
विश्वभर तापक्रम बढ्दै जाँदा यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन्।
क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्यांक उद्धृत गर्दै गर्मीले स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, बेलायतमा तीन हजार दुई सयभन्दा बढी र जर्मनीमा झन्डै चार हजार पाँच सयजनाको ज्यान गएको बताएका हुन्।
युरोपका धेरै देशमा प्रचण्ड गर्मीका कारण अत्यधिक मृत्युका विवरण आएकाले ज्यान गुमाउनेको संख्या बढ्ने अपेक्षा गरिएको डब्लुएचओ क्षेत्रीय निर्देशकले वक्तव्य निकालेर बताएका छन्। मध्य साउनमा युरोपभर चलेको अतिउष्ण वायुले धेरैजना हताहत भएका फ्रान्सको राष्ट्रिय तथ्यांक तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ ।
विश्व मौसम विज्ञान संगठनले पनि विश्वको तापक्रम चरम रूपमा बढिरहेको तथा मौसम र जलवायुजन्य घटनामा सयौँको ज्यान गएको बताएको छ । बितेका ५० वर्षमा युरोपमा एक लाख ४८ हजार चरम तापका कारण मृत्युवरण गर्न बाध्य भएका संगठनले जनाएको छ। विश्वव्यापी औसत तापक्रममा १.१ डिग्री सेल्सियस वृद्धि भइरहेको छ।
















































। २३ कार्तिक २०७९, बुधबार