सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते, ४ जना सिकिस्त


सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-१० रजेखोलाबाट थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर रजेखोलामा दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका-१० थापाचौरका १६ वर्षीय तिलक बुढा, १८ वर्षीय भुपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जिमबहादुर बुढा, १७ वर्षीय कुलवीर पुन, २१ वर्षीय झुपलाल घर्ती र २१ वर्षीय नन्दलाल घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

घाइते आठै जनालाई प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत पठाइएको उनको भनाई छ। घाइतेमध्ये तिलक बुढा, भुपाल बुढा, गोपाल पुन र सुमन पुनको अवस्था गम्भीर रहेको खनालको भनाई छ।

बालुवालोड गरी थापाचौर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर सडकदेखि झन्डै ५० मिटर तल खसेको छ। ट्याक्टरमा सवार ९ जनामध्ये एकजना भने सकुशल रहेका छन् । ट्याक्टरचालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया