समिक्षा : महेन्द्र शाहका पाँच बर्ष, के पायो बारेकोटले ?


भुपेन्द्र नेपाली
जाजरकोट । बारेकोट गाउँपालिका प्राकृतिक रुपमा निकै सुन्दर गाउँपालिका हो । साविकका रोकायगाउँ,नायकवाडा,सक्ला,रामिडाँडा गाविस मिलेर बनेको यस गाउँपालिकाको नामाकरण यहाँका केही महत्वपूर्ण पर्यटकीय सम्भावना बोकेका ऐतिहाँसिक बाह्र कोटहरुको संयोजन बाट गरिएको हो ।

कुनै समय बारेकोट भन्न साथ रोग, भोग र गरिवी बाट गुज्रिरहेको जिल्लाको दुर्गम, पिछडिएको ठाउँ भनेर धेरैको मानसिकतामा रहेको थियो । हिमाली जिल्लाका अग्ला पाटन र हिमालसंग भौगोलिक सामिप्यता रहेका कारण बारेकोटको सौन्दर्य वर्णन गर्न नसकिए जस्तै यहाँका जनताले विगतमा भोगेका दुःख पीडाहरुलाई पनि वर्णन गर्न सकिदैन् ।

प्राकृतिक रुपमा निकै सौन्दर्य बोकेको यस गाउँपालिकालाई नौं वटा वडामा विभाजन गरिएको छ । यहाँका स्थानीयहरुको आर्थिक उपजको प्रमुख माध्यम भनेकै परम्परागत पशुपालन र कृषि पेशा वाहेक अरु केही थिएन । आर्थिक,सामाजिक,चतेनाको कमी, अशिक्षा र वेरोजगारी लगायतका कारण यहाँका जनताको जीवनस्तर कमजोर रहेको छ ।

सुशासन, भौतिक पूर्वाधार, सामाजिक विकास र समृद्धिले यहाँका जनतालाई सपनाहरु मात्रै देखाई रह्यो । देशमा व्यवस्था परिवर्तण भयो, नयाँ व्यवस्थासंगै देशको राज्य संरचना समेत परिवर्तन भयो । संघीयता संगै विभिन्न तहका सरकारको संरचना बने । २०७३ साल फाल्गुण २९ गठित भएको यस गाउँपालिकाले २०७४ बैशाखमा भएको स्थानीय तहको पहिलो निर्वाचित जनप्रतिनिधिहरु पायो । विभिन्न राजनीतिक दलहरुको प्रतिस्पर्धाको विचमा पहिलो जनप्रतिनिधीका रुपमा यस गाउँपालिकाको नेतृत्व गर्ने अवसर महेन्द्रबहादुर शाहले पाए ।

बारेकोटलाई के दिए शाहले ?

२०७४ साल बैशाख ३१ गते सम्पन्न भएको निर्वाचनबाट बारेकोट गाउँपालिकाको नेतृत्व पाएका महेन्द्रबहादुर शाहले पाँच बर्षसम्म नियमित जनताको हक हितका लागि काम गर्दै आए ।

तत्कालिन समयमा सदरमुकाम खलंगाबाट घोडा, खच्चडमा कागज पत्र बोकाई भाडाको घरमा कार्यालय स्थापना गरी सेवा प्रवाह गर्न सुरु गरेको यस गाँपालिकाले डेढ बर्ष भित्रै सुविधा सम्पन्न आफ्नै पक्की भवन पायो । हाल सोही भवनबाट गाउँपालिकाको प्रशासनिक सेवा प्रवाह भईरहेको छ । नौं वटा वडा रहेको यस गाउँपालिकाले आठ वटा वडा कार्यालका पक्की भवन निर्माण गरी सेवा प्रवाह थालेका छन् भने एउटा वडा कार्यालयको भवन निर्माणाधिन अवस्थामा रहेको छ ।

कुनै पनि कार्यालयले सेवा प्रवाह गर्नका लागि कार्यालय भवन अनिवार्य रहन्छ । गाउँपालिकाले यही कुरालाई आधार बनाई पालिका भित्रका स्थास्थ्य संस्था, शैक्षिक संस्था तथा सरकारी संस्थाका भवन निर्माण गरेको छ । केही निर्माण प्रक्रियामा छन् ।

भौतिक, आर्थिक, सामाजिक कुनै पनि विकासको मेरुदण्ड भनेकै सडक संजाल हो । सडकले नै विकासका पूर्वाधारहरु बोकेर आउँछ । कुनै समय सदरमुकाम खलंगा सम्म पुग्नका लागि दुई दिन सम्म पैदल यात्रा गर्नुपर्ने वाध्यता लगायतका समस्याहरुबाट बारेकोटवासीलाई मुक्त गराउन आफ्नो पाँच बर्षिय कार्यकालमा सडकलाई पहिलो प्राथामिकता लिएका शाहले अनन्त बारेकोटका सबै वडाहरुमा सडक सञ्जाल जोडे ।

आपत्कालिन बिरामी हुँदा ढोकोमा बोकेर खलंगा दौड्नु पर्ने समस्याको समाधान गर्नका लागि प्रत्येक वडामा सामुदायिक स्वास्थ्य चौकीको स्थापना भयो । प्रत्येक स्वास्थ्य चौकीमा भवन तथा आवश्यक कर्मचारी, आपत्कालिन विरामीहरुलाई स्वास्थ्य संस्थाहरुमा पुर्याउन सहजका लागि प्रत्येक टोलमा स्टेचर, औषधी अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यका साथ ६० बर्ष देखि ७० बर्षका वृद्धावृद्ध तथा दिर्घ रोगीहरुलाई उपचार खर्च, सुत्केरी महिलालाई प्रोत्साहन भत्ता लगायतका व्यवस्था गरियो ।

सुत्केरी हुन नसकेर मृत्यु हुनेको संख्या न्यूनिकरण भयो सुरक्षित सुत्केरी हुनेको संख्या बृद्धि भयो बारेकोटले पहिलो पटक स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट हुने अवसर समेत पायो । चार वटा स्वास्थ्य संस्था रहेको यस गाउँपालिले थप पाँच वटा स्वास्थ्य संस्थाहरु पायो । शाहकै कार्यकालमा प्रथामिक स्वास्थ्य केन्द्र लिम्सामा पन्ध्र सैया भवनको निर्माण थलनी भयो । पटक—पटक महामारीसंग लडिरहेका बारेकोट सावीहरुलाई हौसला मिलेको छ ।

विद्यालयका भवन मर्मत तथा आवश्यकता अनुसारको भवनको अभाव खेपिरहेकोे बारेकोटले पुराना भवनहरु मर्मत तथा नयाँ भवनहरु पायो । विद्यार्थीको आवश्यकता अनुसारको विद्यालय र शिक्षकको अभाव खेपेको बारेकोटले १० (माद्यामिक विद्यालय ४ वटा, आधारभुत विद्यालय ६ वटा) विद्यालय, ८ वटा वाल विकास केन्द्र र दरवन्दी नभएको ठाउँहरु अनुदानन मार्फत ९६ जना शिक्षक पायो । विद्यालयले सुशासनको बाटो पाए ।

जनताका आधारभुत आवश्यकता पूर्ण रुपमा पुरा हुन नसके पनि केही मात्रा पुरा भए । थोरै मात्रामा भएपनि स्थानीयले खानेपानीका धारा, खेतमा सिचाई समेत पाए । समान्य सुचना आदान प्रदान गर्न फोन सम्पर्क गर्नका लागि डाँडाकाँडा धाउनुपर्ने बाध्यतबाट बारेकोटी जनतालाई मुक्त पार्ने उदेश्यका साथ नेपाल टेलिकमको फोरजी सेवा सुचारु भएको छ । काँही कतै काम नगरेपनि अधिकांश ठाउँहरुमा फोन सेवाले नियमित काम गरिरहेको छ । स्थानीयलाई सुचना आदान प्रदान गर्न निकै सहज भएको छ ।

जिल्लाका सात वटै स्थानीय तह मध्ये बारेकोटलाई पहिलो बनाए । दुर्गम बारेकोटलाई सुगम बनाउन महेन्द्रको ठूलो हात छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोगले गरेको सर्वेक्षण अनुसार बारेकोटले सबै पालिकालाई जित्यो । कतै केन्द्रको टुंगो छैन् कतै भवन अभावले एकीकृत सेवा प्रवाह भई नसकेको अवस्थामा बारेकोट सधैं अघि बढ्यो । महेन्द्रले नयाँ जनप्रतिनिधीहरुलाई भव्यताको स्वागत गर्ने मञ्च बनाईदिए । अव नयाँ जनप्रतिनिधीको पालो, बारेकोट कस्तो बनाउने ?
को हुन त महेन्द्र बहादुर शाह ?

वि.सं. २०४१ सालमा मध्यम वर्गिय परिवारमा हालको बारेकोट गाउँपालिका ५ तोल्खानमा शाहको जन्म भयो । सानै उम्मेर देखि नै संयुक्त परिवारमा हुर्किएका हुन् । श्री वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय लिम्सामा माद्यामिक शिक्षा अध्ययन गरेका शाहले भेरी ज्ञानोदय क्याम्पसबाट उच्च शिक्षा हाँसिल गरेको हुन् ।

२०५८ साल नेपाल विद्यार्थी संघको साधारण सदस्यबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका शाह २०६३ मा नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष, २०६८ सालमा नेपाली काँग्रेसको क्षेत्रीय सचिव, २०७२ सालमा पार्टीको क्षेत्रीय सभापति भए यसै क्रममा २०७२ साल माघ देखि २०७३ बैशाख सम्म जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका अस्पताल व्यवस्थापन समितिको अध्यक्ष, २०७४ देखि २०७८ सम्म बारेकोट गाउँपालिकाको अध्यक्ष समेत भएका शाह हाल नेपाली काँग्रेसको महासमिति सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया