प्रस्तुत छ, नेपाली काँग्रेसका नेता एवं प्रवक्ता डा. प्रकाशशरण महत र नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसँग गरेको कुराकानी ः

 

 

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतसँगको अन्तर्वार्ता

प्रश्नः प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार नभएको ठाउँमा गठबन्धनका उम्मेदवारहरूलाई सबैले भोट दिने अवस्था कस्तो छ? समानुपातिकमा मत हाल्ने कुरामा पनि मतदाता दोधारमा छन्, निर्वाचन परिचालनमा कसरी काम भइरहेको छ ?

उत्तरः यसै त हाम्रो ठुलो पार्टी, अरू पार्टीजस्तो उम्मेदवार खोजिखोजी ल्याएर उठाउनुपर्ने स्थिति होइन । त्यसमाथि गठबन्धन भएपछि यसै सिट कम हुने भयो । त्यसले गर्दा ती सम्पूर्ण महत्वकांक्षाहरुलाई सम्बोधन गरेर पार्टीको मत एकीकृत गर्ने कुरा आफैँमा पनि चुनौतीपूर्ण कुरा हो । गठबन्धनका औचित्यका कुराहरूलाई बुझाएर र आन्तरिक असन्तुष्टिहरूलाई पनि सम्बोधन गर्न हामीलाई केही समय लाग्यो । ती कुराहरू करिब–करिब सम्बोधन भएको अवस्था छ ।

१६५ प्रत्यक्ष निर्वाचन क्षेत्रको प्रतिनिधि सभातर्फमा ९१ ठाउँमा हामी लडेका छौँ । त्यस्तै प्रदेशसभामा पनि त्यही अनुपातको अवस्था छ । ६१ ठाउँमा हाम्रा उम्मेदवार छैनन् । निर्वाचन प्रक्रियामा सामान्यतया के हुने गर्थ्यो भने प्रत्यक्ष उम्मेदवारले नै त्यो मतदाताहरूलाई परिचालन गरेर मतदान केन्द्रमा पु¥याउँथ्यो । त्यहाँ उम्मेदवार नभएको हुनाले पार्टीले केन्द्रीय प्रतिनिधि खटाएको छ, त्यहाँको सम्पूर्ण पार्टी पङ्क्तिलाई परिचालन गर्न । किनकि समानुपातिकमा त रुखमै मतदान गर्ने हो । ४० प्रतिशत सिट समानुपातिकबाट चुनिन्छ । समानुपातिक सिट हाम्रो लागि कम महत्त्वपूर्ण होइन । त्यसो हुनाले हाम्रा मतदाताहरूलाई पूर्ण रूपले परिचालन गर्नको लागि त्यहाँ हाम्रो प्रत्यक्ष उम्मेदवार नभए पनि सम्पूर्ण पार्टी पङ्क्ति परिचालित हुनु आवश्यक छ । त्यसको लागि हामीले केन्द्रबाट पनि प्रतिनिधि पठाएर त्यसलाई परिचालन गर्ने प्रबन्ध मिलाएका छौँ ।

त्यहाँ अरू गठबन्धन दललाई समर्थन गरेका कारणले पनि उहाँहरूलाई पनि मत हाल्नु जरुरी छ, किनभने हामीले अन्य गठबन्धन दललाई मत हाल्यौँ भने न उहाँहरूले पनि हामीलाई समर्थन गरेको ठाउँमा उहाँहरूले रुख चिन्हमा मतदान गर्नुहुन्छ । यो त लिने पनि हो दिने पनि हो । पारस्परिक सहयोगबाट विन–विन अवस्था प्राप्त गर्ने हो । नेपाली काँग्रेस नि फाइदामा रहने र गठबन्धनमा रहेका अन्य दलहरू पनि परिणामको हिसाबले फाइदामा रहने । समग्रमा नेपाली काँग्रेसको नेतृत्व सु–स्पष्ट ढंगबाट विजय हासिल गर्ने अवस्था आउने हो । यो कुरालाई हामीले बुझाइरहेका छौँ । समग्र रूपमा केन्द्रबाट आह्वान गरेका छौँ । समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा रुखमै मतदान गर्ने हो । त्यसमा कुनै गठबन्धन छैन । प्रत्यक्ष तर्फमात्रै गठबन्धन हो । प्रत्यक्षतर्फमा जे सहमति भएको छ, नेतृत्व बीचमा, सहमति अनुसार हामीले एक–अर्कालाई मतदान गर्ने हो । यिनै कुराहरू बुझाइरहेका छौँ ।

प्रश्नः मतदाताले आफ्नो उम्मेदवार नभएको ठाउँमा भोट लिन, दिन गर्न गाह्रो छ, यसमा अझै पनि जोडबल पुगिरहेको छैन भन्ने रिपोर्टिङ छ . त्यस्तो ठाउँहरूमा नेतृत्वले के गरिरहेको छ ?

