ति चाहेका छौं। हामीले युवाहरु संसदमा आउनुपर्छ भन्ने चाहेका छौं,’ उनले भनिन्।
नवीन खनालले यसपटक घण्टीमा भोट हाले। अघिल्लोपटक निर्वाचित भएका जनप्रतिनिधिहरुले विकास गर्न नसेकोमा असन्तुष्ट रहेका उनले युवा प्रतिनिधि रोजेको बताए।
‘मैले यसपटक घण्टीमा भोट हालें। अघिल्लोपटक रुखमा भोट हाल्दै आएको थिएँ। अब युवा आउनुपर्छ भन्ने पक्षमा छु,’ उनले भने।
यस्तै, सोही मतदान क्याम्पसमा भेटिएकी मतदाता श्रीदेवी श्रेष्ठ पहिलो संविधानसभा निर्वाचनदेखि भोट खसालिरहेकी छन्। तर, उनी अहिलेसम्मका प्रतिनिधिले गरेको कामबाट सन्तुष्ट छैनन्।
‘यसपटक युवालाई मत दिएकी छु। इसअघिका निर्वाचित प्रतिनिधिले काम गरेनन्। अब आउने व्यक्तिले देश विकास गर्छन भन्ने लागेको छ,’ उनले भनिन्।
लौरो टेकेर मतदान स्थलबाट बाहिरिरहेका एक जना वृद्धले युवालाई मतदान गरे। उनी यसअघिका प्रतिनिधिहरुसँग सन्तुष्ट छैनन्। ‘हामीले युवा चाहेका छौं,’ उनले भने।
कतिपय वृद्धहरु लाइन लाग्नु परेकोमा असन्तुष्ट देखिए। २००४ सालमा जन्मिएकी लीलादेवी श्रेष्ठलाई संयमसेवकहरुले प्राथमिकतामा नराखेकोमा गुनासो थियो। एनले यसपटक युवालाई भोट दिएको बताइन्।
‘आफ्नो देशले केही पाउँछ कि भनेर नेता छानें। नयाँ युवाहरुलाई अवसर दिनुपर्छ। हामीहरु त बुढाबुढी भयौं तर, अब नयाँ युवालाई देश जिम्मा लगाउनुपर्छ,’ उनले भनिन्।
पुरानो थातथलो काभ्रे भएकी भगवती धिताललाई एमालेले गरेको केही काममा चित्त नबुझेको रहेछ। ७५ वर्ष लागेकी उनलाई केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको चित्त बुझेको रहेनछ।
‘एमालेलाई भोट हालें। मैले चारपटक एमालेलाई भोट हालें। एमालेले विकास गरेको हो। सडक बालबालिकालाई व्यवस्थापन गर्यो। दुई चार महिना मेलम्चीको पानी खाइयो। संविधानसभा विघटन नगरेको खान पाइन्थ्यो नि १ एउटाको रिस गर्यो भने आफ्नैको नाश हुन्छ। मेरो घरमा नासी पनाती छन् मैले तीनको रिस गरेर खान पाउँछु तरु,’ उनी भन्छिन्।
आफ्नै उमेर समूहका एमाले अध्यक्ष ओलीलाई सरकारमा पुगे पनि संसद् विघटन नगर्न उनको सुझाव छ। ७२ वर्ष लागेकी रत्नीदेवी श्रेष्ठ पनि अघिल्ला जनप्रतिनिधिको कामबाट सन्तुष्ट छैनन्।
रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भेटिएकी उनी संसदमा युवाहरु आउनुपर्ने बताउँछिन्।
मतदान गरेर उत्साहित देखिएका दिनेश भट्टराईले पाँच दलबाहेक अन्य उम्मेदवारलाई भोट हाले।
‘सक्षम प्रतिनिधि छानियो। पटकपटक ‘टेस्टेड’ भइसकेका, अरूलाई वृद्धभत्ता खुवाएर आफू वृद्धभत्ता लिन नचाहनेहरुलाई हामीले बहिस्कार गर्नुपर्छ। मेरो तर्फबाट वृद्ध नेतालाई बहिष्कार गरेँ। सक्षम युवालाई रोजें। मैले अघिल्लोपटक चुनाव जितेका र पाँच ठूला दल कसैले पनि पाएनन्,’ उनले भने।
रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भेटिएका ८४ वर्षको उमेरमा भोट हाल्न मतदानस्थल पुगेका किरण खरेल युवालाई मौका दिन चाहान्छन्।
‘देशको लागि इमान्दार, सक्षम प्रतिनिधि रोज्छु। अघिल्लो प्रतिनिधिले राम्रो काम गर्न सकेनन्,’ उनले भने।
वृद्ध अवस्थामा भोट हाल्न नपाएपछि।।।
आइतबार बिहान ९ बजे रत्न राज्य माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भेटिएका एक वृद्ध दम्पति निरास मुद्रामा देखिन्थें। आफूले चाहेका प्रतिनिधि छान्न पुगेका उनीहरु मतदाता नामावली नभएको जानकारी पाएपछि निरास बने। ८६ वर्षका नरहरी पोखरेल र ७७ वर्ष पुगेकी रुक्मिणा पोखरेल मत हाल्न नपाएपछि स्वयंसेवकहरुसँग वादविवाद गर्दै थिए।
उनीलाई स्वयंसेवकहरु सम्झाउन खोज्दै थिएः बुवा–आमा अर्को पाँच वर्षपछि यहीबाट भोट हाल्नुपर्छ हैरु नरहरीले जवाफ फर्काए– अबको पाँच वर्षमा माथि पुग्छु।
राष्ट्रिय परिचयपत्र, नागरिकता, वकिलको प्रमाणपत्र बोकेर मतदानस्थल पुगेका उनीहरुका दुई छोरा र चार छोरी छन्। ‘मेरा छोरा बुहारी स्पेशल पढेका छन्। एलएलएम नगरेका मेरा छोरी पनि छैनन्। मेरो आत्मा धमिलो भयो। अब मेरो अन्तिम थियो।
पाँच वर्षपछि ९१ वर्ष हुन्छु, बाँच्छु कि बाँच्दिनँ,’ उनले दुःखेसो पोखे। २०२७ सालको चैत २० गते सर्वोच्च अदालतबाट वकिलको प्रमाणपत्र लिएको दाबी गर्ने पोखरेलले आफूहरु अर्घाखाँचीबाट बसाईं सरेर काठमाडौं आएको बताए।
















































। ४ मंसिर २०७९, आईतवार