सडकमा जथाभावी सवारी पार्किङ्ग,सरोकारवाला निकाय मौन

भुपेन्द्र नेपाली
जाजरकोट । सदमुकाम खलंगा एवं भेरी नगरपालिकाको प्रशासनिक केन्द्र समेत रहेको खलंगाका मुल सडकहरुमा जथाभावी सवारी पार्किङ्ग गर्ने क्रम बढेको छ । सदरमुकाम भित्र व्यवस्थित पार्किङ्ग क्षेत्र नहुँदा र सरोकारवाला निकायको लाप्रवाहीका कारण मुल सडकहरुमा जथाभावी सवारी पार्किङ्ग गर्ने क्रम बढेको हो । सडकहरूमा जथाभावी पार्किङ्ग गर्दा पैदल यात्रुहरुलाई आवत—जावत गर्न गर्न असहज भएको छ ।

यही कारण अन्य सवारी साधनलाई सहज आवतजावतमा प्रभावित पर्नुका साथै दुर्घटनाको पनि जोखिम बढेका छ । सदरमुकाम भित्रका तल्लो थाप्ले, सिटिजन, ठाँटी बजार,शान्ति चौतारा, गैरिखाली लगायतका क्षेत्रका मुल सडकहरुमा जथाभावी पार्किङ्ग भईरहेको छ ।
सडकहरुमा जथाभावी पार्किङ्ग भएका सवारी साधनका कारण कतिपय ठाउँमा बालवालिकाहरु रोड क्रस गर्न समेत कठिन हुने गरेको छ । यस विषयलाई सरोकारवाला निकायले गम्भीर विषयका रुपमा लिनुपर्ने स्थानीय सुनिता विकले बताईन् । उनले भनिन्, ‘यसको नियन्त्रण गर्नका लागि सरोकारवाला निकायको ध्यान जाओस् ।’

यस विषयमा नगरपालिकाले ठोस कदम उठाउन सकेको छैन् । जथाभावी पार्किङ्ग नियन्त्रण गर्नका लागि आवश्यक पहल गर्नुपर्ने नगरपालिकाले अहिलेसम्म बसपार्क कुन ठाउँमा बनाउने भन्ने विषयमा समेत टुङ्गगो लगाउन सकेको छैन् । पार्किङ्ग क्षेत्र उल्लेख नभएको ठाउँमा पार्किङ्ग गरेको पाइएमा उक्त सवारी साधनलाई तत्काल कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई छ । अव्यवस्थित रुपमा हुँदै आएको सवारी पार्किङ्गले सडक अस्तव्यस्त हुँदा पनि नगरपालिका र ट्राफिक कार्यालयले ठोस कदम चालेको छैन् । वर्तमान अवस्थालाई हेर्ने हो भने जथाभावी पार्किङ्ग नियन्त्रण गर्नुपर्नेमा सरोकारवाला निकायहरु मौन बसेका छन् ।

सदरमुकाम भित्रै बस पार्कको टुङ्गगो नलाग्दा सवारी पार्किङ्ग समस्या भएको हो । यसको सधानका लागि हामीले गाडी ईन्ट्री गरि पार्किङ्ग गर्नका लागि खुल्ला ठाउँमा पठाउने गरेको जिल्ला ट्राफिक कार्यालय जाजरकोटका प्रमुख भरत बहादुर शाहीले बताए ।

उनले भने ‘जथाभावी पार्किङ्ग नियन्त्रण गर्न होडिङ्ग बोर्डहरु राख्नका लागि पहल भईरहेको छ, स्थानीय तहसंग पनि सहकार्य गरिरहेका छौं, अब केही समय भित्रै हामी यसको नियन्त्रण गछौं ।’

तपाईको प्रतिक्रिया