उत्तरः परिचालन कमिटी, प्रचार समितिले केन्द्रीय प्रतिनिधिहरूलाई हामीले खटाएका छौँ सम्बन्धित ठाउँमा । सम्बन्धित ठाउँको पार्टी संरचनाको मिटिङ राख्ने, अन्य दलहरूसँग पनि समन्वय गर्ने, हामीले सहयोग ग¥यौँ भने मात्रै उहाँहरूको पनि हामीले सहयोग पाउँछौँ । सहयोग लिनु र दिनु आवश्यक छ । त्यो भयो भने मात्रै परिणाम हाम्रो पक्षमा हुन्छ । उम्मेदवार ज्यादा हुनु मात्रै ठुलो कुरा होइन । परिणाम ज्यादा ल्याउनु चाहिँ महत्त्वपूर्ण कुरा हो । पार्टी निर्वाचनमा जाने भनेकै बहुमत ल्याएर सत्तामा जानको लागि हो ।

सत्तामा हामी किन जान्छौँ भने हाम्रो नीति, कार्यक्रम कार्यान्वयन गरेर जनता र देशको सेवा गर्नका लागि हो । यी कुराहरू हामीले बुझाइराखेका छौँ । यद्यपि आफ्नै पार्टीहरू मात्रै लड्दा खेरी पनि केही असहयोग, असन्तुष्टि हुने गरेको छ । गठबन्धनमा त झन् समस्या आउँछ । तर मलाई लाग्छ, मुल समस्या भनेको मतदान केन्द्रमा गइसकेपछि एकअर्कालाई भोट हाल्दैनन् भन्ने भन्दा पनि आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा मतदान केन्द्रमा मतदाताहरूलाई पु¥याउने चुनौतीपूर्ण काम हो । पार्टीको संयन्त्र लगाएर त्यो चुनौतीलाई सामना गर्छौँ भन्ने हामीलाई विश्वास छ । ल ठिक छ हाम्रो दलको उम्मेदवार छैन तर विपक्षी ओलीजीको नेतृत्वको उम्मेदवारलाई दिनुभन्दा या विभिन्न रूप, रंगमा त्यही प्रवृत्तिलाई सहयोग गर्ने, स्वतन्त्रका रङ्ग, अनेक रङ्ग, रूपमा प्रकट भएका छन् । प्रवृत्ति एउटै हो । तिनीहरूलाई दिनुभन्दा त हाम्रो पार्टीको सहयोगी गठबन्धनको उम्मेदवारहरूलाई दिनु हामी सबैको लागि कल्याण हुन्छ भन्ने कुरा बुझाउन गाह्रो हुन्न । खालि परिचालनको कोणबाट उम्मेदवारले वडा वडा पुगेर, परिचालित गरेर जुन जोड बल लगाउँछ नि, त्यसमा उम्मेदवार नहुँदा हाम्रो दलको नहुँदा हाम्रो दलको क्रियाशील नहुने, अन्य दलको उम्मेदवार नहुँदा अन्य दलको क्रियाशील नहुने खतरालाई हामीले महसुस गरेर त्यसको यथेष्ट प्रबन्ध, परिचालित गरेर मतदाताहरूलाई पु¥याउने सम्पूर्ण कोसिस हामीले गरिराखेका छौँ ।

प्रश्नः केही निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी कायम नै रह्यो, अहिले नेतृत्वले ति उम्मेदवारका विषयमा के सोचिरहेको छ ? कारबाहीले मात्रै केही नहुने भयो भोट काटिने भएपछि ?

उत्तरः यस्तो असन्तुष्टि, सीमित मात्रामा विद्रोह ग÷े÷ एक्लै हामी चुनाव लड्दा खेर पनि हुने गर्थ्यो । केही न केही मार्जिन हामीले हरेक चुनावमा व्यहोर्नुपर्छ । तथापि अहिले गठबन्धनका बाबजुद, धेरै ठाउँमा हाम्रो उम्मेदवार नहुनाको बाबजुद, जुन धेरै विद्रोह हुन्छ भन्ने मान्छेले अपेक्षा गरेका थिए त्यो भएन । अधिकांश ठाउँमा उहाँहरूले फिर्ता लिनुभयो । उहाँहरूलाई हामीले चित्त बुझाउन, व्यवस्थापन गर्न सफल भयौँ ।

बाँकी जुन ठाउँमा विद्रोह कायम रह्यो त्यहाँ कारबाहीको प्रक्रिया अगाडी बढेर निलम्बन, निष्कासन भइसकेको अवस्था छ । उनीहरू पार्टीमा नरहिसकेपछि पार्टीका समर्थक, शुभचिन्तक, मतदाताहरूले त्यही रूपमा उनीहरूले हेर्दैनन् ।

त्यसकारण उहाँहरूले क्षति गराउने सम्भावना अत्यन्त न्यून भएर जान्छ । कत्ति पनि हुँदैन भन्ने त कुरो भएन । केही थोरै त अवश्य पनि हुन्छ । अरू दलमा पनि त्यस्तो हुन्छ । त्यसको क्षतिपूर्ति बराबर नै हुन्छ । किनभने हाम्रो दलमा मात्रै त्यो खाले विद्रोहको अवस्था छैन । हरेक दलमा केही न केही असन्तुष्टि छ, त्यो सन्तुलन हुन्छ भन्ने हामीले सोचेका छौँ ।

प्रश्नः नेपाली काँग्रेसले यो निर्वाचनबाट कति सङ्ख्यामा विजय प्राप्त गर्छ ?

उत्तरः ठ्याक्कै सङ्ख्या भन्नुभन्दा पनि मङ्सिर ४ मा नेपाली जनताले आफ्नो अभिमत प्रकट गर्छन् । त्यसलाई सिधै अवमूल्यन गरेर यति नै हुन्छ, उति नै हुन्छ भनेर भन्नुभन्दा पनि म के भन्न चाहन्छु भने हाम्रो आङ्कलनमा, हामीले बुझेसम्म, जानेसम्म अधिकांश सिटमा विजय प्राप्त गर्छौ । गठबन्धन दलका उम्मेदवारहरूको पनि धेरै सङ्ख्यामा उहाँहरू निर्वाचित भएर आउनुहुन्छ । त्यही अनुपातमा प्रदेश सभामा पनि निर्वाचित भएर आउनुहुन्छ । हाम्रो समानुपातिकतर्फको मत घट्दैन । केही बढ्ला । यद्यपि उम्मेदवार नभएको ठाउँमा त्यो चुनौतीलाई हामी वैकल्पिक प्रबन्ध गरिराखेका छौँ । त्यो कम नहोस् भनेर, बढ्छ नै । समग्रमा हामी सु–स्पष्ट बहुमत प्रतिनिधि सभामा पनि ल्याउँछौँ, समानुपातिक र प्रत्यक्ष जोडेर र प्रदेश सभाहरूमा पनि सातवटै प्रदेशहरूमा हामी सु–स्पष्ट बहुमत ल्याउँछौँ ।

प्रश्नः सरकार गठबन्धनकै बन्छ भने प्रधानमन्त्री को हुन्छ भन्ने ठुलो चासो छ, तपाईंहरुको पार्टी सभापति नै हो कि ? गठबन्धन दलका अन्य शीर्ष नेताहरूले इच्छा व्यक्त गरेको सुनिन्छ, अझ पार्टी भित्रका केही युवा नेताले आफूलाई तयार गरेको समाचार आइरहेको छ, तपाईंहरुको बुझाइ र तयारी के हो ?

उत्तरः स्वाभाविक रूपमा गठबन्धनको नेतृत्व नेपाली काँग्रेसले गरेको छ । १६५ सिटमा ९१ सिट काँग्रेसले लडेको छ । बाँकी ४ दलले ७४ सिट लडेको छ । त्यसबाट नै नेतृत्वदायी भूमिका नेपाली काँग्रेसकै हो भन्ने स्वाभाविक नै छ । नेपाली काँग्रेसको स्वाभाविक नेतृत्व वर्तमान प्रधानमन्त्री र नेपाली काँग्रेस सभापति देउवाजी नै हुनुहुन्छ भन्ने पनि सु–स्पष्ट छ । किनकि अहिले देशले जोड्ने नेतृत्व खोजेको छ । पार्टीभित्र पनि सर्वसम्ममतिबाट, कसैलाई पनि चित्त नदुखाई निर्णय गरिरहनुभएको छ । चाहे गठबन्धनको निर्णय होस् । चाहे टिकट वितरण गर्ने निर्णय होस् । त्यति मात्रैले नपुगेर उहाँले अन्य दलहरूलाई पनि विश्वासमा लिएर कुनै गुनासो रहने ठाउँ दिनुभएको छैन । अहिलेको आवश्यकता पनि त्यो हो । धेरै कुरा मात्रै गर्ने नेतृत्वभन्दा खुरुखुरु काम गर्ने नेतृत्वको अहिले आवश्यकता छ ।

यद्यपि बजारमा अनेक खाले कुराहरू गरिन्छ । सामाजिक सञ्जालको जमानामा । त्यसलाई अन्यथा लिने कुरा छैन । तर वास्तविकता के हो भने यही नै हो । फेरि शेरबहादुरजीको स्वभाव के छ भने आफूलाई म हुँ भनेर नभनिरहने स्वभाव । सबैको विश्वास जितेर अगाडी बढ्ने स्वभाव । अस्ति प्रचण्डजीले नै भन्नुभयो नि कि नेतृत्वको समस्या नै छैन हाम्रो बीचमा । मेरो पनि इच्छा होला तर शेरबहादुरजीले यो कारणले यसो गरौँ भनेपछि मैले नाइँ गर्दिनँ । मैले पनि केही भने उहाँले पनि नाइँ नगर्नुहोला । त्यो किसिमको केमेस्ट्री र विश्वास अहिलेको यो गठबन्धनमा भएको हुनाले मलाई लाग्दछ, नेतृत्वको विषयमा समस्या छैन ।

औपचारिक रूपमा घोषणा गर्ने, नगर्ने भन्ने कुरो चाहिँ संसदीय व्यवस्थामा कहिले गरिन्छ पनि । कहिले नगरेर निर्वाचन पछि पनि हुने गर्दछ । खालि यसलाई औपचारिक रूपमा घोषणा हुने कि नहुने, गर्ने कि नगर्ने भन्ने कुरा मात्रै हो । तर स्वाभाविक नेतृत्व नेपाली काँग्रेसको । र स्वाभाविक नेपाली काँग्रेसको नेतृत्व शेरबहादुरजीको हो ।

प्रश्नः गगन थापा लगायतका नेताहरूले दिएको अभिव्यक्तिकै कुरा गरौँ, प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्ने कुरा होस् चाहे संसदीय दलमा म लड्छु भनेर बाहिर आएका कुराहरू, त्यस्ता कुराहरूले निर्वाचन अघि केही न केही महत्त्व राख्छन्, यो कुरालाई कसरी लिनुभएको छ ? की यी कुराहरू गौण हुन् पार्टीका लागि ?

उत्तरः मलाई लाग्दछ, अहिले हामी सबैले केन्द्रित हुनुपर्ने निर्वाचनमा हो । निर्वाचनमा केन्द्रित भएर निर्वाचित भएर आउने । आफू पनि निर्वाचित भएर आउने र ज्यादाभन्दा ज्यादा पार्टीका साथीहरूलाई निर्वाचित गराउने । हाम्रो पार्टीको नेतृत्व, पदाधिकारी जो आफूलाई पार्टीको नेता हुँ भन्नुहुन्छ, हामी सबैको कर्तव्य र जिम्मेवारी त्यो हुनुपर्दछ भन्ने मलाई लाग्छ । र कसलाई के हुन मन लागेको छ, पार्टी पहिला जित्नुप¥यो । गठबन्धनले जित्नुप¥यो । र पार्टीले जितेपछि पनि संसदीय दलबाट संसदीय दलको नेतृत्व चुनिन्छ । त्यहाँ हाम्रो कुनै एकाधिकारवादी, अधिनायकवादी, एउटा नेताले जे भन्छ त्यो हुने पार्टी त होइन । यसको विधान छ, व्यवस्था छ, संसदीय प्रक्रिया छ । त्यहाँ जो कोहीलाई पनि जसलाई म यो हुन चाहन्छु, म यसको नेतृत्वमा जान चाहन्छु भन्ने जसलाई लाग्छ उहाँले त्यहाँ उम्मेदवारी दिन पाइहाल्नु हुन्छ नि । त्यसकारण अहिले त्यसका बारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता ठान्दिनँ । त्यसले कुनै पार्टीको पक्षमा माहौल बन्ने र पार्टीको हित हुने मैले देख्दिनँ । त्यसकारण मैले के बुझ्न सकेको छैन भने यो कुरो भनिरहनुपर्ने आवश्यकता के कारणले परेको छ ? स्वयम् पार्टीको नेतृत्व गरिरहनुभएको पार्टीका सभापति अहिले प्रधानमन्त्री पनि हुनुहुन्छ । उहाँले भनिरहनुभएको छ । भनिसकेपछि अरूलाई होइन म हुन्छु, म हुन्छु भनिरहनुपर्ने आवश्यकता किन प¥यो त्यो मलाई थाहा छैन । तर पार्टीका समग्र कार्यकर्ता, शुभचिन्तक, समर्थक पङ्क्तिको ध्यान अहिले के छ भने कसरी बढीभन्दा बढी पार्टीको उम्मेदवारहरूलाई जिताउने, र गठबन्धनका उम्मेदवारहरूलाई जिताउने । र हाम्रो सु–स्पष्ट बहुमत ल्याएर उल्टो गतिमा देशलाई लाने, अहिलेसम्मको उपलब्धिहरूलाई कमजोर गर्ने प्रवृत्तिहरू विभिन्न रूप, रङ्गमा प्रकट भएको छन् । त्यो प्रवृत्तिलाई परास्त गर्ने । हाम्रो सम्पूर्ण ध्यान त त्यतातिर पो जाने हो । अहिले हामीले हाम्रो ध्यानलाई विकेन्द्रित गर्नुपर्ने र व्यक्तिगत रूपमा म यसको लायक हुँ, उसको लायक हुँ भन्नुपर्ने म देख्दिनँ ।

प्रश्नः समानुपातिकतर्फको मत बढाउनको लागि काँग्रेसले कहाँ–कहाँ, के – के गर्नुपर्छ र काँग्रेसजनले के–के गर्नुपर्छ ?

उत्तरः पहिलो कुरा त मैले प्रत्यक्ष उम्मेदवार साथीहरूलाई पनि भनेको छु, सबैको ध्यान आफूप्रति नै केन्द्रित हुन्छ । त्यो अस्वाभाविक पनि होइन । तर हरेक निर्वाचनमा आमसभा, कोणसभा, घरदैलो, भेटघाट, अन्तरक्रिया यी सबै ठाउँहरूमा प्रत्यक्षका उम्मेदवारहरूले दुई किसिमको निर्वाचन प्रणाली छ । एउटा प्रत्यक्ष बाट क्षेत्रबाट निर्वाचित हुने । अर्को देशभरिबाट प्रतिनिधि सभाको लागि पार्टीलाई आउने मतबाट निर्वाचित हुने । प्रदेश सभामा प्रदेशभरिको पार्टीलाई आएको मतबाट निर्वाचित हुने व्यवस्था छ । त्यसो हुनाले प्रत्यक्षमा पार्टीको तर्फबाट म उम्मेदवार भएको छु । मलाई मत दिनुहोस् । सँगसँगै समानुपातिकतर्फ देशभरि र प्रदेशभरि पार्टीले उम्मेदवार खडा गरेको छ । बढीभन्दा बढी उहाँहरूलाई जिताउनको लागि पार्टीको पक्षमा र नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाएर विजय गराउनको लागि आम मतदाताहरूलाई अनुरोध गर्ने काम उम्मेदवार साथीहरूले पनि गर्नुपर्छ । नयाँ मतदाताहरूलाई शिक्षा दिनु पनि जरुरी छ । समानुपातिकको लागि पनि जनताकै मत चाहिन्छ । जनताकै मतबाट चुनिने हो समानुपातिक उम्मेदवारहरू पनि । खालि फरक के हो भने प्रत्यक्षतर्फ, क्षेत्रगत जसले बढी मत ल्यायो त्यो निर्वाचित भएर जान्छ । समानुपातिकतर्फ प्रतिनिधि सभामा देशभरबाट जति ज्यादा पार्टीलाई मत आयो उति ज्यादा सङ्ख्यामा उम्मेदवारहरू निर्वाचित भएर जान्छन् । त्यस्तै गरेर प्रदेश सभामा पनि प्रदेशबाट जति धेरै मत आयो उति ज्यादा उम्मेदवार विजय भएर जान्छन् ।

 

नेकपा (एमाले) का नेता विष्णु रिमालसँगको अन्तर्वार्ता

प्रश्नः निर्वाचनमा नेकपा (एमाले) को अवस्था कस्तो छ? माहौल कस्तो छ देशभरको ?

उत्तरः अहिले हामी निर्वाचनको प्रचार तयारी र यसको उपलब्धिको लागि गरिरहेको कामको अन्तिम चरणमा पुगेका छौँ । देशभरिको माहौल हेर्दा एमालेको परिस्थिति राम्रो छ । राम्रोको अर्थ के हो भने विगतमा गठबन्धनले क्षति पु¥याउँछ र गठबन्धनका अगाडी एमालेले केही पनि गर्न सक्दैन भन्ने सत्यहरू नै अहिले आफैँ नै एमाले माथि गयो भन्नेमा पुगेका छन् । त्यो हिसाबले हेर्दा हाम्रो पार्टी पङ्क्तिमा मनोबल एकदम बढेर गएको छ ।

धरातलीय यथार्थ पनि के छ भने गठबन्धनका मानिसहरूले आफ्नो जित्नुपर्ने कारणको न्यायोचित जवाफ दिन सकिरहेका छैनन् । जनताहरूले सोधिरहेका छन्, अब तपाईंको नेता को हो ? गन्तव्य के हो ? विषय के हो ? उहाँहरूसँग त्यो एजेण्डा छैन । फरक–फरक पार्टी मिलेर गठबन्धन बनेको कारणले गर्दा उहाँहरूको फरक–फरक जवाफ छन् । कतिपय ठाउँमा ठिक जवाफ दिँदा गठबन्धनमा दरार आउने भएकाले उहाँहरू जवाफ दिनसक्ने तहमा हुनुहुन्न । त्यो स्थितिले हामीलाई लाभ पनि भएको छ । किनभने एमालेले आफ्नो नेता अगाडी सारेको छ । एमालेले एजेण्डा सारेको छ । अझ सरल भाषामा त हामीले पाँच वर्ष एमालेले गर्छ भनेर २० वटा ग्यारेन्टी नै अगाडी सारेका छौँ । जुन हाम्रो घोषणापत्रको संक्षेपीकरण जस्तै नै हो । त्यो हिसाबले सारमा भन्दा अहिले हामी अगाडी छौँ । र अगाडी बढी नै रहेका छौँ । यदि बाहिर कसैले सर्वेक्षणकै कुरा गरेर जाने हो भने पनि अहिले गठबन्धनमा रहेको शक्तिहरूको पारो ओरालो लाग्ने र एमालेको पारो उकालो लाग्ने यो हिसाबले गइरहेको मैले देख्छु ।

प्रश्नः हामीले विभिन्न विश्लेषणहरू सुनेका छौँ, एमाले कतै पछि पर्दै त छैन ? बाहिर आएको तथ्याङ्कलाई लिएर तपाईंहरुको विश्लेषण के हो ?

उत्तरः पहिलो कुरा त यो तथ्याङ्क आफैँमा नक्कली छ । किनभने सर्वेक्षण गर्नै पाइँदैन । सर्वेक्षण गर्ने भरपर्दा संस्थाहरूले पनि सर्वेक्षण गरेका भए पनि उनीहरूले आफ्नो सर्वेक्षणको प्रतिवेदन बाहिर ल्याउन पाउँदैनन् । सेयर गर्न नि पाउँदैनन् । अब सरकारका संयन्त्रले गरेका कुनै त्यस्तो सूचना छन् भने पनि ती संस्थाहरूले बाहिर ल्याउन पाउँदैनन् ।

गृहमन्त्री स्वयंलेसमेत राष्ट्रिय अनुसन्धानको सर्वेक्षण भनी नक्कली अङ्कहरू बाहिर ल्याएको मैले सुनेको छु । मेरो आफ्नो बुझाइमा मैले सत्तामा रहँदाखेरी, सरकारमा रहँदा भएका कामको अनुभवको आधारमा त्यस्ता संस्थाका कुनै पनि सूचना सेयरिङ हुँदैन । बाहिर सर्कुलर गर्न पनि पाइने होइन । त्यो त आचारसंहिताको कुरो पनि थियो । मलाइ के लाग्छ भने गठबन्धनका साथीहरू पराजयको मानसिकताबाट आत्तिनुभएको छ । विभिन्न ठाउँमा हिंसा पनि बढिरहेको छ । केही मानिसहरू घाइते भइरहेका छन् विगत केही दिनदेखि र आक्रमणमा उत्रिएको छ गठबन्धन । यसले स्वतः के बुझ्नुपर्छ हामीले भने यो पराजयको कारणले हताश मनस्थितिले आएको कुराहरू हुन् ।

त्यसकारणले जे तथ्य, तथ्याङ्कहरू बाहिर आइराखेका छन् ती मिथ्यांक मात्रै हुन् । म चुनौती नै दिन सक्छु गृहमन्त्रीजीलाई त्यस्तो छ भने त रिपोर्ट नै बाहिर ल्याए भयो नि त ।

प्रश्नः परिचालन र मतदाता शिक्षाको सम्बन्धमा एमाले पछाडि परेको भन्ने समाचारहरू आइराखेको छ, यसलाई कसरी व्यवस्थित गरिरहनुभएको छ ? पार्टी कमिटीहरू कसरी परिचालित भइरहेका छन् ?

उत्तरः प्रचार, परिचालनको हिसाबले एमाले पछाडि छैन । किनभने अहिले पहिलेको भन्दा पृथक् प्रचार छ । अहिले हामी पोस्टर टाँस्न पाउँदैनौँ । जुलुस निकाल्न पाउँदैनौँ । घरदैलोमा पनि सीमित सङ्ख्यामा मात्रै जानुपर्छ । २५ को सङ्ख्या तोकेको छ । १० वटाभन्दा बढी झण्डा बोक्न पाइँदैन । यो आचारसंहिताको कारणले गर्दा खेरी पहिलेको जस्तो ठुलो सङ्ख्यामा जाने रौनक चाहिँ देखिँदैन । पहिलाको भौतिक उपस्थितिमा गरिने प्रचार भएन कि भन्ने लाग्नु स्वाभाविक नै हो । हामीले आमसभाको माध्यम चाहिँ तोकिएको ठाउँमा मात्रै जुन कमिटीहरूले आवश्यक ठान्नुभएको छ, त्यो ठाउँमा मात्रै गरेका छौँ । जहाँ अध्यक्ष पुग्न सक्नुभएन र उहाँहरूलाई ठुलो सभा गर्न मन लाग्यो त्यो ठाउँमा मात्रै हामीले ४० ठाउँ छानेका थियौँ त्यसमध्ये निश्चित ठाउँमा अहिले अध्यक्ष गइरहनुभएको छ । त्यसकारणले जहाँ जहाँ अध्यक्ष जानुभयो जनसागर उर्लिएको नै हामी पाउँछौँ । त्यो हिसाबले राम्रै देखिन्छ ।

बढी हामीले सामाजिक सञ्जाल प्रयोग गरेका छौँ । र वैकल्पिक माध्यमहरू प्रयोग गरेका छौँ । केही अनलाइनमा विज्ञापन ग¥यौँ । फेसबुक इत्यादिमा बुस्ट गरेका छैनौँ । सामाजिक सञ्जालमा स्वतःस्फूर्त रूपमा लाखौँ व्यक्तिहरूको बीचमा एमालेको प्रचार यो आठ÷दश दिनमा व्यापक नै गइरहेको छ । मतदाताहरूले कसरी मत हाल्ने ? आफ्नो नम्बर कहाँ छ ? लिस्ट पाएको छ कि छैन घरमा ? हामी पहिले प्रत्येक मतदाताको नाम लेख्थ्यौँ र घरघरमा गएर तपाईंको यति नम्बरमा छ भन्थ्यौँ । अब तीन÷चार दिन बाँकी छ । ती दिनमा पूर्णता आउला । त्यसमा कमी भएको होला जस्तो लाग्छ मलाई । सबै भोटहरू जिरो बदरमा जाने गरी, सबै मत सदर, जिरो बदर भन्ने किसिमले जानुपर्ने स्थिति हुन्छ । त्यो हिसाबले हाम्रो कमिटीहरूलाई अगाडी बढ्नुस् भनेका छौँ ।

तर मुखमा झुन्डिएको छ साथीहरूलाई चार सूर्य चार छाप भन्ने शब्द प्रयोग गर्नुहुन्छ । त्यसले कहिलेकाहीँ गलत अर्थ लगाइदिन सक्छ । किनभने एउटा मतपत्रमा एउटा मात्र सूर्य छ अहिले । सूर्य नभएको मतपत्र कुनै पनि छैन । अधिकांशमा सूर्य नै सूर्य छन् । तर मतपत्र चार वटा फरक फरक छ । चार गते चार वटा फरक मतपत्र अनि प्रत्येकमा भएको सूर्यमा छाप लगाऊ भनेर एमालेले भन्ने हो भने त्यो ठिक हुन्थ्यो । पहिले सात सूर्य सात छाप भन्ने लयमा चार वटा मतपत्र हुने भएकाले चार सूर्य चार छाप भन्नुभएको छ । एउटै मतपत्रमा चार वटा सूर्य खोज्नुभयो र चार वटा छाप लगाइदिनुभयो भने बदर हुनसक्ने खतरा छ ।

यसमा भर्खर हामीले हाम्रो साथीहरूलाई सचेत गराउन खोजिरहेका छौँ । प्राविधिक खालका पक्षहरू र त्यसमा ध्यान दिनुपर्ने विषयमा हामीले भर्खर निर्देशित गरिरहेका छौँ । यो चुनावमा अर्को एउटा पनि निर्देश गर्नुपर्छ, भर्खर कानुन आएको छ । तल सर्कुलर पनि धेरै गइसकेको छैन । जस्तो कि समानुपातिक बाट उम्मेदवार बनाइएका व्यक्तिहरूको मतगणना प्रतिनिधि कसले छान्ने ? भन्ने कुरो नै धेरै स्पष्ट भएको छैन । त्यो कानुन पढ्नुभएको छैन मान्छेहरूले । हामीले आफ्नो पार्टीबाट आफ्नो पार्टी कमिटीमा सूचना पठाउँदै छौँ । अरूलाई पनि लागू हुन्छ यो, भन्दा बिग्रिदैन ।

प्रत्येक जिल्लाको प्रमुख अध्यक्ष वा सभापतिले त्यही क्षेत्रमा मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई छान्नुपर्छ । त्यो विधि नै छ । त्यसमा योग्यताहरू नै तोकेको छ । त्यो नहेरी फलानो जान्छ भने त्यो पनि बिग्रिन्छ । पछि मत गणनाको बेलामा झमेला हुन्छ । यी जस्ता कामहरू हामीले मतदातालाई सचेत बनाउने र त्यसमा निर्वाचनको माहौल नयाँ ढङ्गले लैजाने काम अझ गर्न बाँकी नै छ ।

प्रश्नः गठबन्धनले राज्यकोषको अथवा अन्य अवयवहरूको प्रयोग÷दुरुपयोगको विषयमा एमालेले चासो दिएको छ कि छैन ? कत्तिको चनाखो छ ?

उत्तरः हामी के कुरामा सचेत छौँ र हाम्रो पार्टी समर्थकलाई मात्रै होइन आम मतदातालाई के भनिरहेका छौँ भने अहिले गठबन्धन सबै खालको हतकण्डा प्रयोग गर्नपनि उद्यत रहनसक्छ । यसमा सतर्क रहनुस् भनेका छौँ । बिहानीले दिन बताउँछ भनेको जस्तै केही ठाउँमा भएका हिंसाले यो चुनाव हिंसारहित होला कि नहोला भन्ने शङ्का उत्पन्न भएको छ । हामीले यसमा सतर्क हुनुस् भनेका छौँ । स्रोत, साधनको दुरुपयोग गर्नुहुँदैन । सत्तामा रहने बढी सतर्क हुनुपर्छ । कि कानुन, आचारसंहिता नै बनाउनु हुँदैन, बनेको आचारसंहितालाई प्रभावकारी ढङ्गले पालना गर्नुपर्छ ।

उहाँहरूलाई बानी के परेको छ भने ७२ घण्टा मौन अवधि रहेको छ मनलाग्दी गर्ने । किनभने अरूलाई बाहिर निस्किन पाइँदैन, बन्द गरिदिने । आफूचाहिँ प्रहरीको गाडी चढेर सुरक्षा निकायहरूलाई दुरुपयोग गर्दै घरघरमा मतलाई प्रभावित गर्ने क्रियाकलाप गर्ने तहमा स्थानीय तहको चुनावमा पनि गर्नुभयो । त्यो गर्नुहोला भन्ने हामीलाई लागिरहेको छ । त्यसको लागि हामीले हाम्रो मतदाताहरूलाई सचेत गराइरहेका छौँ । हाम्रो बुथ कमिटीहरूलाई पनि यसमा ध्यान दिनुस् भनेका छौँ । यसमा हाम्रो ध्यान गएको छ । पर्याप्त त भइसकेको छैन होला ।

तपाईको प्रतिक्रिया