कम्युनिष्ट कस्तो हुनुपर्छ ?

प्रेमप्रकाश वली (धमिल)

May be an image of 4 people, people sitting, people standing and outdoors
“कम्युनिष्टको हृदय विशाल हुनुपर्छ , ऊ ईमानदार र सक्रिय हुनुपर्छ, क्रान्तिका हितहरूलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधिनमा राख्नुपर्छ । पार्टीको सामुहिक जीवनलाई मजबुत तुल्याउन, पार्टी र जनताका सम्बन्धहरूलाई अझ बलियो पार्न उसले संधै र जहाँ पनि सही सिद्धान्तमा अडिक रहनुपर्छ । सबै गलत विचार र कामहरूको विरोधमा अथक संघर्ष चलाउनुपर्छ । कुनै व्यक्तिको भन्दा बर्ता उसले पार्टी र जनताको चिन्ता लिनुपर्छ । आफ्नोभन्दा बर्ता अरूको वास्ता गर्नुपर्छ । यसो भए मात्र उसलाई कम्युनिष्ट मान्न सकिन्छ ।”

– ‘माओत्सेतुङ उदारवादको विरोध गर’ (सेप्टेम्वर ७, १९३७)

यस लेखमा कम्युनिस्ट कस्तो हुनुपर्छ ? कस्तो व्यक्तिलाई कम्युनिस्ट भन्ने ? कम्युनिष्ट बन्नलाई उसले के के गर्नुपर्छ ? र के के गर्नुहुँदैन ?

साँच्चिकै कम्युनिष्टका असली विशेषताहरू के के हुन् ? भन्ने विषयमा चर्चा गर्ने प्रयास गरिनेछ । एउटा सच्चा क्रान्तिकारी कम्युनिष्टका बारेमा माथि कमरेड माओले भन्नुभएका कुराहरू साँच्चिकै मननयोग्य छन् । वास्तविक रूपमा कम्युनिष्टको हृदय विशाल र फराकिलो हुनुपर्छ । उ संकुचित र संकिर्ण विचार र व्यवहारबाट मुक्त भएको हुनुपर्छ । संसारलाई हेर्ने, बुझ्ने भएकोले कुनै पनि कुरालई माक्र्सवादी द्वन्द्वादी ढंगले हेर्ने र बुझ्ने गर्नुपर्दछ । उसले धेरै टाढा टाढासम्म हेर्न सक्ने र भविष्यमा भइआउने कुराको बारेमा पहिले आँकलन गर्न सक्ने अर्थात् दूरदर्शी हुनु आवश्यक हुन्छ । कम्युनिस्ट छोटो विचारको, साँगुरो विचार र दृष्टिकोण भएको हुनुहुँदैन ।

एउटा कम्युनिष्ट ईमानदार हुनुपर्छ । ऊ संधै सक्रिय हुनुपर्छ । ऊ जनताप्रति, देशप्रति, क्रान्तिप्रति, पार्टीप्रति संधै ईमानदार हुनुपर्छ । उसले क्रान्तिका हितहरूलाई आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ । उसले आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधिनमा राख्नुपर्छ । कुनै पनि समय र कुनै पनि अवस्थामा कम्युनिष्टले आफ्नो व्यक्तिगत हितलाई पहिलो स्थान दिनुहुँदैन । उसले आफ्ना हितहरूलाई राष्ट्र र जनताका हितहरूको अधिनमा राख्नुपर्दछ ।
एउटा कम्युनिष्टले लेनिनवादी संगठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रीयताको सिद्धान्तलाई कडाइका साथ पालना गर्ने हुनुपर्दछ ।

कम्युनिष्टको कुनै पनि कुरा र काम जाँच्ने सर्वोत्तम कसी उनीहरूसित जनताको अति बहुसंख्याको सबभन्दा बढी हितहरू गाँसिएका छन् छैनन् र समर्थन प्राप्त गर्छन् गर्दैनन् भन्ने हो भन्ने कुरो प्रत्येक कम्युनिष्टहरूले बुझेको हुनुपर्छ । जानेको हुनुपर्छ र उसले व्यवहारमा लागु गरेको हुनुपर्छ, तबमात्र ऊ सच्चा कम्युनिस्ट कहलिन सक्छ ।
स्वार्थीपना, शिथिलता, भ्रष्टाचार, आफू प्रकाशमा आउन खोज्ने जस्ता विषयहरू कम्युनिष्टका निम्ती घृणित विषय हुन् । कम्युनिष्ट यी घृणित विषयहरूबाट मुक्त हुनुपर्छ ।

निस्वार्थता, काममा तत्परता, जनताप्रतिको कर्तव्यपालना, हृदयदेखि नै जनताको सेवा गर्ने र साह्रै कठिन परिश्रम गर्ने भावनाले ओतप्रेत भएको व्यक्तिले मात्र कम्युनिष्टको सम्मान पाउँछ । कम्युनिस्ट सधैँ सत्यको पक्षमा डट्न तयार हुनुपर्छ , किनभने सत्य जनताको हितअनुकूल हुन्छ । असत्य बोल्ने , ढाँट्ने , छलकपट गर्ने , जाली , झेली , सिल्ली र षड्यन्त्रकारी चरित्र र व्यवहार भएको मानिस कम्युनिस्ट हुन लायक हुँदैन ।

कम्युनिस्टहरू संधै आफ्ना गल्तीहरू सच्याउन तयार हुनैपर्छ , किनभने गल्तीहरू जन – हितको विरुद्धमा हुन्छन् । कम्युनिष्टले आफूलाई गल्तीहरूबाट जोगाउनु पर्छ । कदापि गल्ती गर्नु हुँदैन । गल्तीहरूबाट जोगिन र गल्तीहरूलाई सच्याउने एक मात्र माक्र्सवादी पद्धति छ । त्यो हो आत्मालोचना – स्वआलोचना गर्न सक्ने र आफूले गरेका गल्तीहरूलाई आफै चिन्ने र ती गल्तीहरूलाई सच्याउन तयार हुने व्यक्ति मात्र कम्युनिस्ट हुनसक्छ ।

विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले भन्नुभएको छ, ‘गल्ती नगर्ने मानिस नै हुँदैन र गल्ती नसच्याउने पनि मानिस हुँदैन । महान् लेनिनको यो भनाई ज्यादै मननयोग्य छ । कम्युनिस्ट पहिलो कुरा गल्ती गर्नभएन , यद्यपि गल्ती नै भइहाल्यो भने समयमै सच्याउन जो तयार हुन्छ ऊ मात्रै कम्युनिस्ट हुनसक्छ ।’

कुनै पनि काम गर्दाखेरी कम्युनिस्टले पहिले नै विचार पुर्याउनु पर्दछ । कम्युनिस्टहरूले संधै कुनै कुरामा पनि किन, केको निम्ति भनी खोतल्नु पर्छ , आफ्नो बुद्धि खियाउनुपर्छ र त्यो कुरा वास्तविकतासित मेल खान्छ खाँदैन साँच्चि नै तर्कयुक्त हो होइन भनी होसियारपूर्वक विचार गर्नुपर्छ । कुनै पनि किसिमबाट कम्युनिस्टहरूले आँखा चिम्लेर पछि लाग्नु हुँदैन र कुनै पनि प्रकारको दास्वत्वलाई हौसला दिनुहुँदैन । किनभने यी विषयहरू जनहितका विरुद्ध , देशहितका विरुद्ध रहेका हुन्छन् ।

कम्युनिस्ट अब्बल दर्जाको सचेत प्राणी हो । कम्युनिस्टहरूले व्यवहारिक तथा दूरदर्शी हुनुमा दृष्टान्त प्रस्तुत गर्नैपर्छ । किनभने व्यवहारिक भए मात्र उनीहरू दिइएको कामलाई पुरा गर्न सक्छन् र दूरदर्शिताले मात्र अघि लम्कने दिशाभुल्नुबाट आफूलाई जोगाउन सक्छन् । कम्युनिस्टहरू संधै सचेत अवस्थामा उसले जनदिशालाई प्रमुख काम बनाउनुपर्छ ।

कम्युनिस्टहरूले अध्ययनमा दृष्टान्त प्रस्तुत गर्नैपर्छ । उसले मालेमावादका आधारभूत सिध्दान्तकाबारेमा ज्ञान हासिल गरेकै हुनुपर्छ । उस आफूलाई विश्व दृष्टिकोणबाट रूपान्तरण गराउन संधै तल्लीन हुनुपर्छ ।
संधैभरि कम्युनिस्टहरूले जनताका शिष्य तथा शिक्षक बन्न सक्नुपर्छ । ऊ किताबी अध्ययन मात्र व्यवहारिक अध्ययनमा पनि निपुण हुनुपर्छ । जनताका सुखदुःखलाई पहिल्याउन र खुट्याउन चनाखो बन्ने र अग्रपंक्तिमा उभिएर जनताका ती समस्याहरू समाधान गर्न दृढ हुनुपर्छ । वैज्ञानिक अध्ययनविना , मालेमावादको व्यवहारिक अध्ययनविना न संसारलाई चिन्न सकिन्छ न त संसारलाई बदल्न नै सकिन्छ ।

जनआन्दोलन , जनसंघर्षमा सरिक भएको बेला होस् वा भीषण वर्गसंघर्षमा होमिएको बेला होस प्रत्येक कम्युनिस्ट जनताको साथी बनेको हुनुपर्छ , जनताको मालिक बन्ने होइन् ।

लेखक वली नेकपा बहुमत जाजरकोट र डोल्पाका ईन्चार्ज हुन् ।

तपाईको प्रतिक्रिया