
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका ७ सुवाकोटका २ सय ५० घरधुरीका परिवारले खानेपानीको अभाव खेपिरहेका छन् । सडक निर्माणको क्रममा पुराना खानेपानीका संरचना भत्किएका र नयाँ निर्माणमा स्थानीय सरकारले चासो नदिदाँ खानेपानीको अभाव खेप्नु परेको हो ।
वडा भित्रका हुम्ल्याल टोल, बागमारे टोल, गोरोल टोल, तरबाग र बलेखाराका स्थानीयले खानेपानीको समस्या खेपिरहेको स्थानीय शान्तबहादुर बस्नेतले जानकारी दिए ।
उनले भने, ‘हामीले खानेपानीको समस्या खेपिरहेका छौं, हिउँदयाममा पानी नपाएर लाईन बस्नुपर्ने अवस्था छ, आजभोली एक गाग्री पानी भर्न आधा घण्टा भन्दा बढी लाग्छ ।’ स्थानीय सरकारले खानेपानीका लागि नहेरेको समेत उनले दुखेसो गरे ।
‘स्थानीय सरकारको पैसा आउँछ तर यहाँ सम्म पुग्न सकेको छैन्, भएका खानेपानीका मुहानहरु सडक निर्माणको क्रममा भत्किएपछि अहिले निकै समस्या भएको छ’ उनले थपे । बर्खाको समयमा खानेपानीका मुहानहरु पहिरोले पुर्ने डर स्थानीयमा छ । यता वडा नं ७ का वडाध्यक्ष विशाल किरण बस्नेतले यहाँको समस्या समाधानका लागि प्रदेश सरकारलाई समेत गुहार गरिएको बताए ।
उनले भने, ‘यहाँको समस्या समाधानका लागि प्रदेश सरकारमा कुरा गरेको छु, सबै वडामा एक घर एक धारा निर्माणमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरेको छु, वडाको योजना तुर्जमा समेत खानेपानीलाई प्राथमिकतामा राख्नेछु ।’
















































। ७ असार २०७९, मंगलवार