सल्यानमा आचारसंहिता उलंघन गर्ने मतदान अधिकृत सहित तीन जना कारबाहीमा


नविन पि.एम.
सल्यान । यहि मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि छनोटमा परेका तीन जना कर्मचारी कारबाहीमा परेका छन् । निर्वाचन आचारसंहिता उलङ्घन गर्ने एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित तीन जना कारबाहीमा परेका हुन् ।

निर्वाचन आचारसंहिता विपरीत काम गरेको भन्दै कारबाहीमा परेका बनगाड कुपिन्डे नगरपालिकाको कुपिण्डेश्वरी प्रावि मतदान केन्द्रका मतदान अधिकृत, बाग्चौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, अनन्तराज गौतम, कालिमा प्रावि कजेरीमा सहायक मतदान अधिकृतमा नियुक्त गरिएका शिक्षक दलबहादुर खड्का र नव सर्वसाधारण प्रावि रातामाटा (ख) दार्मामा परेका सहायक कर्मचारी चोपीलाल बस्नेत रहेको बताइएको छ ।

बनगाड कुपिन्डे नगरपालिकाको कुपिण्डेश्वरी प्रावि मतदान केन्द्रमा छनोटमा परेका अनन्तराम गौतमले आचारसंहिता विपरीत कर्मचारीको सरुवा गरेको र अन्यले निर्वाचन प्रचारप्रसारमा सहभागी भई आचारसंहिता विपरीत काम गरेको उजुरी परेपछि कारबाही गरिएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताउनुभयो ।

उक्त कारबाहिमा परेकाहरुलाई हटाएर अहिले अन्यलाई नियुक्त्ति दिएर मतदान केन्द्रमा पठाइएको छ । आचारसंहिता उलंघन गरेका १४ जना मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतलाई पनि स्पष्टीकरण सोधिएको जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया