गतिहीन भयो विद्यार्थी आन्दोलनः ‘संसदवादी विद्यार्थी नेताहरु चाकडी र ठेक्कापट्टामा व्यस्त भए’


विद्यार्थी समाज रुपान्तरणको प्रमुख शक्ति हो । नेपाली राजनीतिलाई वर्तमान अवस्थासम्म ल्याउनमा विद्यार्थी राजनीतिको महत्वपूर्ण भुमिका रहेको छ । हिजोको इतिहासलाई फर्केर हेर्दा विद्यार्थी विना कुनै पनि राजनीतिक परिवर्तन भएका छैन । नेपालमा वि.स. २००४ सालमा जयन्तु सस्कृतम आन्दोलनबाट विद्यार्थी आन्दोलनको सुरुवात भएको भयो ।

वि.स. २००६ सालमा नेकपाको स्थापना भए लगत्तै नेकपाको बिचार सिद्धान्तलाई आत्मसात गरि संगठित रुपमा पहिलो विद्यार्थी संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन (ने.रा.बि.फे) को स्थापना भयो । वि.स. २०१७ सालमा राजाले राजनीतिक दलहरुमाथि प्रतिवन्ध गरेपछि दलहरु खुलेर राजनीति गर्न नपाउने अवस्था आयो । उक्त समयमा जनतामा राजनीतिक चेतना बढाई नेपाली जनताको मुक्तिको निम्ति संगठित रुपमा सघर्ष गर्नुपर्ने जिम्मेवारी पनि विद्यार्थी संगठनको काँधमा आयो । विद्यार्थी आन्दोलन कै भरमा पञ्चायत विरुद्ध जनता सचेत भए ।

वि.स. २०२१ सालमा सुजन खरेलको नेतृत्वमा बिष्णुमती नदीको किनारमा पुष्पलालले नेतृत्व गरेको नेकपा निकट अनेरास्ववियुको स्थापना भयो । अनेरास्ववियुकै नेतृत्वमा भएको आन्दोलनको कारण नेपाली विद्यार्थीहरुको साझा संस्था स्ववियुको स्थापना वि.स.२०२२ सालमा भएको थियो । त्यसपछि सामाजिक परिवर्तन तथा जनताको सोचमा आमूल परिवर्तन ल्याउनमा विद्यार्थी सङ्गठनको विशेष भुमिका रहयो ।

वि.स. २०२७ सालमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन शेर बहादुर देउवाको नेतृत्वमा स्थापना भयो । त्यसपछी नेकपा माओवादीले शुरु गरेको तत्कालिन जनयुद्धमा नेपाली विद्यार्थी आन्दोलन अझ शसक्त र क्रान्तिकारी भएर अगाडि बढ्यो । जनयुद्धलाई चरम उत्कर्षमा पुर्याउन विद्यार्थीहरुको भुमिका महत्वपुर्ण छ ।

सोही समयमा ११ बर्षिय बालक दिल बहादुर रम्तेललाई स्कुल पढिराखेको अवस्थामा तत्कालिन सामन्ती राजतन्त्रको बिरोध गरेको निहुँमा हत्या गरियो त्यसपछी जनयुद्दले गति लिएसङ्गै जनवादी शिक्षाबारे गाउँगाउँमा तिव्र प्रचार गरियो ।
विद्यार्थी वर्गमा पनि आक्रोश र बदलाभाव पैदा भयो । फलस्वरूप कलम छोडेर बन्दुक समाते, किताव बोक्ने झोलामा बम बारुद बोक्न थाले , स्कुल छोडेर सैन्य तालिममा भर्ना भए ।

कसैले हात गुमाए कसैले खुट्टा गुमाए कसैले ज्यानको बलि चढाए त कोहि अझै बेपत्ता छन् । त्यो यौटा विद्यार्थी आन्दोलनको गर्विलो र बलिदानको ईतिहास थियो । मैले यसो भनिरहदा म आज बिध्यार्थी आन्दोलनको इतिहासलाइ मात्रै सम्झिन खोजेको हैन । बरु वर्तमान समयमा नेपाली भुमिमा देखापरेको विद्यार्थी आन्दोलनको चरम खडेरिको बारेमा सबै विद्यार्थी सङ्गठनहरुले सोच्न जरुरी छ । च्याउ उम्रेसरी खोलिएका पार्टी र तिनै पार्टिहरुका विद्यार्थी सङ्गठन गनि नसक्नु छन् र सबै सङ्गठनले आफुलाई अब्बल र विद्यार्थी प्रिय् दाबी गरिरहन्छन् ।

हिजोको विद्यार्थी राजनीतिको उपलव्धिलाई बेचेर आज विद्यार्थी राजनीति टिक्दैन । हिजो राजनीतिक व्यवस्था परिवर्तन गर्न, असमान सन्धी सम्झैताको विरुद्ध, देशको सिमाना रक्षा गर्न, सवै नेपालीका छोरा छोरीलाई शिक्षाको पहुँचमा पुर्याउन विद्यार्थी आन्दोलनले महत्वपुर्ण भुमिका खेलेको थियो । आजपनि विद्यार्थीहरु सचेत वर्ग भएकोले चाहेर वा नचाहेर राजनीति भन्दा टाढा रहन सक्दैन । कुनै पनि देशको विकासमा त्यस देशको शिक्षाले महत्वपुर्ण भुमिका खेलेको हन्छ । विद्यार्थीको समस्या विद्यार्थीले मात्र बुझन सक्छ । त्यसैले शिक्षामा हुने विकृतिको अन्त्यको लागि खवरदारी गर्न पनि विद्यार्थी संगठन आवश्यक छ ।

तर, आज विद्यार्थी राजनीति क्याम्पस र नियमित विद्यार्थीको पहुँच भन्दा टाढाका कथित विद्यार्थीहरु नेताहरुको हातमा रहेको छ । विद्यार्थीको अधिकारको निम्ती भन्दा नि आफ्नो राजनीतिक भविष्यका निम्ती विद्यार्थी राजनीति गर्ने परिपाटी देखिन्छ । शिक्षा क्षेत्रमा चरम लुटतन्त्र छ , विद्यार्थीको भविष्य ओझेलमा छ ।

प्राय शैक्षिक संस्थाहरु राजनीतिको थलो बनेका छन् यी सबै समस्याको केही हद कारण भनेको तत्कालिन समयमा गतिहीन बनेको बिध्यार्थी आन्दोलन र राजनीतिक स्वार्थमा लिप्त बनेका विद्यार्थी सङ्गठनहरु पनि हुन् । वर्तमान परिवेशमा बिध्यार्थी सङ्गठन मुलतः २ भागमा बिभाजित छन् । एउटा समूह छ जो प्रजातन्त्रिक पक्षधरहरु जस्तैः नेवि संघ, प्रजातान्त्रिक विद्यार्थी संघ ,जस्ता सङ्गठनहरु जस्ले गणतन्त्रको स्थापना पछि विद्यार्थी आन्दोलन नै छोडिसकेको जस्तो देखिन्छ बरु नितान्त आन्तरिक विवाद राजनीतिक स्वार्थ ,पार्टीको चाकडिपनमा मात्र सीमित छन् ।

यी सङ्गठनहरुको अहिले नाम समेत सुनिदैन । अर्को समूह छ वामपन्थी अर्थात कम्युनिस्ट निकट सङ्गठनहरु जस्तै अनेरास्ववियु ,अनेरास्ववियु (क्रान्तिकारी ) अखिल क्रान्तिकारी,अखिल छैठौ लगायत अन्य थुप्रै छन् । जो कम्युनिस्ट पार्टीहरु विभाजन भएजस्तै दश टुक्रामा विभाजित छ्न् । नेकपा एमाले निकट अनेरास्ववियु छ जो पार्टी सत्तामा भएको बेला चुइक्क बोलेको सुनिदैन जब प्रतिपक्ष बन्छ अनि विरोधको नाटक सुरुवात गर्छ यो परिपाटी अहिले अनेरास्ववियुमा रोग नै बसिसकेको छ भने अन्यमा पनि सर्दै छ ।

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) अरुभन्दा अलि प्रगतिशील र क्रान्तिकारी हो तर पार्टीको आदेश बिना हलचल गर्दैन् । एउटा भर्खरैको उदाहरण दिऔं एमसिसी परियोजना नेपालमा लागू हुँदै गर्दा अनेरास्ववियु क्रान्तिकारी सडकमा केही दिन जोड्तोडको साथ आन्दोलित बन्यो ,टायर बाले, झडप भयो लाठिहरु बर्सिए । अनि जब पार्टीको शिर्ष नेताबिच सहमती भयो त्यसपछी केही दिन अघि सम्म राष्ट्रघाती बनेको एमसिसी केही दिनमै अनेरास्ववियु क्रान्तिकारीको लागि राष्ट्रको हितमा भयो ।

बरु हामी संसदीय व्यवस्था भन्दा बाहिरका विद्यार्थी सङ्गठनहरु निरन्तर विद्यार्थीको वीचमा छौं । राष्ट्रिय स्वाधीनताको सवालमा लगातार बोलिरहेका छौ । म दावाका साथ भन्छु हिजो एमसिसी लागू हुँदै गर्दा सडकमा सबैभन्दा बढी रगत पसिना बगाउने कुनै सङ्गठन थियो भने त्यो हामी र हाम्रो सङ्गठन थियो चाहे हिजो निर्मला पन्तको विभत्स हत्याको बिरोध गर्दा होस या कालापानी बेचिन लाग्दा , सिमानामा काडेतार लगाउदा होस या शैक्षिक माफियाहरुलाइ कालोमोसो र जुत्ताको माला लगाउदा राष्ट्रियता र जनजीविकाको सवालमा संसद बाहिरका विद्यार्थी सङ्गठनहरु अग्र भागमा लड्यौ । बरु संसदवादीका विद्यार्थी सङ्गठनका नेताहरु आफ्नो आन्दोलनको एजेन्डा छोडेर ठेक्कापट्टा र व्यक्तिगत स्वार्थमा लिप्त हुँदै सिहदरबारको वरिपरि स्याल झै र्याल कारेर डुलिरहेको सत्य हो यो कुनै आरोप प्रत्यारोपको बिषय होइन् । सत्यता स्वीकार्नु पर्छ । हामी संख्यामा कम हौला तर आम विद्यार्थीको सबभन्दा बढी आशा पनि हामी नै हौ । यो कुनै दम्भको बिषय होइन् ।

आज संसदीय विद्यार्थी सङ्गठनका नेताहरु
क्याम्पस देखेका हुदैनन् टेक्ने त परको कुरा हो तर विद्यार्थीका समस्याहरु भन्दा पनि आफु आवद्ध दलको पक्ष पोषणमा बढी देखिन्छन् । विद्यार्थी राजनीति आज शैक्षिक मुद्धा भन्दा पार्टीको नेतासँग सम्पर्क बढाउने र पार्टी राजनीतिमा स्थापित हुने खुड्किलो बनेको छ । पार्टीको नेतालाई पनि आफुले भनेको मान्ने कार्यकर्ता उत्पादन गर्न विद्यार्थी राजनीतिको प्रयोग गरिदै छ ।

पार्टीभित्रको गुटवन्दीको अभ्यास गर्ने थलोको रुपमा विद्यार्थी राजनीतिको प्रयोग बढ्दो छ । त्यसैले नियमित वास्तविक विद्यार्थी भन्दा नेताले विश्वास गरेको उमेर काटेका बुढा व्यक्तिहरुलाई नै विद्यार्थी नेता बनाई रहेको छन् । केही विद्यार्थी नेताहरु आफ्नो छोरा छोरीलाई निजी विद्यालयमा निशुल्क पढाएर निजी विधालय बन्द गराउछु भन्दै क्रान्तिकारी बनेको देख्दा उनिहरु सिद्धान्त र व्यवहारमा कत्ति फरक छन भन्ने बुझ्न सकिन्छ ।

आजका संसदवादी विद्यार्थी नेताहरु क्याम्पसमा भन्दा नि राजनीतिक नियुक्ती लिने नेता मन्त्री तथा सांसदहरुको पिए बनी सिंहदरवार तिर केन्द्रित छन् । चुनाव आउदा नेताको पछि पछि हिड्नमै व्यस्त हुन्छन ।

अबको विकल्प
अबको विकल्प संसदीय व्यवस्था भित्रका विद्यार्थी सङ्गठनले विद्यार्थी आन्दोलनबारे गम्भीर भएर समिक्षा गर्न जरुरी छ ।
यो कुरा बुझ्न जरुरी छ कि “विद्यार्थी आन्दोलनको स्वभाव नै प्रतिपक्ष चरीत्रको हुन्छ र हुनुपर्छ । नाममा फरक भएपनी सबै विद्यार्थी सङ्गठनका मुख्य मुद्दाहरु भनेको निशुल्क , सर्वसुलभ व्यवहारिक शिक्षा , असमान शिक्षाको खारेजी , बैज्ञानिक तथा प्रविधिमुलक शिक्षा प्रणालिको विकास नै हुन ।

यी सबै उपलब्धि हासिल गर्न विद्यार्थी सङ्गठन बिच कार्यगत एकताको खाचो अनिवार्य छ । एकपटक फेरि विद्यार्थी आन्दोलनलाई अर्को उचाइमा पुर्याउन सकिन्छ जस्को लागी संसदीय व्यवस्था भित्रका पार्टी निकट सङ्गठनहरु आफ्नो स्वार्थ त्यागेर नितान्त विद्यार्थी हकहितको लागि निस्कन तयार हुनुपर्छ । यो अबस्थामा नेपाली विद्यार्थी आन्दोलनलाई निश्चित दिशामा डोहो¥याउन विद्यार्थीहरुले विशेष भूमिका खेल्नु आवश्यक छ । नेपाली विद्यार्थी आन्दोलनलाई सहि दिशामा ल्याएर शैक्षिक आन्दोलनलाई उत्कर्षमा पु¥याउनु अति आवश्यक छ ।

समाज र शैक्षिक गतिविधीको विकृतीको अन्त्य गर्छु भन्ने विद्यार्थी नेताहरुले सर्वप्रथम आफ्नो आचरण सुधार्न जरुरी छ । विद्यार्थीहरुलाई रचनात्मक क्रियाकलापमा लाग्न प्रोत्साहन गर्नुपर्छ । शिक्षालाई श्रमसँग र श्रमलाई उत्पादनमा जोड्ने शिक्षाको निम्ती शैक्षिक आन्दोलनको जोड हुनुपर्छ । नेतृत्वमा नियमित अध्ययनरत विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित गरि विद्यार्थी राजनीति विद्यार्थीको हातमा जिम्मा लगाउनु अब को अर्को आवश्यकता हो ।

लेखक विष्ट नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया