काञ्जिरोवामा आएनन् आरोही

प्रदेश सरकारले आरोहणका लागि २ पटक बोलपत्र आह्वान गरे पनि बजेट कम भएको भन्दै आरोही नआउँदा ६० लाख फिर्ता ।

वीरेन्द्रनगर । बजेट अभाव र अनावश्यक शर्तका कारण कर्णाली प्रदेश सरकारको काञ्जिरोवा हिमाल आरोहण गराउने योजना अलपत्र परेको छ । प्रदेशको पर्यटन मन्त्रालयले प्रदेशकै सबैभन्दा अग्लो काञ्जिरोवा हिमालको प्रचारप्रसार र आधार शिविरसम्म पुग्ने रुटका ग्रामीण बस्तीहरूमा पर्यटन प्रवर्द्धन गराउने उद्देश्यले आरोहणका लागि गत आर्थिक वर्ष ०७८/७९ मा २ पटक सूचना प्रकाशित गरेको थियो ।

पहिलो पटकमा ३० लाख र दोस्रो पटक ६० लाख रुपैयाँ बजेट रहनेगरी बोलपत्र आह्वान गरिए पनि आरोहण गराउन कुनै पनि कम्पनीको आवेदन परेन । प्रदेश सरकारको लगानीमा काञ्जिरोवा हिमाल आरोहण गर्न पर्वतारोही कम्पनी तथा आरोहण दलहरू तयार नहुँदा बजेट फिर्ता भएको हो । अन्तर्राष्ट्रियस्तरसम्म कर्णालीका हिमालको पहिचान गराउने सरकारको योजना पनि असफल भएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष ०७९/०८० मा पनि यो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

मन्त्रालयका सचिव मोहनदेव जोशीले एकातिर सगरमाथालगायतका पूर्वतिरका हिमाल आरोहण गर्ने समय जुध्नु र अर्कातिर हिमाल आरोहणलाई सार्वजनिक खरिद ऐनअनुसार वस्तु या सेवा कुन मान्नेमा परामर्शदाताहरू द्विविधामा परेकाले काञ्जिरोवा हिमाल आरोहण गराउने प्रदेश सरकारको लक्ष्य पूरा हुन नसकेको बताए ।

‘हामीले सार्वजनिक सूचनामा सेवामूलक भनेर उल्लेख गर्‍यौं तर पर्वतारोहणसम्बन्धी कम्पनीहरूले यसलाई वस्तुका रुपमा प्रस्ताव खरिद गर्ने अडान राखे,’ उनले भने, ‘काञ्जिरोवा हिमाल सगरमाथाजस्तो व्यावसायिक आरोहण गर्ने हिमालमा परेन । त्यहाँको जस्तो फोहोर जम्मा पनि हुँदैन । त्यही भएर मन्त्रालयले वस्तु नभई सेवाका रूपमा प्रस्ताव माग्यो । आरोहण कार्यक्रमलाई वस्तु मान्न सकेनौं, जसले गर्दा प्रस्तावकहरू आवेदनमै द्विविधामा पर्नुभयो ।’

मन्त्रालयले बोलपत्रमा नेपालका ८ हजार मिटरभन्दा अग्ला हिमाल चढेको पर्वतारोही हुनुपर्ने, आरोहणको तालिम लिएको हुनुपर्ने, स्वस्थ हुनुपर्नेलगायत सर्त राखेको थियो । त्यस्तै, आरोहण दलले कम्तीमा ८ घण्टाको वृत्तचित्र निर्माण गर्नुपर्ने, १०० वटा फोटो, १० वडा भिडियो ब्लग, २ अन्य ब्लग, एक वर्षसम्म आरोहीले फेसबुक, इन्स्ट्राग्राम पेजमार्फत मन्त्रालयलाई मेन्सन गर्नुपर्ने सर्त राखेको थियो । चालु आर्थिक वर्षमा यो कार्यक्रमलाई सफल बनाएर कर्णाली हिमाल आरोहणका लागि उपयुक्त छ भन्ने सन्देश दिन खोजिएको सचिव जोशीको भनाइ छ । ‘कर्णालीका हिमालहरूको पहिचान हुने, विश्वमा प्रचारप्रसार हुने उद्देश्यका साथ यस वर्ष पनि निरन्तरता दिएका छौं,’ उनले भने, ‘हिमाल आरोहण खुला गर्दा पर्यटक भित्रिनुका साथै आम्दानीको स्रोत पनि बढ्छ ।’

‘मुलुकका ठूला हिमाल आरोहण गर्न महँगो शुल्क लिएर पनि आरोहीहरू फेला पार्न मुस्किल छ,’ नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले भने, ‘यस आधारमा प्रदेशको बजेट साह्रै कम हो । राम्रो आरोहीले ३०–५० लाखसम्म ज्याला नै लिन्छन् । मन्त्रालयको सर्तअनुसार उक्त बजेटले नपुग्ने भएपछि हामी हच्केका हौं ।’

डोल्पाको से–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित छ काञ्जिरोवा हिमाल । यसको उचाइ ६ हजार ८ सय ८३ मिटर छ । काञ्जिरोवा हिमालमा अहिलेसम्म व्यवसायिक आरोहण भएको छैन । ट्रेकिङ र पर्वतारोहणका लागि यो क्षेत्र निकै महत्त्वपूर्ण रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा छ । डोल्पामा समुद्री सतहबाट ५ हजार मिटरभन्दा माथिका क्षेत्रहरू बाह्रै महिना हिउँले ढाकिने गर्छ । यहाँ ६ हजार मिटरभन्दा अग्ला धौलागिरी, चुरेन, पुँठा हिमचुली, माउन्ट पुथा हिमचुली, मुकोट, डाँफे शैल, अरनिको चुलीलगायत हिमाल छन् ।

इकान्तिपुर बाट साभार गरिएकाे

तपाईको प्रतिक्रिया