जाजरकोटका मतदाता भन्छन्, ‘बाचा पूरा गर्दैनन् उम्मेदवार, फेरि उही नारा लिएर आउँछन्’

जाजरकोटका मतदाता भन्छन्- बाचा पूरा गर्दैनन् उम्मेदवार, फेरि उही नारा लिएर आउँछन्

जाजरकोट । जाजरकोट भेरी नगरपालिका २ की ७२ वर्षीय उज्जल शाहले खलंगा–पाँचकाटिया–जुम्ला मोटरबाटोको स्तरोन्नतीका बारे कुरा उठाउन थालेको ९ वर्ष भयो। उनले सो विषयमा कुरा उठाएको २०७० सालको चुनावको बेलादेखि हो ।

२०७४ सालको चुनावमा पनि त्यही माग गरेका उनले यसपटकको चुनावमा पनि भोट माग्न गएका उम्मेदवारसँग त्यही बाटोको माग गर्ने गरेका छन् । २०६५ सालमै ट्याक खुलेको त्यो बाटोमा अहिले पनि टयाक्टर, जीप र मोटरसाइकल मात्र मुस्किलले हिउँदमा मात्र चल्छन् ।

बाटोको स्तरोन्नति गरेर बस, ट्रकलगायतका ठूला यातायातका साधन चलेको हेर्ने उनको धोको अझै पूरा हुन सकेको छैन । उनी भोट माग्न गएका नेताप्रति यही आक्रोश र गुनासो पोख्छन् । बस र ट्रक चलेको भए भाडा सस्तो र मालसमान सस्तो भइ जनजीवन सहज हुन्थ्यो तर बाटोको स्तरोन्नति हुन नसक्दा स्थानीय महंगो भाडा तिर्न बाध्य भएको शाहको गुनासो छ । नेताले बाटोको स्तरोन्नति हुने बाचा गर्दै भोट माग्न गरे पनि पूरा हुन नसकेको उनले बताए ।

त्यस्तै, भेरी नगरपालिका– १३ कुदुका ६९ वर्षीया आइती गिरीले वषौंदेखि भोग्दै आएको खानेपानी समस्याबारे हरेक चुनावमा उम्मेदवारसँग कुरा उठाउँछिन् । नेताले खानेपानी समस्या समाधान गर्ने बाचा गर्दै भोट माग्छन् । तर चुनाव जिति सकेपछि फर्केर हेर्दैनन् । कुदुमा खानेपानीको निकै समस्या छ ।

भेरी नदीबाट एक घण्टा पैदल हिँडेर धमिलो पानी ल्याएर खान बाध्य कुदुबासीको दिर्घकालिन खानेपानी समस्या समाधानका लागि अहिलेसम्म ठोस काम हुन सकेको छैन । यहाँको खानेपानी मुद्दा पञ्चायत कालदेखि नै उठ्दै आएको भएपनि समस्या समाधान हुन नसकेको गिरीले बताइन् ।

जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटका ७३ वर्षीय अनु शाही भोट माग्न गएका नेतासँग मोटरबाटो, टेलिफोन, विद्युत र सुविधा सम्पन्न अस्पतालको माग गर्ने गरेको बताए । गाउँसम्म पुग्ने गतिलो मोटरबाटो छैन । गाउँमा टेलिफोन र विद्युतको अभाव कायमै छ । बिरामी पर्दा उपचार गर्ने भरपर्दो अस्पताल छैन । त्यही कुरा हरेक चुनावमा उठाउने गरेका छु । नेताले हुन्छ भन्न छोड्दैनन् । तर काम खासै हुँदैन । जितेका नेता फर्कदैनन् । चुनावको बेला मात्र आउने गरेको गुनासो गर्छन् । पहिलेभन्दा बाटाघाटा खुलेका छन् । मोबाइल फोन पुगेको छ तर जति हुनु पथ्र्यो अझै हुन सकेको छैन,’ उनले भने, ‘नेता इमान्दार भए विकास छिटो हुन्छ । त्यही भएर विकासका लागि पनि इमान्दार र पहुँच भएको नेतालाई जिताउनुपर्छ ।’

यी त केही प्रतिनिधि मतदाताका भोगाइ र अनुभूति हुन् । जिल्लाका अधिकांश गाउँका स्थानीयको माग सडक, खानेपानी, सिंचाइ, बिजुली, सञ्चारलगायतका पूर्वाधार विकासका माग गर्ने गरेका छन् भने त्यसका साथै गुणस्तरी शिक्षा र भरपर्दो स्वास्थ्य सेवाको ग्यारेन्टीका साथै रोजजारीको पनि माग गर्ने गरेका छन् ।

वर्षौंदेखि विकास र समृद्धिकै पुरानै माग मतदाताले राख्ने गरेका छन् । मतदाताले सुशासन र जनताप्रति उत्तरदायी जनप्रतिनिधि हुनुपर्ने अपेक्षा समेत गरेका छन् । उम्मेदवारले पनि मतदाताकै माग जस्तै पूर्वाधार विकास र मानवीय विकासका पुरानै नारा र कार्यक्रम हरेक चुनावमा अघि सारेका छन् ।

जाजरकोटमा प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र तोकिएको छ। जसमा ६ जना उम्मेदवार मैदानमा भएपनि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, एमालेका निरज आचार्य र स्वतन्त्र नरबहादुर कार्कीबीच मुख्य प्रतिस्पर्धा छ ।

बस्नेतले यस अघि २०७४ र २०७० मा चुनाव जितेका थिए । आचार्य र कार्की नयाँ अनुहार हुन् । भोट माग्न गएका यी उम्मेदवारलाई मतदाताले वर्षौंदेखि विकासका माग अघि सादै आएका छन् । प्रदेश (क) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वेदराज सिंह र एमालेबाट डम्बरबहादुर सिंहबीच नै मुख्य प्रतिस्पर्धा छ ।

दुवै नयाँ अनुहार हुन् । त्यस्तै प्रदेश ’ख’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका राजीव विक्रम शाह र एमालेका खिमबहादुर शाहीबीच मुख्य प्रतिस्पर्धा छ । शाही नयाँ अनुहार हुन् भने राजीव २०७० सालमा निर्वाचित भएका थिए ।

बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बस्नेतले सडक, विद्युत, संचारलगायतका पूर्वाधार विकासको दृष्टिकोणले जिल्लामा महत्वपूर्ण काम भएको बताए । उने भने, ’ठूला पूर्वाधारका जग बसाल्ने काम गएको छ । अबको पाँच वर्ष जनताले अनुभूति गर्नेगरी सबै पूर्वाधारका काम सम्पन्न गरी आर्थिक समृद्धितर्फ जिल्लालाई अघि बढाउँछौं ।’

एमालेका उम्मेदवार आचार्यले जिल्लाको विकास जति हुनु पथ्र्यो त्यति हुन नसकेको बताउँदै यसको जिम्मा यसअघिका जनप्रतिनिधिले लिनुपर्ने बताए । उनले आफूले जिल्लाको समग्र विकासका लागि काम गर्ने बताए । #अन्नपूर्ण#

तपाईको प्रतिक्रिया