
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँड कार्यदलको बैठक अपराह्न ४ बजे बस्ने भएको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलका सदस्यहरूसहितको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज अपराह्न फेरि बैठक बस्ने गरी सकिएको थियो।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाए पनि गठबन्धन बैठकमा कार्यदल सदस्यहरूलाई पनि राखेर छलफल गर्ने तयारी भएको समिति सदस्य हिमलाल पुरीले जानकारी दिए।
पाँचदलीय सत्ता गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि कुन पार्टीले कति सिट लिने भन्नेमा सहमति हुन सकेको छैन। कांग्रेसले १०० सिटमा दाबी गरेको छ भने नेकपा माओवादी केन्द्रले ६० सिट, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।
गत साउन २० गतेदेखि लगातार कार्यदल र शीर्ष नेताहरू छलफलमा बसे पनि सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन। पछिल्ला बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रत्यक्षतर्फ सिट बाँडफाँड समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरिरहेका छन्।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ असोज २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको छ। समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची भने दलहरूले हिजो र अस्ति बुझाइसकेका छन्।
















































। ४ आश्विन २०७९, मंगलवार