नलगाडको पिपलचौर बस्ती पहिरोको उच्च जोखिममा


जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–४, को पिपलचौर बस्ती पहिरोको उच्च जोखिममा परेको छ । बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षेती गर्न थालेपछि पिपलचौर बस्ती उच्च जोखिममा परेको हो ।

पहिरो तथा खहरे खोलाको कटानले गर्दा बस्ती पिपलचौर बस्ती जोखिममा परेको स्थानीय रविन्द्र गौतमले बताए । उनले भने, ‘कालिमाटी सिर्के सडक निर्माण गर्दा यसको असर परेको छ, सडक निर्माणको समयमा थुपारेको माटो पानीले बगायो, खोलो बन्यो र कटान थाल्यो, त्यसले गर्दा अहिले आएर बस्ती नै धराममा पर्न थाल्यो ।’

पहिरो रोकथाम तथा नियन्त्रण समयमै गरिएन भने यसबाट ठुलो क्षेती पुग्ने छ, गौतमले उल्लेख गरे । सानो पानी पर्दा पहिरो जाने गरेकोले मकबहादुर सिंह, सन्देश रावल, प्रेमबहादुर रावल, कलम रावल, सत्यलाल गौतम, कल्पना पन्त, मनबहादुर खत्री लगाएतका घर जनकल्यान आधारभुत विद्यालय जोखिममा रहेका छन् ।

पहिरो रोकथाम तथा नियन्त्रण तर्फ कतैबाट पनि पहल हुन सकेको छैन पिपलचौरका राजेन्द्र रावलले भने, ‘यो पहिरो रोकथाम गरिएन भने यसबाट यहाँको उब्जाउ जमिन बगेर जाने खतरा छ ।’

पहिरोले गर्दा यहाँका मान्छेहरु त्रासमा रहेको स्थानीय सत्यलाल गौतमले बताए । उनी भन्छन, ‘पहिरोले मेरो आधा जग्गा नै गइ सकेको छ । यो सबै रोडको कारण भएको हो ।’

पहिरो रोकथाम र नियन्त्रण नगरिए बस्ती नै जोखिममा पर्न सक्ने वडा अध्यक्ष बद्री पन्तले बताए । उनले भने, सबैले एक पटक सोचौं । जालीको व्यवस्थापन गर्न सकेमा बस्ती जोगाउन सकिन्छ । नत्र भने गाह्रो छ । वडा तथा नगर सरकारले पिपलचौर पहिरोको विषयमा आवश्यक पहल गर्नु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया