उम्मेदवार वायोग्राफीःह्याट्रिक गर्ने दाउमा शक्ति बस्नेत

यस्तो छ चुनावी अंकगणित

जाजरकोट । नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका शक्ति बहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षवाट राजनीति सुरु गरेका नेता हुन् । वि सं २०२८ साल वैशाख ०१ भेरी नगरपालिका– ०१ कालेगाउँमा उनको जन्म भएको हो ।
बुवा डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मेका हुन् शक्ति बहादुर बस्नेत । उनका तीन दाजुभाई रहेका छन् । उनकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी हुन भने, उनकी एक मात्र सन्तान छोरी संगम बस्नेत रहेकी छिन् । बस्नेतले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

राजनीतिक यात्रा
ग्रामीण वर्ग संघर्षलाई उठान गरेर सशस्त्र वर्ग संघर्षको माध्यमवाट नयाँ जनवादी राज्य सत्ता स्थापना प्राप्त गर्ने मार्ग दर्शनवाट अभिप्रेरित युवा शक्ति बहादुर वस्नेत २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकता केन्द्र (मशाल)मा आवद्ध भएका थिए ।
बस्नेत २०४८ सालमा तत्कालिन एकता केन्द्र (मशाल) राप्ती क्षेत्रिय समन्वय समिति सदस्यको जिम्मेवारीमा रहेर पार्टी कामको भुमिकालाई पुरा गर्दै आएका थिए भने २०४९ साल देखि पार्टी जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए ।

उनले २०५१ साल देखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पश्चिम क्षेत्रिय व्युरो सदस्यको जिम्मेवारीमा रहेर ग्रामिण वर्ग संघर्षको फिल्ड नेतृत्व गर्दै आएका थिए । यहि समयमा जिल्लाका सचेत युवाहरुको टिमले बर्ग संघर्षलाई संगठित गर्नका लागि ग्रामीण संघर्षलाई तिव्रता दिएको थियो । गाउँका सामन्तहरुको घर सेवोटेज गर्ने, जाली तमसुकहरु जलाउनुका साथै कयौं जनविरोधि फटाहहरुको बारीका मुला फाल्ने सम्मका गतिविधीहरुको कमाण्ड र निर्देशन गर्दै आएका बस्नेत २०५५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

२०५७ साल देखि पार्टी केन्द्रीय सदस्य जिम्मेवारीमा रहेका बस्नेतले भेरीकर्णाली क्षेत्रीय व्युरो ईन्चार्जको भुमिका निर्वाह गरे । २०५९ सालमा पार्टी पोलिटव्यूरो सदस्य भएका शक्तिले भेरी कर्णाली, थारुवान जस्ता क्षेत्रिय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गर्दै, ६१÷६२ को ढाँडमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ति सेना नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी भएका थिए । २०७१ सालमा पार्टीको स्थायी कमिटी सदस्य निर्वाचित भए । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन बाट बस्नेत उप महासचिवमा निर्वाचित भए । जाजरकोट बाट ठूला दलको उपमहासचिव पाउने पहिलो व्यक्ति हुन् । अन्य पार्टीका केन्द्रीय सदस्यहरु मात्रै छन् । पार्टी भित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहदै आएका छन् ।

तीन पटक मन्त्री
पहिलो संविधान सभाको निर्वाचन २०६४ बाट समानुपातिक सांसद बनेका बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर गणतन्त्र स्थापनापछिको जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफुलाई उभ्याएका थिए । २०७० सालमा भएको दोस्रो संविधान सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष निर्वाचित बस्नेत गृहमन्त्री बने । २०७२ मा भारतले गरेको अघोषित नाकाबन्दीमा उनले गृहमन्त्रीको रुपमा सफल काम गरेका थिए । देशको विषम् परिस्थितिमा देश र जनताको शान्ती सुरक्षामा खरो उत्रन उनलाई सजिलो थिएन । नाकाबन्दी जस्तो विषम समयमा बस्नेतले आफुलाई अडिग राखेर देशमा शान्ति र सुरक्षाका सवालमा कुनै सम्झौता हुन दिएनन् ।

एमाले संगको सहकार्यमा बनेको सरकारमा गृह मन्त्रालय सम्हालेको अबस्थामा उनको कार्यकालको चारैतिर बाट प्रशंसा भएको थियो । देशको समग्र सुरक्षा प्रशासनलाई नीतिगत सुधार गर्न,नाकाबन्दी र मधेश आन्दोलनको सहज व्यवस्थापन गर्न सफल भएका थिए । संघीयता कार्यान्वयन क्रममा भएको पहिलो निर्वाचन २०७४ मा ३२ हजार २८१ मतका साथ विजयी भए । त्यसपछि नेपाल सरकारको वन तथा वातावरण मन्त्री सम्हाले । शान्त ,शालिन तथा बौद्धिक नेताका रुपमा आफूलाई स्थापित गरेका वस्नेत विवादरहित समेत पर्दछन् ।

ह्याट्रिक गर्ने दाउमा शक्ति
२०७० सालमा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचन र संघीयता कार्यान्वयनको पहिलो निर्वाचन २०७४ मा भारी मतका साथ निर्वाचित बस्नेत आमामी मंसिर ०४ गते हुने निर्वाचनमा जित निकालेर ह्याट्रिक गर्ने दाउमा छन् । पहिलो संविधानसभामा जाजरकोटका दुवै क्षेत्र जितेको माओवादीले दोस्रोमा एउटा जित्यो, अर्को गुमायो । २०७४ मा एउटा मात्र क्षेत्र कायम भएपछि तेस्रो दलमा झरेको माओवादी जाजरकोटमा संकटमा देखिएको थियो, तर एमालेको बलमा माओवादीका शक्तिबहादुर बस्नेत सांसद चुनिए ।

यसपटक भने शक्ति कांग्रेसको भरमा छन् । अघिल्लो चुनावमा शक्तिसँग प्रतिस्पर्धा गरेका राजिवविक्रम शाह जाजरकोट प्रदेश सभा (ख) को उम्मेदवार बनेका छन् । अहिले सत्ता गठबन्धनको साझा उम्मेदवार शक्ति बस्नेत बनेका छन् । एमालेका निरज आचार्य, राप्रपाका दीपक खनाल, कांग्रेस बीपीका झलकनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की पनि चुनावी मैदानमा छन् । स्थानीय निर्वाचनका आधारमा हेर्दा शक्ति सहज अवस्थामा छन्, तर अरुसँगै स्वतन्त्र उम्मेदवार नरबहादुरले पाउने भोटले प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने निर्धारण गर्ने देखिन्छ ।
२०४८ देखि ०५६ को चुनावसम्म जाजरकोटमा कांग्रेस, एमाले र राप्रपाको चर्को प्रतिस्पर्धा थियो । ०४८ मा क्षेत्र नम्बर–१ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधान र २ मा एमालेका कृष्णबहादुर शाहीले जितेका थिए । २०५१ मध्यावधि निर्वाचनमा दुवै क्षेत्र कांग्रेसले जित्यो । क्षेत्र नम्बर–१ बाट झलकनाथ वाग्ले र २ बाट दीपकजंग शाह विजयी भए । माओवादी उम्मेदवार शक्ति बस्नेत तेस्रो पटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । प्रतिनिधिसभा सदस्यका लागि बस्नेतसँग प्रतिस्पर्धा गरिरहेका निरज र नरबहादुर दुवै २०७४ मा सहयोगी भूमिकामा थिए ।
२०५६ को आम निर्वाचनमा कांग्रेसले एउटै क्षेत्र जित्न सकेन ।

क्षेत्र नम्बर–१ बाट राप्रपाका गोविन्दविक्रम शाह र २ बाट एमालेका रत्नप्रसाद न्यौपाने विजयी भए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा माओवादीले जित्यो । क्षेत्र नम्बर–१ बाट कालीबहादुर मल्ल र २ बाट भक्तबहादुर शाह विजयी भए । २०७० को क्षेत्र नम्बर–१ बाट माओवादीका शक्तिबहादुर बस्नेत र २ बाट कांग्रेसका राजीवविक्रम शाह विजयी भएका थिए । ०७४ मा प्रतिनिधिसभा निर्वाचनको एउटै क्षेत्र हुँदा शक्ति ३२ हजार २८१ मतका साथ विजयी भए । कांग्रेसका राजिव विक्रम शाहले २३ हजार २८९ मत पाएका थिए ।

आर्थिक क्रान्तिका लागि मेरो उम्मेदवारी
सत्ता गठबन्धनका साझा उम्मेदवार शक्तिबहादुर बस्नेतले अव जाजरकोटको आर्थिक क्रान्तिका लागि आफुले उम्मेदवारी दिएको बताउने गरेका छन् । उनले भने, ‘म दुई पटक जाजरकोट बाट प्रत्यक्ष निर्वाचित भए, हामीले धेरै पूर्वाधार क्रान्ति गरेका छौं, अव आर्थिक क्रान्तिका लागि मेरो उम्मेदवारी हो ।’

सडक निर्माण, पूर्वाधार विकास, भौतिक संरचना निर्माणमा जाजरकोटमा ठूलो उपलब्धी भएको दावी गरे । अवको पाँच बर्षभित्र जाजरकोट जुम्ला जोड्ने सुरुङमार्ग निर्माण, नलगाड हाइड्रोपावरको काम सञ्चालन, जिल्लाभरी सडक कालोपत्रे, कृषि उत्पादन, सुशासन, छेडा जुनी सडकको कालोपत्रे, भेरी करिडोरको निर्माण, रारा राजमार्ग निर्माणको अभिभारा समेत गठबन्धनले बोकेको बताए ।

शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादनलाई जोडेर अव जाजरकोटमा आर्थिक क्रान्तिका लागि गठबन्धनलाई जिताउनुपर्ने समेत बताए । ‘मैले आज सम्म जति काम गरी ति सबै जाजरकोटी जनताका लागि थियो उनले भने, संविधान र लोकतन्त्रको रक्षा सँगै जाजरकोटमा आर्थिक क्रान्तिका लागि मैले यसपटक उम्मेदवारी दिएको हुँ ।’
स्थानीय चुनावको गणित
वाम गठबन्धनका कारण प्रत्यक्ष चुनाव हारे पनि समानुपातिकतर्फ कांग्रेस पहिलो शक्ति थियो । उसले २० हजार ४८६ मत पाउँदा एमालेले १७ हजार ६७१ र माओवादीले १३ हजार ५७१ मत पाएको छ । तर स्थानीय चुनावसम्म आइपुग्दा अवस्था फेरिएको छ । ३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारहरुले पाएको मतका आधार एमाले पहिलो दल बनेको छ ।

एमालेले २४ हजार ४ मत पाउँदा कांग्रेसको २२ हजार ३४२ र माओवादीको १८ हजार ६२२ मत छ । एकीकृत समाजवादीको २ हजार ३३४ मत देखिन्छ ।

तपाईको प्रतिक्रिया